Comments Add Comment

अनलाइनमा गीत सुन्दा वातावरणलाई नोक्सानी !

आजकल मानिसहरु सिधै इन्टरनेटमार्फत गीत संगीत सुन्न चाहन्छन् । यु ट्युब लगायतका भिडियो स्ट्रिमिङ्ग साइटहरुले इन्टरनेटमा गीत सुन्ने तथा भिडियो हेर्नेका लागि निकै सहज बनाइदिएका छन् ।

तर, केही वर्षअघि सम्म यस्तो सजिलो थिएन । क्यासेट, सिडी तथा अन्य माध्यममा रेकर्ड गरिएका गीतहरु सुन्नुपथ्र्यो, हेर्नुपथ्र्यो ।

सूचना प्रविधिको क्षेत्रमा तिव्र गतिमा विकास भैरहेको छ । मानिसहरु गीत संगीतका लागि इन्टरनेटमा निर्भर बनिरहेका छन् । तर यस्तो अवस्थामा पनि पछिल्ला केही वर्षदेखि गीत संगीत सुन्नका लागि गीत रेकर्ड गरिने पूराना माध्यमहरुप्रति मानिसहरुको रुची फेरि बढेको पाइएको छ ।

एक तथ्यांक अनुसार बेलायतमा भिनाइल रेकर्डको बिक्रिमा सन् २००७ पछि १४२७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षमात्रै बेलायतमा मात्रै ४० लाख प्रति एलपी भिनाइल रेकर्ड बिक्रि भयो । भिनाइल रेकर्डको बिक्रिमा कमी आउने कुनै लक्षण छैन । यसको अर्थ पुनचक्रण गर्न नमिल्ने यी म्युजिक रेकर्डिङ्ग डिस्क आगामी दिनमा झनै बढि उत्पादन हुनेछन् ।

भिनाइल रेकर्डको बिक्रिमा भएको बढोत्तरीको अर्थ यस्तो डिस्क उत्पादनको प्रक्रियामा पनि तिव्र वृद्धि हुनेछ । तर समस्या के भने यस्ता डिस्कलाई पुनचक्रण गर्न सकिँदैन । त्यसैले यसको बिक्रि बढ्नु वा प्रयोग बढ्नु भनेको पर्यावरणका लागि हानिकारक हो ।

उसो त एल्बमको कभर त रिसाइकल गर्न सकिने प्लास्टिकबाट बनेको हुन्छ । पहिले रेकर्ड गरिने टेप पनि शेलाक नामक पदार्थबाट बनाइन्थ्यो । यो पदार्थ एउटा किराको सरीरबाट प्राप्त हुन्थ्यो । तर यस्तो रेकर्ड टेप छिटै बिग्रिन्थ्यो । त्यसैले पछि त्यसको साटो भिनाइल फोनोग्राफ रेकर्ड टेप बनाउन थालियो ।

भिनाइल रेकर्डका लागि प्रयोग गरिने पिभीसी यस्तो पदार्थ हो जुन नष्ट हुन सदियौँ लाग्न सक्दछ । अर्थात् यसको कुनैपनि फोहोर नष्ट हुन्जेल मानिसका कैयन् पुस्ता बित्दछन् । अर्कोतर्फ यो पदार्थ नष्ट भएर माटोमा मिल्दा समेत माटोलाई हानी पूराउँदछ ।

आज जुन रेकर्ड टेप पाइन्छ, त्यसको उत्पादन गर्दा आधा किलो कार्वन डाइअक्साइड पर्यावरणमा उत्सर्जन हुन्छ ।

यस्तोमा केवल बेलायतमा मात्रै ४० लाख एलपी रेकर्ड बिक्रि हुँदा वायुमण्डलमा २ हजार टन कार्वन डाइअक्साइड थपियो । ती रेकर्ड उत्पादन गरी बजारमा लैजाने क्रममा भएको प्रदुषणको पाटो छुट्टै छ । यो भने ४ सय जना मानिसले वर्षदिनभरीमा उत्सर्जन गर्ने कार्वनडाइ अक्साइड बराबर हो ।

सिडीको आयु कति ?

सन् ८० को दशकमा एलपी रेकर्डको साटो कम्प्याक्ट डिस्क अर्थात् सिडीको प्रचलन आयो । यो धेरै समयसम्म टिक्ने र रेकर्ड भएको आवाज पनि उत्कृष्ट हुन्थ्यो । पोलिकार्बोनेट र आल्मुनियमबाट सिडी बन्दछ । यसबाट पर्यावरणमा कम नोक्सान पुग्दछ । तर सिडीलाई पुनचक्रण गर्न मिल्दैन । यसका लागि प्लास्टिक र आल्मुनियमलाई छुट्टाउनु पर्दछ, जुन निकै जटिल प्रक्रिया हो ।

राम्रो गुणस्तरको सिडी ५० देखि १०० वर्षसम्म चल्दछ ।

अनलाइन संगीत कति हानिकारक ?

डिजिटल युग सुरु भएसँगै विश्वमा संगीत सुन्न निकै सजिलो भयो । तपाइँ कुनैपनि वेबसाइट गएर सिधै आफुलाई मनपर्ने गीत सुन्न सक्नुहुन्छ । वेबसाइटमा गीतलाई कपी गर्न, अपलोड गर्न वा डाउनलोड नगरीकनै स्ट्रिम गर्नपनि सकिन्छ ।

संगीतको यो माध्यम यस्तो छ कि प्रयोगकर्ताले त्यहाँ गीत संग्रहित गर्नका लागि कुनै उपकरणको प्रयोग गर्नुपर्दैन । तर यसको अर्थ यो हैन कि यस तरिकाले संगीत सुन्दा पर्यावरणमा कुनै असर पर्दैन ।

जुन इलेक्ट्रोनिक फाइल तपाइँ कम्प्युटर वा मोबाइलमा डाउनलोड गर्नुहुन्छ, वा सिधै स्ट्रिम गर्नुहुन्छ, त्यो कुनै न कुनै सर्भरमा सुरक्षित राखिएको हुन्छ । उक्त सर्भरलाई चिसो पार्नका लागि ठूलो परिमाणमा बिजुली खर्च हुन्छ । हामीले कुनै साइटमा गएर गीतको फाइलमा क्लिक गर्दा उक्त साइटको सर्भरमार्फत त्यो फाइल तपाइँको राउटर हुँदै वाइफाइको सहायताले कम्प्युटर वा मोबाइलमा उपलब्ध हुन्छ, अर्थात् गीत बज्दछ ।

हामीले जति पटक आफ्नो मनपर्ने गीत अनलाइनमा सुन्दछौँ, त्यति नै पटक यो प्रक्रिया दोहोरिन्छ । त्यस्तै वाइफाइको प्रयोग गर्दा, मोबाइल, कम्प्युटर लगायतका विद्युतीय उपकरण प्रयोग गर्दा पनि बिजुली खपत भएकै हुन्छ । यसको मतलब अनलाइनमा जति धेरै गीत सुन्नुभयो उति नै धेरै बिजुली खर्च हुन्छ ।

पर्यावरणमा कति नोक्सानी ?

कुने रेकर्ड, सिडी वा क्यासेट खरीद गरिसकेपछि त्यसलाई आफुले चाहेको जुनसुकै बेला बजाउन सकिन्छ । यद्यपि त्यसरी बजाउँदा पनि बिजुली त खर्च हुन्छ नै । यदिकुनै हाइफाइ साउण्ड सिस्टममा अनलाइन स्ट्रिमिङ्गबाट गीत बजाइयो भने त त्यहाँ १०७ किलोवाट बिजुली वर्षभरमा खर्च हुन्छ । जबकी सिडी चलाउँदा ३४.७ किलोवाट बिजुली लाग्दछ ।

कुन विकल्प ठीक ?

हामीसामु दुई विकल्प छन् । संगीत सुन्न तथा हेर्नका लागि कुन तरिका पर्यावरणका लागि फाइदाजनक होला ?

यदि तपाइँ कुनै गीत बारम्बार सुन्नु हुन्छ भने त्यसलाई रेकर्ड प्लेयरबाट सुन्नु सस्तो हुनेछ र पर्यावरणका लागि समेत कम हानिकारक हुन्छ । तर यदि तपाइँ कुनै गीतलाई एक वा दुईपटक मात्र सुन्नुहुन्छ भने इन्टरनेटबाटै सुन्नु उत्तम हुन्छ ।

संगीतको आफ्नो शौख पूरा गर्दा वातावरण्मा कम भन्दा कम असर पुगोस् भन्ने चाहनुहुन्छ भने तपाइँका लागि भिनाइल रेकर्ड नै सबैभन्दा उत्तम हुनेछ । तर अनलाइन संगीत सुन्न मन पर्दछ भने आफुलाई मन पर्ने गीतलाई डाउनलोड गरेर मोबाइल वा ल्यापटपमा सेभ गरेर सुन्दा बिजुलीको खपत कम हुनगई वातावरणमा कम असर पुग्दछ ।

कुनैपनि गीत तपाइँले इन्टरनेटमा २७ पटक भन्दा धेरै सुन्दा जति उर्जा खपत हुन्छ त्यो उर्जाले एउटा सिडी उत्पादन गर्न पुग्दछ ।

तिव्र गतिमा बदलिइरहेको प्रविधिको दुनियामा पूराना माध्यमहरु जस्तै क्यासेट वा सिडीबाट संगीत सुन्नु आजपनि फाइदाकै काम हो । यी हाम्रो नजिक हुन्छन् । हाम्रा यादहरुलाई सुरक्षित राख्दछन् र पर्याव्रणलाई पनि कम क्षति पूराउँदछन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment