Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा शक्तिशाली दश महिला इन्जिनियर

भनिन्छ STEM सेक्टरमा महिलाको उपस्थिति कमजोर छ । स्टेम अर्थात् Science, Technology, Engineering र Mathematics ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको क्षेत्रमा महिलाको उपस्थिति कम भएको पक्कै हो । तर यहीँ क्षेत्रमा केही त्यस्ता शक्तिशाली महिलाहरु पनि छन् जो यस समग्र विश्वका लागि रोल मोडल मात्र बनिरहेका छैनन् आज करोडौँ मानिसले दिनहुँ प्रयोग गर्ने प्रविधिको विकास र विस्तार गरिरहेका छन् ।

बिजनेस इनसाइडरले हरेक वर्षझैँ यसपटक पनि सन् २०१८ का विश्वका सबैभन्दा शक्तिशाली ३९ महिला इन्जिनियरको सूचि तयार पारेको छ ।
इन्जिनियरिङ पृष्ठभूमिका यी महिला हस्तीहरुले विश्वका चर्चित कम्पनीहरुमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेतृत्व गरिरहेका छन् । धेरै चर्चित, लोकप्रिय तथा अत्याधुनिक प्रविधिको विकास गर्दै प्रविधि जगतमा नेतृत्वदायी तथा रोल मोडलको भूमिका खेलिरहेका छन् । बिजनेस इनसाइडरको सूचिमा परेका विश्वका सर्वोत्कृष्ट ३९ महिला इन्जिनियर मध्येका टपटेन महिला यी हुन्ः

१. गिनी शटवेल :

स्पेस एक्स कम्पनीकी अध्यक्ष तथा सिओओ रहेकी शटवेलले यो वर्षको सुरुवातमा स्पेस एण्ड स्याटेलाइट हल अफ फेम उपाधि पाएकी थिइन् । सन् २००२ मा स्पेस एक्स कम्पनी स्थापना हुँदादेखि नै उनी उक्त कम्पनीमा छिन् र सन् २००८ देखि अध्यक्ष रहेकी छिन् । सन् २०१२ मा स्पेस एक्स कम्पनीले अन्तरीक्ष केन्द्रमा अन्तरीक्षयान पठाएसँगै उक्त कम्पनी अन्तरीक्षयान प्रक्षेपण गर्ने विश्वको पहिलो निजी कम्पनी बनेको थियो ।

उनकै नेतृत्वमा कम्पनीले जियोस्टेसनरी कक्षमा पनि पहिलोपटक स्याटेलाइट पठाएको थियो । कम्पनीले अन्तरीक्ष विज्ञानको क्षेत्रमा त्यसबाहेक निरन्तर अनेक कार्य गर्दै आएको छ । जसमध्ये अहिले सञ्चालनमा रहेको विश्वकै सबैभन्दा वजनदार फाल्कन हेभी रकेट पनि स्पेस एक्स कम्पनीले नै बनाएको हो ।

२. एलिसा बोलेर डेभिस

उनी जनरल मोटर्स कम्पनीको उपाध्यक्ष हुन् । कम्पनीको ग्लोबल म्यानिुफ्याक्चरिङ अपरेसनका साथै म्यानुफ्याक्चरिङ इन्जिनियरिङ र श्रम सम्बन्ध विभागको नेतृत्व उनले गरिरहेकी छिन् ।

उनी कम्पनीको वरिष्ठ नेतृत्व समूहकी एक सदस्य हुन् र उनले सिधै कम्पनीका सिइओ तथा अध्यक्षलाई रिपोर्टिङ गर्दछिन् । विश्वको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी जनरल मोटर्समा १ लाख ६५ हजार कर्मचारीले काम गर्दछन् । जसका विभिन्न २० देशमा गरी डेढ सय कारखाना रहेका छन् । डेभिसले निर्माण इन्जिनियरको रुपमा सन् १९९४ देखि जनरल मोटर्समा काम सुरु गरेकी थिइन् ।

३. मेलिन्डा गेट्स

विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्सकी पत्नी हुन् उनी । बिल तथा मेलिन्डा गेट्स फाउन्डेसनकी सहअध्यक्ष रहेकी मेलिन्डाको परिचय भने केवल बिल गेट्सकी पत्नी मात्र होइन । यिनी लामो समयदेखि विश्वकी प्रभावशाली महिलाको रुपमा रहँदै आएकी छिन् । यहीँ वर्षदेखि उनले प्रविधि क्षेत्रमा महिलाको उपस्थितिलाई मजबुत बनाउनका लागि फाउन्डेसनको तर्फबाट आर्थिक सहयोग तथा लगानीको कदम अघि बढाएकी छिन् ।

४. प्रिया बालासुब्रमनियम

एप्पल कम्पनी अन्तरर्गत कोर टेक्नोलोजी अपरेसन तथा आइफोन अपरेसन विभागको उपाध्यक्ष हुन् उनी । उनले आइफोनको वृहत उत्पादन प्रणालीको सम्पूर्ण सुपरीवेक्षण गर्दछिन् । साथै आइफोनको गुणस्तर तथा मर्मत इकाइको पनि उनले नेतृत्व गर्दछिन् । सन् २००१ देखि एप्पलमा काम थालेकी पि्रया सन् २०१३ देखि आइफोन विभागको प्रमुख बनेकी हुन् । गतवर्ष उनलाई मिचिगन विश्वविद्यालयले इन्जिनियरिङमा सम्मानार्थ विद्यावारिधी उपाधि प्रदान गरेको थियो ।

५. प्याट्रिसिया गोफोर्थ

बुज एलेन ह्यामिल्टन कम्पनीकी उपाध्यक्ष गोफोर्थले झण्डै ३४ सय जना इन्जिनियर तथा वैज्ञानिकहरुको नेतृत्व गर्दछिन् । यो कम्पनीले विभिन्न प्रविधि परियोजनाहरुको निर्माण गर्ने गर्दछ । यसमा विभिन्न कम्पनीहरुका लागि ह्याकिङ प्रतिरोधी प्रणालीको विकास गर्ने, नयाँ आइटी सिस्टमको डिजाइन गर्ने आदि रहेका छन् ।

६. डायने ब्रेन्ट

उनी गुगल अन्तर्गतको गुगल क्लाउडकी सिओओ हुन् । उनी गत नोभेम्बरमा मात्र गुगल कम्पनीमा प्रवेश गरिन् । त्यसअघि झण्डै ३० वर्ष उनले इन्टेल कम्पनीमा बिताइन् । इन्टेलमा उनी डाटा सेन्टर ग्रुपको प्रमुख थिइन् । निकै महत्वपूर्ण जिम्मेवारीका साथ गुगल प्रवेश गरेकी ब्रेन्टले क्लाउड कम्प्युटिङको क्षेत्रमा गुगललाई अमेजन र माइक्रोसफ्टकै तहमा गुगललाई पूराउने लक्ष्य लिएकी छिन् ।

७. डेनिज डुमास

रेड ह्याट कम्पनी अन्तर्गत अपरेटिङ सिस्टम प्लाटर्फमकी उपाध्यक्ष रहेकी डुमासले कम्पनीको फ्लागसिप प्रडक्टको रुपमा रहेको रेड ह्याट इन्टरप्राइज लिनक्सको विभाग सम्हालेकी छिन् । यो लिनक्सको सबैभन्दा सफल कमर्सियल संस्करण हो । लिनक्स विश्वको लोकप्रिय ओपन सोर्स सफ्टवेयर अपरेटिंंग सिस्टम हो ।

८. अन्जुल भाम्भरी

एडोब कम्पनी अन्तर्गत प्लाटर्फम इन्जिनियरिङकी उपाध्यक्ष रहेकी भाम्भरी विश्वव्यापी रुपमा झण्डै ३ सय इन्जिनियरहरुकेा नेतृत्व गर्दै आएकी छिन् । उनी कम्पनीको क्लाउड प्लाटर्फम सेवाको लागि उत्तरदायी छिन् । साथै उनी नेतृत्वको वैज्ञानिक समूहले आर्टिफिसियल इन्टेलिजेन्स तथा मेसिन लर्निङ जस्ता प्रविधिको विकासमा पनि काम गरिरहेको छ ।

९. पाउला स्मिथ हार्टली

लकहीड मार्टिन कम्पनीकव् महाप्रबन्धक तथा उपाध्यक्ष रहेकी हार्टलीलेे कम्पनी अन्तर्गत रोटरी तथा मिसन सिस्टमका साथै एडभान्स्ड प्रडक्ट सोलुसन्स युनिटको नेतृत्व गर्दछिन् । उनी नेतृत्वको टोलीले सैन्य सञ्चार, सुरक्षा, विमानको ककपिट, निगरानी तथा हतियार आदिको क्षेत्रका प्रविधिको निर्माण गर्ने गर्दछ । गत वर्ष उनको नेतृत्वमा विश्वकै सबैभन्दा शक्तिशाली लेजर उपकरणको निर्माण गरिएको थियो । जुन अमेरिकी सेनाले प्रयोग गर्दै आएको छ ।

१०. कोर्लिस मुर्रे

एबोट कम्पनी अन्तर्गत गुणस्तर, नियमन तथा इन्जिनियरिङ सेवा विभागकी वरिष्ठ उपाध्यक्ष रहेकी मुर्रेले झण्डै डेढ सय देशमा रहेको उक्त विभाग अन्तर्गतका कार्यहरुको नेतृत्व गर्दछिन् । उनले विज्ञान तथा प्रविधिको क्षेत्रमा महिलाको उपस्थिति बढाउन तथा विद्यार्थीहरुलाई यस क्षेत्रमा आकर्षित गर्नका लागि समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकी छिन् ।

बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment