Comments Add Comment

कर बृद्धिको निर्णय फिर्ता लिन नौं दलको माग

८ भदौ, बुटवल । कर बृद्धि र सिफारिस दस्तुर शुल्क फिर्ता लिनुपर्ने माग गर्दै बुटवलमा क्रियाशील नौं राजनीतिक दलले बुटवल उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

नौं राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीदाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) नेकपा माले, नेपाल क्रान्तिकारी माओवादी, नयाँ शक्ति नेपाल पार्टीले बुटवल नगर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक बर्षसम्ममा जनतालाई थप सेवा सुबिधा उपलब्ध गराई जनप्रतिनिधिप्रति जनतालाई विश्वास दिलाउनुपर्नेमा बुटवल उपमहानगरपालिकाले जथाभावी कर बृद्धि गर्ने, दर्ता शुल्क र सिफारिस शुल्क बृद्धि गर्दा जनतामा निराशा छाएको भन्दै जथाभावी बृद्धि गरिएको कर तथा शुल्क बद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ ।

बुटवलमा अत्यधिक चर्को रुपमा लिइएको घर बहाल कर, दोहोरो कर, व्यवसायी कर, अटो व्यवसायी कर, कृषि सम्बन्धी कर, हाटबजार व्यवसायी कर, होटल व्यवसाय कर, स्वास्थ्य कर, यातायात व्यवसायी कर लगायतका विभिन्न क्षेत्रमा लगाइएको कर तथा जन्म दर्ता, मृत्यु दर्ता शुल्कका साथै विभिन्न किसिमका सिफारिस दस्तुर शुल्कमा अत्यधिक रुपमा बृद्धि गरिएकोले उक्त निर्णय फिर्ता लिई १० देखि १५ प्रतिशत मात्र बृद्धि गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

सुकुम्बासी तथा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने र उनिहरुलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गर्ने विषय केवल चुनावी नारा मात्र बन्ने गरेको भन्दै ज्ञापन पत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई न्युन शुल्क लिएर जग्गा धनी दर्ता प्रमाण पुर्जा दिनुपर्ने माग पनि अगाडि सारिएको छ ।

ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डेले जनप्रतिनिधिहरुले आफ्नो सेवा सुविधा बढाउने र अत्यधिक मात्रामा कर बढाएर जनतालाई करको मारमा पार्न नहुने बताए ।

जथाभावी रुपमा कर बद्धि गर्दा संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउन सँगै लडेका जनतामा यो व्यवस्थाप्रतिनै वितृष्णा पैदा हुन सक्ने भन्दै सभापति पाण्डेले जुन व्यवस्था अन्तर्गत चुनिएर गएका जनप्रतिनिधिहरुलाई सोही व्यवस्थाको बदनाम गराउने छुट नभएको बताए ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख शिवराज सुवेदीले विगत १५ वर्ष यता नगरपालिकाको कर बृद्धि नभएको अवस्थामा सम्बन्धित व्यवसायीक संघ संस्थाहरुको सहमतिमै कर निर्धारण गरिएको बताउँदै त्यस बिषयमा थप अध्ययन गरेर समायोजन गर्न सकिने अवस्थामा समायोजन गर्ने प्रतिवद्धता जनाए ।

उद्योगी व्यवसायीहरुको पनि ज्ञापन पत्र

बुटवल उद्योग बाणिज्य संघले पनि करको दर समयानुकूल र वैज्ञानिक रुपमा समायोजन गर्न माग गर्दै उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष खिमबहादुर हमालको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले शुक्रबार मध्यान्ह बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा बुटवल उपमहानगरपालिकाले पूर्व तयारी र छलफल बिना करको सर्वमान्य सिद्धान्त बिपरित करको दर रेट कायम गरेको भन्दै कर बृद्धिको निर्णय फिर्ता लिन माग गरिएको छ ।

बुटवल उपमहानगरपालिकाले ६० प्रतिसत देखि चारसय प्रतिशतसम्म कर बृद्धि गरेको भन्दै ज्ञापन पत्रमा कुन व्यवसाय र क्षेत्रमा कति कर बद्धि गरिएको छ भन्ने फेहरिस्त समावेश गरिएको छ ।

सो अवसरमा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठ,संघका निवर्तमान अध्यक्ष महेशमान सिंह लगायतले कर बद्धिले उद्योगि व्यवसायीमा परेको असर बारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment