Comments Add Comment

बलात्कार बहसः दोष धर्मग्रन्थमा कि विषाक्त ग्रन्थीमा ?

तथ्य र तथ्यांक हेरौं, जात वा धर्मलाई दोष थोपरेर चोखो नबनौं

लोकरिझ्याइँबाट संक्रमित अभियन्ता र उनीहरुको लेखाइ बोलाइबाट प्रभावित भएका एटेन्सन सिकर जमात पछिल्लो समय मास मिडिया र सोसल मिडियामा सामाजिक मुद्दामा जसरी प्रस्तुत भइरहेको छ, त्यसभित्र विषाक्त उद्देश्य छ । तर, ती व्यक्ति जो उनीहरुको बोलीमा लोली मिलाउँदै सोसल मिडियामा बानर सेनाका रुपमा आक्रमणमा उत्रिन्छन्, तिनहरुलाई हामी कुन मिसनको मतियार बन्दैछौं भन्ने भेउनै नहुन सक्छ ।

समाजका बिद्धत भनिने र मिडियाकर्ममा कपाल फुलाएका अग्रजहरु अरिंगालको गोलोमा किन ढुंगा हान्ने भनेर दाह्रा किटकिटाउँदै मौन बस्छन् । उनीहरुमा भयंकर लघुताभाषले संक्रमण गरेको बुझ्न सकिन्छ । यो लेख तयार पार्दैगर्दा त्यस्ता दर्जनौं अनुहार झलझली नाचिरहेका छन् । जो विषाक्त विचारको प्रतिवाद गर्दा प्रोजेक्ट खोसिने वा अभियन्ताहरुको खेदाइमा परिने डरबाट गुम्सिएका छन् ।

आफ्नै स्पष्टीकरण

यो लेखको आसय कुनै पनि धर्म संस्कृति वा सम्प्रदायको बचाऊ गर्नु होइन । विषय वा प्रसंगले अमूक धर्म सम्प्रदायका व्यक्तिको मनमा लागेका कुरा यो लेखमा प्रकट भएमा त्यो संयोगमात्र हुनेछ । लेखक म आफ्नै कुरा गर्दा हिन्दू धार्मिक खस पहाडे ब्राम्हण परिवारमा जन्मिनुबाहेक हिन्दू धर्म र ब्राम्हण कर्मप्रति खासै अतिरिक्त आशक्ति छैन ।

मेरो आफ्नै परिवारमा विश्वमा मानिएका कम्तिमा चार धर्म र नेपालभित्रका चार जाति समुदायको मिश्रण छ । जेठी दिदी,जेठी भान्जी र भाञ्जाहरु इस्लाम धर्म मान्छन् । माइली भाञ्जी र फिनल्याण्डका नागरिक ज्वाइँ इशाइ धर्म मान्छन् । कान्छी भाञ्जी र मलेसिया निवासी ज्वाइँ हिन्दू र बुद्ध दुवै धर्म मान्छन् ।
मूलतः दशैं तिहार हाम्रो घरमा मनाउँछाैं, इद दिदीको घरमा र क्रिसमस भाञ्जीको घरमा मनाउँछौं । बुद्ध धर्मको अतिरिक्त कुनै चाड मनाइँदैन । त्यसैले धार्मिक स्वतन्त्रता र समावेशिताको सन्दर्भमा कम्तिमा मलाई कसैले सिकाउनु पर्दैन ।

जब हामी बिचलित हुन्छौं

यति भनिसकेपछि, लेखको मूल विषयमा प्रवेश गरौं । पछिल्लो समय मान्छेले सोच्न पनि नसक्नेखालका बलात्कारका पाशविक घटनाहरु सार्वजनिक भइरहेका छन् । ९२ वर्षीया बृद्धादेखि ९ महिनाकी बालिकामाथिसम्म त्यस्ता प्रकारका हिंसा भइरहेका समाचार लेख्नुपर्दा न्युजरुममा कहिलेकहिँ हामी आफैं बिचलित हुन्छौं ।

बलात्कारलाई यौनजन्य विकृत वा अपराधका रुपमा मात्र परिभाषित गर्ने हो भने ९२ वर्षकी बृद्ध र १३/ १४ वर्षका बालिकामाथि भइरहेका अपराधलाई बलात्कार मात्रै मान्नुहुँदैन । तर, समाजमा पछिल्लो समय जे जस्ता घटनाहरु बाहिर आएका छन्, ती घटनामा पीडितहरु अधिकांश बालिका र किशोरी अनि सुस्त मनस्थितिका महिला र बृद्धाहरु छन् । अझ काभ्रेको एउटा घटनामा त बालकमाथि बलात्कार भएको पाइएको छ ।

मान्छेका मन बिचलित बनाउने यस्ता घटना किन हुन्छन् ? हामी पत्रकारहरु यस्ता समाचार प्रकाशन प्रसारण गर्दा असैहृय भएर कहिले मनोवैज्ञानिकहरुसँग कुरा गर्न पुग्छौं । कहिले अपराधशास्त्र र समाजशास्त्रका विज्ञहरु खोज्दै हिँड्छौं । कहिले अपराध अनुसन्धानमा ख्याती कमाएका पूर्वप्रहरी अधिकारी र मनोसामाजिक परामर्शदाताहरुसँग कुरा गर्छौं ।

वास्तवमा समाचारसँग जोडिएका हरेक पत्रकार आफूले समाचार प्रवाह गरेपछि त्यसको विश्लेषणात्मक पाटोका बारेमा सोचिरहेका हुन्छन् । पत्रकार आफैं कुनै कुराको विज्ञ होइन, तर विज्ञहरुको कुरालाई मान्छेले बुझ्ने भाषामा लेखेर समाजलाई सचेत गराउने जिम्मेवारी हामीमाथि छ ।

रिपोर्टरले लेखेका समाचार र सूचना पढेर विश्लषेणका नाममा मनका भँडास पोख्ने लेखक र पत्रकारको फरक भनेकै यही हो कि, हामी तर्कमा तथ्य खोज्छौं, उनीहरुलाई तर्क भए पुग्छ । तथ्यको ठाउँमा कुतर्क गर्न लेखक, बुद्धिजीवीलाई जति सजिलो छ, सूचना र तथ्यका आधारमा समाजलाई सही जानकारी र विश्लेलषण पस्किन पत्रकारलाई उत्तिकै गाह्रो काम हो ।

भारतमा हिन्दू गुरुहरु बलात्कारका घटनामा समातिन्छन् । यस्ता घटनामा समग्र धर्म र धर्माबलम्बीलाई दोषी मान्ने कि अपराधमा संलग्न व्यक्तिलाई ? बलात्कारको स्रोत कुनै धर्म होइन, त्यो धर्मको आवरणमा रहेका बलशाली व्यक्तिहरु हुन सक्छन्

बलात्कारका पछिल्ला घटनाविरुद्ध समाज जुरुक्कै उठेको छ । हरेक दिन न्यूजरुममा बलात्कारको घटनाका समाचार आउनासाथ आङ जिरिङ्ग हुन्छ । पत्रकारहरु बलात्कारका यी घटनाको मनोसामाजिक पक्षबारे विज्ञहरुसँग कुरा गर्न दौडिरहेका बेला कतिपय मानिसहरुबाट बलात्कारी उत्पादन गर्ने कारखाना र बलात्कार फल्ने वृक्षहरु भनेर अमूक धर्म र जातिलाई किटान गर्न थालिएपछि यो आलेखको प्रस्तावना तयार भएको हो ।

नेपालमा जति बलात्कारका घटना भएका छन्, यसको मुख्य स्रोत हिन्दू धर्म हो भनेर किटान गर्न थालिएको छ । हिन्दू धर्मशास्त्र, पुराण र मठ मन्दिरहरुलाई बलात्कारी उत्पादन गर्ने कारखाना भनेर किटान गरिएका लेख तथा अन्तर्वार्ताहरुले स्थान पाइरहेका छन् । त्यतिमात्र होइन, अझ अघि सरेर कतिपय प्रकाण्ड विद्धानहरुले शास्त्रार्थ गर्न थालेका छन्ः बलात्कारी हिन्दू धर्मका उत्पादन हुन्, बलात्कारका विषवृक्ष हिन्दूशास्त्र र सभ्यता हुन् । हिन्दू देवालय र शास्त्रहरु बलात्कारी उत्पादन गर्ने कारखाना हुन् । आदि आदि ।

बलात्कारको मुहान हिन्दुत्व हो ?

हिन्दूशास्त्रमा महिलाको सम्मानजनक स्थान नभएकै कारण हिन्दू समाजमा महिलामाथि बलात्कारका घटना हुने गरेको कुतर्कलाई जबर्जस्ति स्थापित गर्न खोजिँदैछ । यो अभियानमा नाम चलेका र समाजमा स्थापित भएका भनिएका परिचित लेखक तथा अधिकारकर्मीहरु नै अग्रभागमा छन् ।

अघि नै भनिएको छ, यो लेखको आशय कुनै पनि धर्मको बचाउ वा आरोपित गर्नु होइन । तर, महिलावादी तथा सामाजिक न्यायका अभियन्ता भनिने लेखक विश्लेषक र अभियन्ताहरुले महिलामाथि विभेद र बलात्कारको मुहान मान्ने गरेको मनुस्मृतिको शुरुमै लेखिएको छ…..स्त्री मुलं हि धर्म । अर्थात धर्मको मूल नै नारी हुन् ।

मनुस्मृतिमै बलात्कार र यौन हिंसाबारे यस्तो भनिएको रहेछः योः कामं दूषयेत्कन्यां स सद्योग वधम् अर्हति । अर्थात यदि कसैले कन्या (किशोरी, बालिका) लाई यौनका लागि बलात्कार गर्छ भने त्यो व्यक्ति मृत्युदण्डको लागि योग्य हुन्छ ।

मनुस्मृतिमै मातृवत् परदारेषुः यः पश्यति स पण्डित भनेर बुझ्झकी व्यक्तिले परस्त्रीमाथि आँखा लगाउदैन भनिएको छ ।

महिलावादीहरुले सबैभन्दा घृणाले नाम लिने गरिएको मनुस्मृतिमा जहाँ महिलाको आदर सम्मान हुन्छ, त्यहाँमात्र देउता खुसी हुन्छन् र जहाँ महिलाहरु अपहेलित हुन्छन्, त्यहाँ कुनै पनि यज्ञ (राम्रो काम) सफल हुन सक्दैन भनिएको छ ।

यी प्रशंग किन उठाउन खोजिएको हो भने, आजभन्दा कम्तिमा एक हजार वर्षदेखि ३/४ हजार वर्षअघि लेखिएका पुराण र धार्मिक शास्त्रहरुका प्रत्येक हरेफमा आजको एक्काइसौं शताव्दी अनुकुल मानवीय व्यवहार खोजिनु असान्दर्भिक कुरा हो ।

दश वर्षअघि नेपाली समाजमा रहेका कतिपय मान्यताहरु आज आउँदा अस्वीकार्य र असान्दर्भिक भइसकेका हुन्छन् भने ३ हजार वर्षअघिको समाज हेरेर लेखिएका श्लोकहरुमा आजको सान्दर्भिकता खोज्नु अर्घेल्याइँमात्र हो ।

धर्मको इतिहास र आजको चेत

 

पछिल्ला तथ्यांकहरु हेर्ने हो भने ९ महिनाकी शिशुदेखि ९२ वर्षीया बृद्धासम्म बलात्कारको शिकार भएका छन् । यो तथ्य भनेको डरलाग्दोमात्र होइन, अपराधले सीमा नाघेको खतराको घण्टी पनि हो

आज विश्वमा अस्थित्वमा रहेका प्रमुख धर्महरु कम्तिमा १४ सय वर्ष पुराना छन् । विश्वकै सबैभन्दा पूरानो हिन्दू धर्म होस वा सबैभन्दा नयाँ इशाई धर्म होस यिनीहरुको ग्रन्ध र शास्त्रहरु हजारौं वर्षअघि लेखिएका हुन् । त्यो युगमा लेखिएका शास्त्रमा आजको चेत खोज्न थालियो भने बलात्कारको कारखाना भेटिँदैन ।
इन्द्रले अहिल्यालाई बलात्कार गरे भनेर हिन्दू धर्ममाथि जसरी प्रहार गरिएको छ, यसो भन्नेहरु कि त हिन्दू धर्ममा आस्था राख्दैनन् कि त पढ्दै नपढी गैरहिन्दू पश्चिमा मिसनरीहरुले तयार पारेको भाष्यको पछि लागेका छन् ।

आजभन्दा करिब चारसय वर्षअघिदेखि थालिएको हिन्दू धर्मविरुद्धको अभियान अहिले आएर आक्रामक ढंगले बढाइएको छ, जसको प्रभाव देखिँदैछ । बलात्कारका घटना हिन्दू धर्मकै कारण बढेको भनेर जबर्जस्ती पुष्टि गर्न इन्द्र र अहिल्याका मिथकलाई सत्य घटनामा आधारित धारावाहिकका रुपमा प्रस्तुत गरिँदैछ ।

महादेवले समुद्र मन्थन गरेको कथालाई हिन्दूशास्त्रले सिकाएको बलात्कारको भिषण अपराध शिक्षाका रुपमा स्थापित गर्न भरमग्दूर प्रयास भइरहेको छ । यस्तो लाग्छ, हिन्दूशास्त्रको ब्याख्याताका रुपमा ती व्यक्तिलाई प्रोजेक्ट गरिँदैछ, जसको एकमात्र र अन्तिम मिसन भनेको हिन्दू धर्मप्रति चरम घृणा फैलाउनु हो ।
वास्तवमा यस्ताखाले नियोजित र कुनै अमूक धर्म सम्प्रदायको आस्थाप्रति घृणा फैलाउने अभियानले बलात्कारविरुद्धको सामाजिक अभियान र आवाज बलियो होइन, विभाजित बनाउन सक्छ । त्यसका प्रारम्भिक संकेत दलित र मधेसका बलात्कार पीडितहरुमाथि विभेद भएको भनेर सो क्षेत्रका अभियन्ताले दिइसकेका छन् ।
जब बलात्कारी र पीडितलाई धर्म, जात र वर्णका आधारमा विभाजित गरिन्छ र अपराधलाई धर्मसँग जोडिन्छ, तब सामाजिक न्याय मर्छ । समाजमा नयाँखाले द्वन्द्वहरु सिर्जना हुन्छन् । मूलतः ती अभियन्ता, जो अहिले हिन्दूत्वलाई बलात्कारको जड देखिरहेका छन्, उनीहरुको अन्तिम ध्येय त्यही हुनसक्छ ।

बलात्कारीले धर्मशास्त्र पढ्छ ?

कुनै पनि धर्म वा शास्त्रले बलात्कार वा नारीमाथि हुने हिंसा तथा विभेदलाई धर्म भनेको छैन । तालिवानले स्कूल जाने किशोरीलाई गोली हाने भन्दैमा इस्लाम धर्मलाई नारी शिक्षा र अधिकारको विरोधी भन्न मिल्छ ? कुरानमा कहीँ पनि महिलाले पढ्नुहुँदैन, उनीहरुलाई अधिकार दिनुहुँदैन र उनीहरुमाथि बलात्कार गर्नुपर्छ भन्दैन ।

तर, इस्लाम समाजमा सामुहिक र सामाजिक बलात्कारका घटनासमेत हुने गरेका छन् । कुनै बहुलठ्ठी समाज र अमूक व्यक्तिले गरेको अपराधलाई पवित्र धर्मग्रन्थ र करोडौं मान्छेका आस्थाका प्रतीक पैगम्बर मोहम्मदसँग जोडेर बलात्कारी उत्पादन गर्ने कारखाना भनेर लेखियो भने मुस्लिम मुलुकमा सैहृय हुन्छ ?
फ्रान्सको सार्ली हेब्डो पत्रिकाले पैगम्बर मोहम्मदको कार्टुन प्रकाशित गर्दा कार्यालयमा कति ठूलो सशस्त्र हमला भयो र कति मान्छे मारिए ? यो तीन चार वर्षअघिको मात्र घटना हो ।

पश्चिमा देशका चर्चहरुमा यौन शोषण र बलात्कारका दर्जनौं घटनाहरु बाहिर आउँछन् । चैत्यभित्रै आनी बलात्कृत भएका घटना पनि बेला-बेला समाचारमा आउँछन् । भारतमा हिन्दू गुरुहरु बलात्कारका घटनामा समातिन्छन् । यस्ता घटनामा समग्र धर्म र धर्माबलम्बीलाई दोषी मान्ने कि अपराधमा संलग्न व्यक्तिलाई ? बलात्कारको स्रोत कुनै धर्म होइन, त्यो धर्मको आवरणमा रहेका बलशाली व्यक्तिहरु हुन सक्छन् ।

सामाजिक संरचना कस्तो ?

हाम्रा सामाजिक संरचना, मूल्य मान्यता र रीतिरिवाजहरुले महिलालाई पाइला-पाइलामा हीनताबोध गराइरहेका हुन्छन् । यद्यपि समयको गतिसँगै ती धेरै डीभाइडरहरु भत्किएका छन् । यस्ता मान्यताहरु भत्काउन धर्मग्रन्थको संशोधन सम्भव छैन, बरु हरेक घरभित्रबाट छोरीलाई दोस्रो दर्जाको बनाउने मान्यता आफैं भत्किरहेका छन् र एउटा विन्दूमा पुगेर त्यो पूर्ण हुनेछ ।

फेरि, यस्ता महिलालाई होच्याउने र हीन देखाउने मान्यता निश्चित धर्म वा सम्प्रदायमा मात्र छैनन् । संसारका सबैभन्दा विकसित र सभ्य भनिएका मुलकमा पनि छन् । हजारौं वर्षदेखि विश्व मानव सभ्यताले अभ्यास गरेको पितृसत्तात्मक सोच र संरचनाको दोष अमूक धर्मग्रन्थ वा अमूक जातीय समाजलाई दिएर बलात्कार जस्ता घृणित अपराधविरुद्ध उभिने कर्तव्य पूरा भएको ठान्नु आत्मरतिमात्र हो ।

हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपतिमा किन स्वीकार्य भइनन् ? महिलाका सन्दर्भमा समाजको सोच यहाँ प्रकट भएको छैन र ? यौन दुव्र्यवहार र बलात्कार अनि महिला हिंसाका घटना हुनेमा पश्चिमा मुलुकको ग्राफिक किन माथि छ ? त्यहाँको सामाजिक संरचना त हिन्दू खसआर्य सभ्यता होइन नि ।

हाम्रो देशमा बालवालिका र किशोरीहरुमाथि दिनहुँ भइरहेका हत्या, बलात्कार र अपहरणका घटनाले सिंगो समाज स्तब्ध भइरहेको छ । देशका बिभिन्न कुनाबाट दिनहुँ आउने यस्ता पाशविक र सुन्नै नसकिने अपराधिक घटनाहरु सभ्य समाजमा कुनै पनि हालतमा स्वीकार्य छैनन् ।

पछिल्ला तथ्यांकहरु हेर्ने हो भने ९ महिनाकी शिशुदेखि ९२ वर्षीया बृद्धासम्म बलात्कारको शिकार भएका छन् । यो तथ्य भनेको डरलाग्दोमात्र होइन, अपराधले सीमा नाघेको खतराको घण्टी पनि हो ।

आज दिनहुँ यस्ता घटनाले नेपाली समाज महिला र बालवालिकाका लागि असुरक्षित बन्दै गएको देखाएका छन् ।

यस्ता अपराधिक घटनाबाट पीडित एउटा व्यक्ति वा परिवार हुनसक्छ, तर समग्रमा यी घटना राज्यविरुद्धका अपराध हुन् । सभ्य समाजमाथिको यो चुनौतिका बेला कुनै धर्म वा सम्प्रदायलाई अपराधको स्रोत भनेर कोही चोखो बन्न नखोजे हुन्छ ।

बलात्कारविरुद्ध आज सिंगो देश आक्रोशित छ । बलात्कारी र अपराधी विरुद्ध समाज जुरुक्कै उठेको छ । यस्ता घटनाविरुद्ध जनता जति जागरुक भए पनि सरकारले अपराधीलाई कारवाही गर्ने र सुरक्षा रणनीति बनाउने सन्दर्भमा एक्सन नदेखाएसम्म अपराधीको मनोबल बढिरहन्छ ।

बलात्कारका घटनामा प्रहरी अनुसन्धान प्रभावकारी नदेखिएका गुनासाहरुलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । बलात्कार र यौनहिंसामा परेका पीडितले राज्यबाट मैले न्याय पाउँछु भन्ने अनुभूति गराउनु सरकारको सफलता हो । यसतर्फ प्रधानमन्त्री तहबाटै गम्भीर पहल हुनुपर्छ । उदासीनता देखाउने वा अनुसन्धानमा लापरवाही गर्ने वा अपराधी जोगाउने प्रहरीलाई कारवाही गर्नुपर्छ ।

पशुपतिनाथको भरोसा

धार्मिक विषयमा छापिएका कार्टुन र धार्मिक सम्प्रदायलाई लाञ्छित गरेर लेखिएका लेख वा समाचारका कारण निकै ठूला हिंसात्मक घटना हुने गरेका छन् । तर, नेपालमात्रै यस्तो देश हेा, जहाँ दिनहुँ भइरहेका बलात्कार, हिंसा र विभेदका घटनाको कारक हिन्दू धर्म हो भनेर मूलधारका मिडियाबाट लेख्दा र सार्वजनिक मन्चबाट बोल्दा पनि समाजले सहज पचाइरहेको हुन्छ ।

छिमेकी भारतकै कुरा गर्ने हो भने, एउटा फिल्मको पोष्टरमा हिन्दू धर्मप्रति अनास्था फैलाइएको आरोपमा हिंसा भड्किँदा दर्जनौं मान्छेको ज्यान जान्छ । धार्मिक कट्टरताको हिसाबले नेपालका हिन्दू सम्भवतः विश्वकै सबैभन्दा उदार मानिन्छन् । सायद नेपालमा हिन्दूत्वको रक्षा यसका अभियन्ता वा हिन्दू धर्माबलम्बीले होइन, पशुपतिनाथले मात्र गरिरहेका छन् । यसको अर्थ हिन्दूवादीहरु प्रतिवादमा उत्रिनुपर्छ भन्ने होइन ।

नेपालको संविधानले कुनै पनि धर्म, सम्प्रदाय र जाति विशेषप्रति अनास्था जगाउने वा उनीहरुको सम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि गर्न पाइँदैन भनेको छ । हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरे पनि यी विषयमा प्रेस संविधानमा बाँधिएको मात्र छैन, यसका आफ्नै मर्यादा र सीमा पनि छन् । हिन्दू धर्मलाई बलात्कार र सम्पूर्ण विभेदका मुहान भनेर लेख्दा वा बोल्दा हामीले संविधान होइन, न्यूनतम मूल्य मान्यता पनि बिर्सने गरेका छौं ।

यदि कुनै व्यक्ति यही विषयलाई लिएर अदालतमा गयो भने अदालतले कस्तो आदेश दिन्छ होला ? करोडौंं मान्छेको आस्था गाँसिएको संस्थालाई हामी कसरी होलसेलमा संगीन आरोप लगाइरहेका छौं ? यदि साँच्चिकै हिन्दू धर्मका अध्येताहरु यस विषयमा शास्त्रार्थ गर्न आए भने हिन्दूत्वलाई बलात्कारी जन्माउने कारखाना र बलात्कारको विषवृक्ष भन्नेहरु बहस गर्न तयार छन् ? संसारमा सबैभन्दा संवेदनशील विषय भनेको धर्म हो । धार्मिक विषयमा लेख्दा वा बोल्दा धेरैपटक सोच्नुपर्ने हुन्छ । संसारका धेरै ठूला र शक्तिशाली व्यक्तिहरु धार्मिक र साम्प्रदायिक विषयमा बोल्न बिचार नपुर्‍याउँदा सार्वजनिक रुपमा माफी मागेका धेरै घटना छन् ।

नेपालचाहिँ यस्तो अपवाद बनेको छ, जहाँ हिन्दू धर्म र खसआर्यलाई जति तुच्छ भाषामा लाञ्छित गर्न सक्यो त्यो व्यक्ति सामाजिक न्यायको अभियन्ता बनेर सामाजिक सन्जालमा लोकपि्रय बन्ने होड छ । यो होडमा धेरै व्यक्तिले ९ महिनाकी बालिकादेखि ९२ वर्षकी बृद्धामाथिको बलात्कारीलाई होइन, हिन्दूशास्त्र विरुद्ध विषवमन गरेर आफ्नो कोटा पूरा गरिरहेका छन् ।

बलात्कारी वा अपराधीले अपराध गर्नुअघि कुनचाहिँ हिन्दूशास्त्र पढेर जान्छ होला ? अनि कुनचाहिँ हिन्दू धर्माबलम्बीले आफ्ना छोरालाई बलात्कार गर्न सिकाउँछन् होला ? कुनचाहिँ मन्दिरमा बलात्कारको शिक्षा दिइन्छ होला ? हुन त जन्म दिने बाबुलाई बलात्कारी भनेर छातीमा प्लेकार्ड राख्दा गर्व गर्ने झुण्ड मिसनरीहरुले तयार पारिसकेका छन् ।

संसारमा यस्ता कुनै अपराधी होलान्, जसले धार्मिक ग्रन्थ पढेर बलत्कार गरोस ? त्यसैले दोष धर्मग्रन्थको होइन, बरु धर्मग्रन्थलाई बलात्कारी उत्पादन गर्ने मुहान देख्ने विषाक्त ग्रन्थीको हो । के लेख्दा वा बोल्दा रातारात चर्चामा आइन्छ र मिसनरीहरुको नजरमा परिन्छ भन्ने प्रतिस्पर्धामा बहुसंख्यक नेपालीको आस्थामाथि दुषित आक्रमण भइरहेको छ ।

नेपालका हिन्दूको विशेषता यो हो कि, उनीहरु आफ्नो धर्मशास्त्र र यसका मान्यताहरुको गलत पक्षको खुलेर बहस गर्छन् । हिन्दूत्वको रक्षा गर्ने जिम्मा पशुपतिनाथलाई छाडेका छन् । त्यसैले समाजमा हुने सबैखाले अपराधको स्रोत हिन्दू धर्म हो भनेर मिसनका साथ प्रहार हुँदा पनि संगठति प्रतिवाद गर्दैनन् । यो उनीहरुको राम्रो पक्ष हो ।

