१८ ढाका, बंगलादेश । साफ च्याम्पियनसिप फुटबल २०१८ को पहिलो खेलमा नेपालले पाकिस्तानसँग केहीबेरपछि प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तानसँग खेल्ने नेपालको प्लेयिङ इलाभेनमा पहिलो पटक राष्ट्रय टिममा परेका सुमन अर्यालले डेब्यु गर्दैछन् ।
नेपालको प्लेयिङ इलाभेन
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – आदित्य चौधरी, सुमन अर्याल, विराज महर्जन, अनन्त तामाङ
मिडफिल्डर – हेमन्त थापा मगर, रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ
फरवार्ड – भरत खवास र नवयुग श्रेष्ठ
ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा साफ च्याम्पियनसिपको पहिलो खेलको रुपमा नेपाल र पाकिस्तान भिड्न लागेका हुन् । अहिले नेपाल र पाकिस्तान दुबै टिम मैदानमा अभ्यास गरिरहेका छन् ।
नेपाल पाकिस्तानलाई पराजित गर्दै आफ्नो सुखद सुरुवात गर्ने लक्ष्यमा छ । तर, पाकिस्तानलाई पराजित गर्न त्यति सजिलो भने छैन । हालै मात्र इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुद प्रतियोगिताको यू-२३ फुटबलमा नेपाल पाकिस्तानसँगै २-१ गोलअन्तरले पराजित भएको थियो ।
लामो समय फिफाको प्रतिबन्धमा परेको पाकिस्तान त्यसपछिको पहिलो र ठूलो प्रतियोगिता खेल्दैछ ।
पाकिस्तान र नेपाल अहिलेसम्म १५ पटक भेट भएका छन् । नेपालले ५ खेलमा जितेको छ भने ५ खेलमा बराबरी र ५ खेलमा हार ब्यहोरेको छ ।
नेपालले पहिलो खेल सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग १-० गोलको पराजय भोगेको थियो ।
नेपालले पछिल्लो पटक सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले १-१ गोलको बराबरी खेलमा खेल टुंग्याएको थियो । १-० गोलले पछि परेको नेपालका लागि अन्तिम समयमा विमल घर्तिमगरले गोल गर्दै बराबरी दिलाएका थिए ।
समूह ‘ए’ मा नेपालसँगै आयोजक राष्ट्र बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स छन् । समूह ‘ए’ कै अर्को खेलमा आयोजक राष्ट्र बंगलादेशले भुटानको सामना गर्दैछ । बंगलादेश र भुटानबीचको खेल स्थानीय समयअनुसार राति ७ बजे सुरु हुनेछ ।
प्रतिक्रिया 4