+
+

अग्रिम टिकट बुकिङमा अन्योल, गाडी भाडा बढाउने योजना

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २० गते २:००

१९ भदौ, काठमाडौं । यो वर्ष पनि दशैंको अग्रीम टिकट बुकिङमा अन्योल उत्पन्न भएको छ । सरकारसँग व्यवसायीले दशैंअघि नै भाडा समायोजन गर्न र कम्पनीमा गएपछि आउने विभिन्न नीतिगत अप्ठेराहरु सम्बोधन गर्न माग गरेका छन् ।

त्यसो नभए दशैंमा गाडी चलाउन अप्ठेरो पर्ने जानकारी व्यवसायीले सरकारलाई दिएका छन् । हाल सबै यातायात समितिहरु कम्पनीमा गईनसकेका कारण सरकारले उनीहरुसँग नै सहयोग माग्नुपर्ने अवस्था छ ।

गत वर्षहरुमा व्यवसायीले विभिन्न माग राख्दै बुकिङ अन्योलमा अन्योल सिर्जना गर्थे । यसवर्ष सरकारले यातायात समितिहरुको नवीरकण त रोकेको छ, तर पुससम्म व्यवसायीहरुलाई कम्पनीमा जान समय दिइएको छ ।

अघिल्लो वर्ष पनि व्यवसायीले दशैंअघि भाडा समायोजन गर्नुपर्ने मुद्दा उठाउँदा सरकारले चाडपर्वपछि छलफल गर्ने भनेको थियो । तर, पछि सम्वाद भएन । बरु विभागले सिन्डिकेट तोड्ने गरी विभिन्न नीति ल्यायो । यसैकारण व्यवायीलाई समिति छाडेर कम्पनीमा नै जानैपर्ने भएको छ ।

अहिले व्यवसायीले सवारी दुर्घटनामा घाइतेहरुको उपचार खर्च, क्षतिपूर्ति लगायतका मुद्दा बीमामार्फत सम्बोधन नभएसम्म बुकिङ खोल्न नसकिने बताएका छन् । यस्तै तेल भाउ लगातार बढिरहँदा पनि भाडा समायोजन नभएकाले वैज्ञानिक तवरबाट भाडा वृद्धि गर्न उनीहरुको माग छ । यसो नभएमा दशैंमा गाडी जोखिम मोलेर घाटामा सवारी चलाउन नसकिने तर्क उनीहरुको छ ।

सरकारले व्यवसायीलाई दशैंभन्दा एक महिनाअघि बाटै लामो दूरीमा जाने यात्रुको लागि बुकिङ खोल्न प्रस्ताव गरेको थियो । तर, व्यवसायीले यसलाई स्वीकार गरिसकेका छैनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारको अदूरदर्शी नीति र हेलचेक्र्याइँका कारण यातायात क्षेत्रमा अन्योल उत्पन्न भएको बताए ।

‘सवारी दुर्घटना हुँदा समितिहरुले ६० लाखसम्म उपचार खर्च बेहोरेका थिए । अब कम्पनीमा गएपछि के हुन्छ ?,’ सिटौलाले प्रश्न गरे,’दशैंमा व्यवसायीले दुर्घटनाको जोखिम कसरी बहन गर्ने ? यसबारे हाम्रो चासो छ ।’

उनले सिीडकेट अन्त्य गरेको सरकारले यातायात व्यवस्थापनका लागि सिन्को नभाँच्दा समस्या बढेको बताए । आफूहरुले अग्रीम बुकिङका लागि कुनै अवरोध सिर्जाना नगर्ने दावी गर्दै सिटौलाले अब यातायात क्षेत्रको समस्या कसरी समाधान गर्ने हो भन्ने सरकारले नै सोच्नुपर्ने बताए ।

‘यो क्षेत्रका समस्याहरु हामीले जानकारी गरएका छौं । सरकारले पनि देखेको छ । त्यसको समाधान नगरेसम्म अघिला वर्षहरुजसरी दशैंमा सेवा दिन गाह्रो हुन्छ,’ उनले भने,’अघिल्ला वर्षमा एकतर्फी सेवा दिँदा व्यवसायीलाई घाटा भएका अवस्थामा समितिहरुले तेल हालेर गाडी चलाउँथे । यो वर्ष के हुन्छ भनेर सरकारलाई सोधेका छौं ।’

अहिले यातायात समितिहरुको बैंक खाता रोक्का छ । व्यवसायीले आफ्ना तमाम समस्या समाधान नगरेसम्म बुकिङ खोल्न अप्ठेरो रहेको बताएका छन् ।

यातायात व्यवस्था विभागमा महानिर्देशक लावण्य ढकाल व्यवसायीले दशैंअघि भाडा वृद्धिको माग राखेको स्वीकार्छन् । उनले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकोले व्यवसायीको मर्कालाई ध्यानमा राखेर छलफल गरिने बताए ।

‘उहाँहरुले तेलको भाउ, पार्टपुर्जाको, कर्मचारीको तलब, सञ्चालन खर्च सबैमा ठूलो वृद्धि भएकाले त्यसअनुसार भाडा समायोजना गर्नुपर्छ भन्नु भएको छ,’ उनले भने,’यसमा छलफल हुन्छ । सबै व्यवसायीले दशैंको अग्रीम बुकिङमा सघाउँछन् ।’

यसका लागि बुधबार व्यवसायीसँग विभागले छलफल गर्दैछ । महानिर्देशक ढकालले सबै समस्यालाई समाधान गरेर दशैंमा सहजसँग यात्रुलाई घर पुग्ने वातावरण तयार गरिने बताए ।

यदि व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार भए दशैंअघि नै गाडी भाडा बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?