धेरै बलात्कार हुने टप टेन देश

के हिन्दूत्वनै बलात्कारको रुट कज हो हो त ? संयुक्त राष्ट्रसंघ र अन्य अन्तराष्ट्रिय एजेन्सीहरुले सन् २०१८ अध्ययन गरेको बलात्कारका अपराधको विश्वव्यापी आँकडा भने विल्कुल फरक देखिन्छ । विश्वमा गत वर्ष भएका ५ लाख बलात्कारका घटनाको अध्ययनबाट निकालिएको तथ्यांकले क्रिश्चियन र इस्लामिक मुलुकहरुमा सबैभन्दा धेरै बलात्कारका घटना भएको देखाएको छ ।

यद्यपि अमेरिका, बेलायतजस्ता देशमा यौन हिंसाका घटनाहरु जसरी बाहिर आउँछन्, हाम्रो जस्तो देशमा धेरै घटनाहरु दबाइन्छन् ।

प्रतिशतका आधारमा विश्वमा सबैभन्दा धेरै बलात्कारका घटना हुने १० वटा देशको सूचीमा एक नम्बरमा दक्षिण अफि्रका पर्छ । दोस्रो नम्बरमा स्वीडेन देखिएको छ भने तेस्रो नम्बरमा अमेरिका, चौथोमा बेलायत र पाँचौमा भारत देखिएको छ ।

सबैभन्दा धेरै बलात्कार हुने देशमध्ये छैटौंमा न्युजिल्याण्ड, सातौंमा क्यानडा, आठौंमा अष्टेलिया, नवौंमा जिम्बाबे र दशौंमा डेनमार्क र फिनल्याण्ड देखिएका छन् ।

बलात्कार धेरै हुने विश्वका दशमध्ये ९ देशमा हिन्दू धर्मको अस्थित्व लगभग छैन ।

त्यसोभए ती देशमा हुने हजारौं बलात्कारका घटना गराउन नेपालका हिन्दू गएका गए ? वा हिन्दू धर्मग्रन्थ पढेर ती देशमा बलात्कारका घटना भइरहे

गोविन्द ढकालको टेस्ट केस ?

र, अन्तमा यो पनि थपौं, हालैमात्र गोरखाका ६३ वर्षीय गोविन्दप्रसाद ढकालले १२ वर्षीया बालिका बलात्कारको अभियोग पुष्टि भएपछि जिल्ला अदालतबाट जेल सजाय पाए । संयोगवश उनी क्रिश्चियन धर्म प्रचारक रहेछन् । २८ अगष्टमा जर्मनीको एक चर्चित पत्रिकाले लेख्यो, क्रिश्चियन भएकै कारण गोविन्द ढकाललाई बलात्कारमा कठोर सजाय दिइयो ।

जर्मनी पत्रिकामार्फत नेपालमा बलात्कार केसमा क्रिश्चियन भएबापत कठोर सजाय दिइन्छ भनेर समाचार लेखाउने त्यही गिरोह हो, जसले बलात्कारी उत्पादन गर्ने कारखाना हिन्दू धर्म ग्रन्थ हुन् र बलात्कारीले ओत लाग्ने वृक्ष हिन्दू देवालयहरु हुन् भनेर जोडतोडका साथ सोसल मिडियाबाट अभियान चलाइरहेको छ ।

अहिले यो कुरा वाहियात लाग्न पनि सक्छ, तर भोलि यस्तो दिन नआउला भन्न सकिन्न कि बलात्कारी अमूक धर्म वा जातको भएका कारण उसले उन्मुक्ति पाउनुपर्छ भनेर नेपालमै बिचार विश्लेषण प्रकाशन हुन थाल्नेछन् । पादरी गोविन्द्रप्रसाद ढकालको बलात्कार र जेल प्रकरण अनि त्यसलाई दिइएको धार्मिक रंग एउटा टेस्ट केस पनि हुन सक्ला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment