Comments Add Comment

जन्मअष्टमीमा काभ्रेमा पुजिए १६ हजार कन्या

१७ भदौ, काभ्रे । एक सय १६ वर्ष अगाडिदेखि श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काभ्रेको बनेपा-७ गाउँमा अविवाहित तथा रजश्वला नभएका र बेल विवाह नगरिएका कन्याहरुलाई विभिन्न विधिका साथ पूजा गरिदै आएको छ ।

कन्याको दीर्घायु र पुज्नेलाई शान्ती मिल्ने विश्वास रहँदै आएको छ । बनेपा सात गाउँभित्र मात्रै मनाइँदै आएको कन्या पुज्ने चलन यतिबेला जिल्लाका विभिन्न सहरभित्र फक्रदैसमेत गएको छ ।

काभ्रेको बनेपाका नेवार समुदायले सुरु गरेको कन्या पुज्ने प्रचलन पछिल्लो वर्षहरुमा देश व्यापी रुपमा मनाउन थालिएको छ ।

बनेपा सात गाउँ मानिएको बनेपा, पनौती नाला चौकोट, जनागाल र साँगामा एकै पटक १६ हजार भन्दा बढी कन्या पुजिएको दावी गरिएको छ ।

बनेपाको पुरानो बजारको भोलाखाटोल, दक्षुटोल, तीनधारा, वकुटोल र त्रिभुवनचोकमा दायाँवायाँ कन्याहरूलाई आसन गराएर सयौ दर्शनार्थीहरूमार्फत ती कन्याहरूलाई पूजाआजा गरिन्छ ।

काभ्रेका विभिन्न गाउँ, सिन्धुपाल्चोक, भक्तपुर ललितपुर, काठमाडौँ, रामेछाप, दोलखा, धादिङ मकवानपुर लगायतका स्थानबाट रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याहरुलाई पुज्न ल्याइने गरिन्छ ।

बालिकाहरुलाइ रोग नलागोस भनेर आफु कन्या पुज्न आएको बनेपाकी स्थानिय कल्पना मानन्धर बताइन् ।

बनेपा सात गाउँमा १९५९ सालबाट सुरु भएको वैदिक कन्या पूजा गर्नाले मनले चिताएको कुरा पूरा हुने र शान्ती मिल्ने एव पुजिने कन्याको दीर्घायुु हुने धार्मिक जनविश्वास रहिआएको छ ।

कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्यासमेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माइकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ ।

यस्तै बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउँन सफल आराध्यदेवी चण्डेश्वरी देवीको रूप नै कन्या भएकाले कन्यालाई पुज्दै आएको स्थानीयको सुरकृष्ण वैद्यले बताए ।

देशभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट कापी पेनलगायतका सामानहरु कन्यालाई पुज्दै दान दिने चलन रहिआएको छ ।

कन्याहरुको सम्मान एव स्वागतका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजा गाजाको व्यवस्थापन समेत गर्ने गर्छन् ।

जिल्लाको बनेपा, पनौती, खड्पु, सागा, पुलबजार, जनागाल, खरिबोट लगायतका स्थानमा गरी जिल्लाभर १६ हजार भन्दा बढी कन्या पुजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment