Comments Add Comment

मोदीको लुम्बिनी भ्रमण सुरक्षाका कारण रोकिएको होइन : मन्त्री अधिकारी

६ भदौ, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले भारतीय प्रधानमन्त्रीको पोखरा र लुम्बिनी भ्रमण समय अभावका कारण रोकिएको बताएका छन् ।

पोखरामा बुधबार पत्रकारसँग कुरा गर्दै मन्त्री अधिकारीले मोदीको पोखरा र लुम्बिनी भ्रमण सुरक्षाको कारण नभई समय अभावका कारण रोकिएको दावी गरेका हुन् ।

सुरक्षामा कुनै समस्या नरहेको दाबी गर्दै उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षा नपुगेर होइन, समय अभावले हो ।’ यसअघि नेपालस्थित भारतीय दूतावासले भने मोदीको पोखरा र लुम्बिनी भ्रमण सुरक्षाका कारण रोकिएको बताएको थियो ।

नेपालमा भदौ १४ र १५ गते हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका बेला मोदी पोखरा र लुम्बिनी भ्रमणमा जाने चर्चा भए पनि कार्यक्रम तय भएन ।

मन्त्री अधिकारीले बिमस्टेकमा आउने भनिएका कुनै पनि देशका राष्ट्र प्रमुखले पोखरा आउने खबर नगरेकोसमेत दाबी गरे ।

मन्त्री अधिकारीले बिमस्टेकको कुनै एउटा सेसन पोखरामा राख्ने भनिए पनि हाल त्यो सम्भव नभएको बताए । ‘गर्न खोजिएकै हो, तर तयारी नपुग्दा अब सम्भव भएन, पोखरामा हुने भनिएको सेसन पनि अब काठमाडौंमै गर्ने भइयो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment