Comments Add Comment

बासिन्दा धादिङ, ठेगाना डोटी, राष्ट्रियता तिब्बतियन !

१९ भदौ, काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा फरक–फरक समाचार प्रमुखताका साथ छापिएका छन् । तर, सरकार र चिकित्सकहरुबीच सहमति भएको समाचार भने सबै पत्रिकाहरुले समेटेका छन् ।

नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको बेथितिबारे समाचार लेखेको छ । समाचारमा लेखिएअनुसार सेवा आयोगको प्रश्नपत्र नै किनबेच भएको पाइएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गरेको छ । ०७२ चैतमा त्रिवि सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि सतर्कता केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौं रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भएको समाचारमा उल्लेख छ ।

त्यतिमात्रै होइन त्रिवि सेवा आयोगले एकै दिन एकै व्यक्तिलाई नियुक्तिपत्र, बढुवा र अवकाश दिएको तथा सेवा आयोगका अध्यक्ष पत्नीको ४४ औं दिन र अरुको एक वर्षपछि नतिजा प्रकाशित गरिएको प्रसंग पनि समाचारमा लेखिएको छ ।

नयाँ पत्रिका दैनिकले पूर्वराजदूत केशवराज झाको घरभित्रै हत्या भएपनि अझै दोषी पत्ता लाग्न नसकेको र सांसद निरु पाललाई नयाँबानेश्वरमा अज्ञात व्यक्तिले पेस्तोल देखाएर धम्क्याएर मोबाइल लुटेको घटना अझै पनि रहस्यमय बनेको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ । तर, अचम्म त के छ भने निरु पालले अझैसम्म प्रहरीमा जाहेरी नदिएको समाचारमा उल्लेख छ ।

यसैगरी नेकपाका तल्ला कमिटी एकीकरणको समाचार पनि नयाँ पत्रिकामा छ । कतै सर्वसम्मत नेतृत्व चयन गरिए पनि कतै भने विवाद छ । समाचारमा लेखिएअनुसार प्रदेश २ मा जिल्ला भागबन्डामै लफडा छ भने प्रदेश ३ र ४ मा नेतृत्वका दाबेदार धेरै भएपछि सहमति जुटेको छैन ।

पप्पुलाई साढे ५ अर्बको पुल मात्रै

कान्तिपुर दैनिकले पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएका अलपत्र पुलको सूचीसहितको समाचारलाई मुख्य प्राथमिकताका साथ छापेको छ । तर, सरकारले विवादास्पद पप्पु कन्स्ट्रक्सन कम्पनीलाई पुल बनाउनकै लागि साढे ५ अर्ब रुपैयाँको ठेक्का दिएको पाइएको छ । एकपछि अर्को ठेक्का लिने तर काम नगर्ने पप्पु कम्पनीले राजनीतिक आड र दबाबले ठेक्का हात पारेको समाचारमा उल्लेख छ ।

कान्तिपुरमै सरकारसँग तीन बुँदे सहमति भएपछि चिकित्सकको आन्दोलन एकसाताका लागि स्थगित भएको समाचार पनि छ । साथै हात्तीको बितन्डाबाट आजित भएका झापा बाहुनडाँगीका किसानहरुले चिया खेती गरेको, झापाको दमकमा १४ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेको लगायतका समाचार पनि कान्तिपुरको पहिलो पृष्ठमा छन् ।

बासिन्दा धादिङ, ठेगाना डोटी, राष्ट्रियता तिब्बतियन

नागरिक दैनिकमा धादिङकी एक महिलाको राहदानी बनाउँदा गम्भीर लापरवाही गरेको समाचार मुख्य प्राथमिकताका साथ छापिएको छ । गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछानेको राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने नै छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ । त्यस्तै राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक लेखिएको छ । धादिङ हुनुपर्नेमा अघिल्लो पानामा कास्की लेखिएको छ भने अर्को पानामा गजुरी बजार–१ डोटी लेखिएको छ । त्यस्तै राष्ट्रियतामा तिब्बतियन लेखिएको छ ।

परराष्ट्र मन्त्रालयबाट आफ्नो नाममा जारी भएको राहदानीमा नाम, ठेगाना र राष्ट्रियता नै फरक लेखिएको भेटिएपछि लामिछाने छक्क परेको समाचारमा उल्लेख छ ।

यसैगरी युके एडको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिफिड)ले नाफामुखी बैंक पोसेको, खनिजमा माफियातन्त्र मौलाएको फेक रेस्क्यू प्रकरणमा बिनाप्रमाण अनुसन्धान प्रतिवेदन तयार पारिएको लगायतका समाचारहरु पनि नागरिकका्े पहिलो पृष्ठमा छन् ।

जहाँ सडक छैन, त्यहाँ गाडी

अन्नपूर्ण पोष्ट दैनिकमा स्थानीय तहको बेथितीलाई उजागर गरिएको छ । जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ तर छेडागाडाका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन ।

जाजरकोटको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, भेरि नगरपालिका, शिवालय गाउँपालिका लगायतले पनि दुई पांग्रे र चार पांग्रे गाडी किनेका छन् ।

अन्नपूर्णमा शीर्ष नेतालाई नै भागबन्डा चित्त नबुझ्दा नेकपाको एकतामा भद्रगोल भएको मुख्य समाचार छ ।

कर्मचारीको अवकाश उमेर हद फेरि ५८ वर्ष

नेपाल समाचारपत्र दैनिकमा अब प्रदेशबाटै स्मार्ट लाइसेन्स वितरणको तयारी भइरहेको र निजामती कर्मचारीको अवकाश उमेर हद ५८ कायम गरेर संघीय निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषदमा पठाइएको समाचार पहिलो पृष्ठमा छ ।

प्रतिनिधिसभामा सोमबारबाट सांसद र मन्त्रीको प्रश्नउत्तर शुरु भएको, काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो अवरोध हुने गरेको लगायतका समाचार पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment