+
+

एनसेलले ल्यायो सार्वजनिक यातायातको सेवालाई सहज बनाउने एप ‘लेट्जगो’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ७ गते १८:३४

७ भदौ,काठमाडौं । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रुपमा पूर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् ।

एनसेल प्राईभेट लिमिटेडले रामलक्ष्मण ईनोभेसन्स् प्राईभेट लिमिटेडसँग सहकार्य गर्दै ‘लेट्जगो’ नामक सार्वजनिक यातायात सम्बन्धि मोबाइल एप ल्याएको छ, जस मार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरु हाल कहाँ छन् र आफुले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफूलाई पायक पर्ने बिसौनीमा आईपुग्छ भन्ने जानकारी प्राप्त गर्छन् ।

लेट्जगो एप यही शुक्रबारबाट संचालनमा आउँदै छ र एनसेलको सिम प्रयोगकर्ताले शुक्रबारबाटै उक्त एपको सेवा लिँदै बस स्ट्यान्डमा लामो प्रतिक्षा गर्नु पर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

एपले प्रयोगकर्तालाई विद्यमान समयमा संचालनमा रहेका सार्वजनिक बसको बारेमा जानकारी दिन्छ र सोहीअनुसार प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमा गई बस चढ्न सक्छन् ।

लेट्जगो एपप्रयोग गर्नका लागि प्रयोगकर्ताले एनसेलको सिमकार्ड प्रयोग गरी एप सुचारु गर्नु पर्छ । एप सुचारु गरे पश्चातभने कुनै पनि डाटा नेटवर्कमा रही यसको प्रयोग गर्न सकिनेछ । एप गुगल प्ले स्टोरबाट सजिलै डाउनलोड गरी यसको लाभलिन सकिनेछ ।

शुरुवाती चरणमा यो एपले काठमाडौं उपत्यकाको १०८ वटा रुटहरुमा संचालनमा रहेका ६०० भन्दा बढि सार्वजनिक सवारी साधनहरुको बारेमा जानकारी प्रदानगर्नेछ । सवारी साधनको जानकारी सम्बन्धित सवारी साधनमा जडान गरीएको जीपीएस ट्राकिङ् प्रणालीका आधारमा प्राप्त हुन्छन् ।

ग्राहकको सुविधाका लागि र डिजिटल प्रविधिमा आधारित यस नविन सेवालाई प्रवर्धन गर्नका लागि एनसेलले यो एपलाई ‘जिरो रेटेड’ गरेको छ । अर्थात यस एपको प्रयोग गर्दा खपत हुने डाटामा कुनै शुल्क लाग्ने छैन । एप स्टोरबाट एप डाउनलोड गर्दा भने विद्यमान डाटा शुल्क लाग्नेछ ।

रामलक्ष्मण ईनोभेसन्स्सँगको सहकार्यमा आफ्ना ग्राहकका लागि सार्वजनिक यातायात सेवालाई सहज तथा ग्राहक मैत्री बनाउन लेट्जगो एप ल्याउन पाएको कम्पनी निकै हषिर्त भएको एनसेलले जनाएको छ । यस एपले सरकारको डिजिटल नेपालको अवधारणालाई साकार पार्न योगदान पुर्‍याउदै स्मार्ट सिटीको विकासमा मद्दत पुप्याउने विश्वास कम्पनीले लिएको छ ।

एप प्रयोगकर्ताले आफुलाई पायक पर्ने बस बिसौनीमा आफू सवार हुने रुटको बस नजिक आउँदा अलर्ट प्राप्त गर्ने सुविधा पनि आफैं राख्न सक्छन् । यस्तो बेलामा बस र प्रयोगकर्ताको दुरी कति छ र बस भएको स्थानमा पुग्न लाग्ने समय पनिएपले जानकारी दिनेछ, जसले प्रयोगकर्तालाई आफ्नो यात्रा प्लान गर्न सहज बनाउने छ ।

‘सार्वजनिक यातायातलाई यात्रु मैत्रीबनाउने उद्देश्य लिई लेट्जगो एप ल्याउन पाएकोमा हामी गौरवान्वित छौं । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सार्वजनिक सवारी साधनका संचालकहरु, दैनिक रुपमा सवारी प्रयोग गर्ने यात्रु अनि आमनागरिक लगायतका सम्बन्धित सरोकारवालाहरुसँग वृहत छलफल गरेर हामीले यो एपको विकास गरेका हौं । यसले सार्वजनिक यातायात प्रयोगकर्ताको दैनिकी सहज बनाउने विश्वास छ,’ रामलक्ष्मण ईनोभेसन्सको प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले भने । ‘हामीसँग सहकार्य गर्दै एपलाई सार्वजनिक गरेकोमा हामी एनसेल प्रति आभारी छौं । एपलाई अझ उपयोगी बनाई प्रयोगकर्तालाई अझ परिस्कृत अनुभव प्रदान गर्न हामी यसमा अझै धेरै विशेषताहरु थप्दै जाने छौं ।’

लेट्जगो एपमा लोकेसन शेयर, ट्याक्सी बुकिङ् र आन्तरिक उडानका समय तालिका लगायत अन्य विशेषताहरु पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?