Comments Add Comment

प्रधानमन्त्री कार्यालयभित्रै नियमविपरीत ठेक्का !

१९ फागुन, काठमाडौं । आजका पत्रिकाहरुमा वाम नेता भरतमोहन अधिकारीको निधनको समाचार प्रमुख हेडलाइन बनेका छन् । त्यसबाहेक अन्य फरक समाचारलाई पनि पत्रिकाहरुले महत्वका पहिलो पृष्ठमा स्थान दिएका छन् ।

गोरखापत्र दैनिकमा रक्सौल-काठमाडौं रेल सञ्चालनका लागि दुई वटा मार्ग प्रस्ताव गरिएको समाचार छ । तर, कुन-कुन मार्ग हुन् भन्ने कुरा गोरखापत्रले खुलाएको छैन । समाचारमा यतिमात्र लेखिएको छ, ‘अध्ययनअनुसार एउटा मार्ग छोटो छ भने अर्को माग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ ।’

भारतको कोकर्ण रेलवे कर्पोरेसनले रक्सौल-काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेर दुईवटा विकल्प पेश गरेको हो । छोटो दुरीको रेलमार्ग निर्माण चुनौतीपूर्ण छ । छोटो दुरीमा उकालो र ओरालो बढी हुनसक्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ । छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ । र त्यो अलि जोखिम पनि हुन सक्ने छ । त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने रेल विमागका महानिर्देशक बलराम मिश्रले गोरखापत्रसँग भनेका छन् ।

नेपालको कृषिक्षेत्र बहुराष्ट्रिय कम्पनीको हातमा !

कारोबार दैनिकले समग्र कृषि क्षेत्रलाई बहुराष्ट्रिय कम्पनीको हातमा सुम्पिने विधेयक सरकारले संसदमा पेश गरेको समाचार साथ छापेको छ । समाचारमा लेखिएअनुसार ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ जस्ताको तस्तै पास भएमा आयातित कृषि उपजमात्र नभई सिधै बहुराष्ट्रिय कम्पनीले कच्चा पदार्थ नै ल्याएर यहीँ उत्पादन गर्न पाउने छन् ।

कारोबारले चितवनको शक्तिखोरमा बनाउने भनिएको औद्योगिक क्षेत्रको योजना अलपत्र परेको विषयलाई मुख्य समाचार बनाएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको क्षेत्रलाई तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले २०७३ फागुन ३ गते औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । कालिका नगरपालिकाका वडा नं. ३, ७ र ८ का १ हजार ७ सय ४१ बिघा जमिन ओगट्ने औद्योगिक क्षेत्रको लागत २५ अर्ब छ ।

वन मिचेर ढुंगाखानी

कान्तिपुर दैनिकले ‘वन मिचेर ढुंगाखानी’ शीर्षकमा मुख्य समाचार छापेको छ । यो समाचार धादिङको धुनिबेसी नगरपालिकाको हो । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जअन्तर्गतको वन क्षेत्र मिचेर धुनिबेसी नगरपालिका-१ छत्रेदेउरालीमा वर्षौंदेखि कानुनविपरित रोडाढुंगा र चुनढुंगा खानी सञ्चालन भइरहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार वन क्षेत्र मिचेर सञ्चालन भइरहेका खानी बन्द गर्न निकुञ्जले निर्देशन दिए पनि अटेर गरिएको छ ।

सिंहदरबारभित्रै नियमविपरीत ठेक्का !

‘अलबिदा अधिकारी’ शीर्षकमा नेता भरतमोहन अधिकारीको निधनको समाचारलाई मुख्य प्राथमिकताका साथ छापेको नागरिक दैनिकले सिंहदरबारभित्रै सरकारले नियमविपरीत ठेक्का दिन लागेको विषयको खुलासा गरेको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बनाउन लागेको ‘वार रुम’मा राख्ने भिडियो ‘कन्फरेन्सिङ सिस्टम’ खरिदका लागि नियमविपरित ठेक्का दिने तयारी गरेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, ‘खरिदका लागि प्रस्ताव पेस गर्ने कम्पनीले राखेका कागजातमाथि छानबिन तथा मूल्यांकन नगरी शास्त्र नेटवर्क सोलुसन इन्क प्रालिलाई ठेक्का दिने तयारी भएको छ । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गल अली र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कम्प्युटर इन्जिनियर हरिप्रसाद पोख्रेलको मिलेमतोमा शास्त्रलाई सिस्टम खरिदको जिम्मा दिने तयारी गरिएको स्रोतले बतायो ।’

सत्तापक्ष र प्रतिपक्षबीच राष्ट्रिय स्वार्थमा विमती

अन्नपूर्ण पोष्ट दैनिकले सत्ता पक्ष र प्रतिपक्षबीच स्वार्थ मिलेका र नमिलेका विषय खोतलेको छ । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच राष्ट्रिय स्वार्थमा विमती रहे पनि दलीय स्वार्थका विषयमा भने विमती नदेखिएको समाचारमा उल्लेख छ ।

सत्तापक्ष र प्रतिपक्षबीच वाइडबडी घोटाला प्रकरण, अख्तियार आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो, द्वन्द्वकालीन मुद्दा, मौलिक हकसम्बन्धी कानुन निर्माण र राजदूतको फिर्ता र थमौतीका विषयमा स्वार्थ मिलेको छ । यसैगरी संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष बिना निर्णय, विदेश नीतिमा मतभिन्नता, भेनेजुएला प्रकरण र निर्मला हत्या प्रकरणमा टकराव रहेको समाचारको सार छ ।

अन्नपूर्णले नेताहरुको गुटबन्दीका कारण प्रमुख प्रतिपक्षी कांग्रेसले छाया सरकार गठन गर्न नसकेको विषयलाई पनि उठाएको छ ।

राजधानी दैनिकले गण्डकी मेडिकल कलेजले अनियमित रुपमा १ अर्ब बढी असुली गरेको र नयाँपत्रिका दैनिकले धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधिले एक दिनको १५ हजार रुपैयाँ भत्ता लिएको समाचार छापेका छन् ।

हेर्नुहोस् आजका पत्रिकाका फ्रन्टपेज

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment