Comments Add Comment

एसिया कप छनोटमा किन दयनीय बन्यो नेपाल ?

१९ भदौ, काठमाडौं । एकदिवसीय मान्यता पाएको नेपाललाई एसिया कप छनोटको उपाधि दावेदार मानिएको थियो । तर, अनपेक्षित रुपमा कमजोर सावित भयो ।

पाँचमध्ये दुई खेल सिंगापुर र मलेसियाविरुद्ध मात्र जित्यो । सुरुवाती दुई खेलमा यूएई र ओमानसँग हारेको नेपालले अन्तिम खेलमा हङकङलाई पनि जित्न सकेन ।

जितेका खेलमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शनलाई लिएर समर्थनहरुले प्रश्न गरेका छन्-यो नेपाली टिम नै हो ?

एउटा प्रतियोगितामा गरेको प्रदर्शनलाई लिएर नेपाल टिमको मूल्यांकन गर्ने बेला भएको छैन । तर, मलेसियामा भएको प्रदर्शनले यसरी नै एक दिवसीय यात्रा सम्भव छ भन्ने प्रश्न भने उठाएको छ । यसमा बहस गर्नु उपयुक्त पनि देखिन्छ ।

पूर्वक्रिकेटर एवं प्रशिक्षक राजु बस्नेत यसलाई स्वीकार गर्छन् । ‘यसपटक त हामीले असाध्यै खराब क्रिकेट खेलेका छौं । यो हाम्रो स्तर होइन’ बस्नेेत प्रश्न गर्छन्, ‘एकदिवसीय खेलिसकेको देशले यस्तो क्रिकेट खेलेर होला त ?’

मलेसियामा जानुअघि नेपालले छनोट प्रतियोगिता जित्ने र एसिया कपमा पुगेर भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । प्रशिक्षक जगत टमाटाले विश्वस्त हुँदै भनेका थिए, ‘राम्रो क्रिकेट खेल्छौं । हामी एसिया कपमा पुग्ने छौं ।’

टमाटाले टिमको हौसला बढाउन र सकारात्मक हुन मात्रै त्यसो भनेका थिएनन् । नेपाल टिमले पछिल्लो समय पाएका उपलब्धीले यो दावी स्वभाविक नै थियो ।

तर, पहिलो खेलमा ओमनसँग ७ विकेटले हार्‍यो । प्रशिक्षक टमाटाले पिचको अवस्थाअनुसार आफूहरुले टस हारेर पहिले ब्याटिङ गर्नु हारको कारण भएको बताए ।

पूरै ५० ओभर ब्याटिङ गरेर ९ विकेट जाँदा नेपालले २ सय २१ रन बनाएको थियो । ओमनले तीन विकेट मात्रै जाँदा ४८ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

दोस्रोमा युएईसँग एकदिवसीय मान्यता हुने खेलमा नेपालले चाहेको जस्तै टस जितेर फिल्डिङ रोज्न पाएको थियो । ५० ओभरमा ९ विकेट गुमाएर युएईले २ सय ५४ रन बनायो । सम्हालिएर खेल्नुपर्ने खेलमा नेपालले ४९ ओभरसम्म ब्याटिङ गरे पनि रन भने बन्न सकेन । ४९ औं ओभरको अन्तिम बलमा सन्दिप लामिछाने बोल्ड आउट हुनुअघि नेपालले १ सय ७६ रन मात्रै बनाउन सक्यो ।

तेस्रो खेलमा मलेसियासँग १९ रनको जित निकाल्दा नेपालको ब्याटिङमा केही आश बढेको थियो । वषर्ाले प्रभावित भएर ३० ओभरमा झारिएको खेलमा नेपालले ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । मलेसियासँगको खेलको शैली हेर्दा नेपाली ब्याट्सम्यान सीमित ओभरको क्रिकेटमा रमाइरहेको भान हुन्थ्यो ।

चौथो खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै १ सय ५१ रन मात्रै बनाउन सक्यो । नेपालले १ सय ५२ रनको लक्ष्य ६ विकेट जाँदा २९ औं ओभरमा पूरा गर्‍यो ।

पाँचौ तथा अन्तिम खेलमा नेपाली ब्याटिङको दयनीय स्थिति छताछुल्ल भयो । हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाल ३७.५ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो । हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर खेल जित्यो ।

समग्रमा नेपाली बलिङले यसअघिका प्रदर्शन नजिक देखिन्छ । तर, ब्याटिङमा निकै समस्या देखिएको छ । विशेष त टप अर्डरका ब्याट्सम्यान चल्न सकेनन् ।

प्रशिक्षकसमेत रहेका बस्नेत छोटो समयको तयारीले पनि नेपालको प्रदर्शनमा असर पुगेको बताउँछन् । ‘हप्ता दिनका लागि ब्याटिङ प्रशिक्षक ल्याइन्छ । वर्षभरी हुनुपर्ने अभ्यासमा ध्यान पुगेको छैन । एकदिवसीयका लागि यसरी अगाडि बढेर हुँदैन’ उनले भने, ‘टप अर्डरमा ब्याटिङको जिम्मेवारीमा रहेका खेलाडी किन कमजोर भए त्यसबारे खोजी गरेर अघि बढ्न ढिला गर्नु हुँदैन ।’

पूर्वक्रिकेटर दीपेन्द्र चौधरी पनि टपअर्डर ब्याट्सम्यान चल्न नसक्दा टिमको प्रदर्शन कमजोर भएको बताउँछन् । ‘हाम्रो अगाडिका ब्याट्सम्यान नै चल्न सकेनन् । पहिले पारस खड्काकै ब्याटिङमा नै धेरै खेल निर्भर हुन्थ्यो । यसपटक त उनले पनि राम्रो गर्न सकेनन्’ उनले भने, ‘हामीले अभ्यास पनि राम्ररी गरेनौं कि ? श्रीलंकामा गरिएको अभ्यास खेलमा मात्रै धेरै फोकस भयौं कि ?’

गत डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट रेलिगेसनमा परेर डिभिजन २ मा झरेको नेपालले नामिबियामा आयोजित डिभिजन २ मा चमत्कारिक प्रदर्शन गरेको थियो । विश्वकप छनोटमा स्थान बनाउन क्यानडालाई हराउँदा बलर करण केसीले सन्दीप लामिछानेसँग मिलेर जिताएका थिए ।

जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा समूह चरणका तीन खेल हारेर पनि नेपालले ठूलो उपलब्धी हात पार्‍यो । समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपालले प्लेअफमा पपुवा न्यूगिनीमाथि जित हात पार्दै एकदिवसीय मान्यता पाएको थियो । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा पाएको उपलब्धीको श्रेय खेलाडी र प्रशिक्षकले नै पाए ।

तर, एसिया कप छनोटमा नेपालको प्रदर्शनले क्रिकेट समर्थहरुलाई फेरि निराश बनाएको छ । ‘राम्रो हुँदा जस लिन अघि सर्नेहरु नराम्रो हुँदाको अपजस लिन पनि आउनुपर्छ । के कुरामा कमजोरी भएको हो, हामी किन यति कमजोर भएका हौं, उनीहरुले जवाफ दिनुपर्छ’ पूर्वखेलाडी बस्नेतले भनेका छन् ।

ब्याटिङमा देखिएको कमजोरीले एसिया कप छनोटकै लागि भनेर ल्याइएका भारतीय ब्याटिङ प्रशिक्षक अपूर्व सुबोधभाइ देसाईको काम पनि उल्लेखनीय नभएको देखिन्छ । छोटो समयमा नयाँ कुरा सिकाउने भन्दा पनि हौसला बढाउने काम मात्रै भयो ।

छनोटको पहिलो दुई खेलमा ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले नेपालको ओपनिङ गरेका थिए । ज्ञानेन्द्रले ४५ रन बनाए भने सुवासले ४ रन मात्र जोड्न सकेन ।

दोस्रो खेलमा युएईविरुद्ध ज्ञानेन्द्रले ४ बलमा ४ रन बनाए भने सुवासले ९७ बलमा ५० रन बनाए । तेस्रो खेलपछि भने प्रशिक्षक टमाटाले ओपनिङमा ज्ञानेन्द्रको स्थानमा अनिल साहलाई ल्याए । तर, ब्याटिङमा अपेक्षाकृत सुधार भएन ।

पाँच खेलमा सुवासले ७७ रन, ज्ञानेन्द्रले १०१ रन बनाए । अनिलले तीन खेलमा ७४ रन बनाए । ब्याटिङमा धेरै निर्भर हुने कप्तान पारस खड्काले पाँच खेलमा ६२ रन बनाए ।

पहिलो खेलमा ८४ बलमा ८३ रन बनाएका सागर पुन पनि त्यसपछिका खेलमा चल्न सकेनन् ।

मध्यक्रममा केही राम्रो देखिएका दीपेन्द्र सिंह ऐरीले पाँच खेलमा १६२ रन बनाउँदा आरिफ शेखले १२५ रन जोडे । पहिलो दुई खेलमा अवसर पाएका युवा क्रिकेटर रोहितकुमार पौडेल चल्न सकेनन् र पछिल्ला खेलहरुमा उनलाई खेलाइन ।

समग्रमा नेपालले पूरा ५० ओभर खेलेको खेलमा पनि रन बन्न नसक्नु र ब्याट्सम्यानहरु लामो साझेदारी बनाएर अगाडि बढ्न नसक्नु टिमको ठूलो कमजोरी देखियो ।

यसैले अब सानो तयारीले एकदिवसीय मान्यताका लागि नपुग्ने देखिएको छ । ‘पाँच दिनमा त के नै काम हुन्छ र ? औषधी खुवाएर पिलाउने त होइन नि । यसैले लामो समयका लागि कसरी प्रशिक्षण दिने भन्ने सोच्नुपर्छ’ बस्नेतले भने ।

ब्याटिङ सुधारका लागि नेपाली प्रशिक्षकलाई नै काम दिने, विदेशी प्रशिक्षकलाई लामो समयका लागि ल्याउने वा नेपाली प्रशिक्षकलाई बाहिर प्रशिक्षणका लागि पठाएर सुधार गर्न सकिने विकल्प उनीहरुले सुझाएका छन् । ‘नामको आधारमा मात्रै टिम चलेर त कति दिन हुन्छ र ? खेलमा नै विशेष ध्यान हुनुपर्छ’ बस्नेतले भने, ‘पेपरमा हेर्दा त हरेक खेलाडी राम्रो देखिन्छन् तर, खेल भने राम्रो हुन सकेको छैन । सन्दीप लामिछानेबाहेक सबै ब्याटिङ गर्न सक्ने खेलाडी हुँदा पनि ब्याटिङ कमजोर हुनु आचश्र्यजनक छ ।’

पूर्वक्रिकेटर एवं प्रशिक्षक चौधरी अबका दिनमा आफूमा भन्दा धेरै विपक्षीमा ध्यान दिनुपर्ने बताउँछन् । अरु टिमको बलियो पक्ष र कमजोर पक्ष हेरेर अगाडि नबढ्दा नै छनोट प्रतियोगितामा कमजोर बन्नुपरेको उनको भनाइ छ ।

‘मैले इपीएलका लागि कुराकानी गरिरहँदा युएई र ओमनका साथीहरुले विपक्षी टिमको फुटेजहरु हेरेर काम गरिरहेको बताएका थिए । नेपालको पनि हरेक खेलाडीको बलियो र कमजोर पक्ष उनीहरुले हेरेका थिए । हामी पनि त्यसरी नै तयारी नगरी हुँदैन’ चौधरीले भने, ‘यसपटक हामीले किन खेल्न सकेनौं भन्ने त प्रशिक्षक टमाटा र कप्तान पारस फर्किएपछि नै बुझिएला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment