Comments Add Comment

जन्मन नपाएकी छोरीको पत्र

मेरी प्यारी आमा ! अनगिन्ती ताराहरूबीचबाट तपाईलाई नियालिरहँदा मन अत्यन्तै हषिर्त हुन्छ । हरेक पल यहाँबाट पृथ्वीतिर नियाल्दै गर्दा हिमाल र पहाडभन्दा अगाडि, मन्दिर, मस्जिद र चर्चभन्दा पनि अगाडि मेरा कलिला आँखाहरू तपाईंलाई नै खोजिरहेका हुन्छन् ।

आमा ! तपाईका औंला समात्दै हिँडेको, बिरामी हुँदा तपाईँको काखमा सुतेको, स्कूलमा नृत्य प्रतियोगितामा प्रथम हुँदा होस् वा परीक्षामा राम्रो अंक ल्याउँदा पिठ्युँमा धाप मारेको काल्पनिक दृश्य मेरा अगाडि चलचित्र झैं घुम्छन् । दशैंमा टीका र जमराका साथमा आशीर्वाद दिनुभएको देख्छु ।

आमा ! शुक्रबारको साँझ सिनेमा हलमा तपाईँ र बुबा हात समाउँदै उफ्रदै गएको र जन्मदिनमा केक काटी उपहार दिएको सपना देख्दा निकै खुशी लाग्छ । दिदीलाई बस स्टपबाट र्फकँदा राम्रोसँग ल्याउनु है भनेजस्तो कानमा गुञ्जिन्छ ।

आमा ! तपाईँकै मार्गदर्शनमा आफू डाक्टर बनेको अनि तपाईँहरू बुढाबुढी भएपछि सेवा गरेको भान हुन्छ । मेरो विवाहमा नाचेको अनि केही वर्षपछि नातिनीको स्याहार गरेको दृश्य पनि उत्तिकै मीठो लाग्छ । म पनि त शायद मदर टेरेसा, फ्लोरेन्स नाईटङ्गेल, पासाङ ल्हामु शेर्पा वा टेरेशा मे, एञ्जेला मार्केल वा हिलारी क्लिन्टन हुन सक्थें होला नि ! आमा, यी सबै कुरा सत्य भए कत्ति रमाइलो हुन्थ्यो होला । आमा, म साँच्चै नै यी कुराहरू सत्य भएको हेर्न चाहन्थें ।

तर, आँखाका परेला झिमिक्क गर्दा यी सबै कुरा मसँग छैनन् भन्ने थाहा पाउँछु । अनि मेरा आँखाबाट आँशुको बाढी गालासम्म निरन्तर झरिरहन्छ । म केही देख्न सक्दिनँ र सबै छेकिन्छ आमा !

आमा, के म त्यति नराम्री थिएँ ? के म त्यति खराब थिएँ ? म तपाईँको गर्भमा हुँदा मलाई महसुस गर्नुभएन ? मैले तपाईँबाट चुँडाउन लाग्दा बिन्तिभाउ गरेकी थिएँ । रोएकी थिएँ । कराएकी थिएँ । केही सुन्नुभएन ? तपाईँबाट छुट्टयाउन लाग्दा मेरी छोरीले पनि यो संसार हेर्न चाहन्छे भनेर भन्नुभएन ?

आमा, तपाईँले उनीहरूलाई भन्न सक्नुभएन कि म पनि आफ्नो भाइसरहकै एक विद्वान नागरिक बनेर यो देशमा बाँच्न चाहन्छु र देशका लागि योगदान गर्न चाहन्छु । भाइले तपाईँको सेवा नगर्दा र आफू त्यहाँ नहुँदा ठूलो पीडा हुन्छ । आमा, मलाई थाहा छ, त्यतिबेला तपाईँ निरीह हुनुहुन्थ्यो । म त्यतिबेला बलियो भएर सबैलाई सम्झाउन सक्ने भएर यो सुन्दर संसारमा मौलाउन चाहन्थें ।

आमा, यो पढेर सायद तपाईँ रोइरहनुभएको होला । के गर्ने, अब सत्यलाई परिवर्तन गर्न त सकिँदैन । तर, म र मजस्तै छोरीलाई तपाईँ र अन्य आमाहरुबाट चुँडाउने आमाहरू, बुवाहरू, हजुरआमाहरू, हजुरबुवाहरू, सासू-ससुरा, परिवारका अन्य सदस्य र साथीहरूलाई छोरीहरू पनि जन्मन चाहन्छन् र उनीहरूलाई खुशीसाथ यस संसारमा स्वागत गर्नु हामी सबैको कर्तव्य हो, उनीहरूलाई भन्दिनुहोस् न आमा ।

छोरा मात्रै जन्माएर कसरी वंशवृद्धि गर्ने ? छोरीको उपस्थितिबिना कसरी परिवार पूर्ण हुन सक्ला र ? धेरै ढीला हुनु अगाडि नै यो कुरा भन्नुस् न आमा ! आँसु पुछ्नुस् आमा ! मैले अर्को जन्ममा पनि तिम्रै छोरी भएर जन्मन भगवानसँग प्राथना गरिसकेकी छु । त्यतिबेलासम्मका लागि विदा पाउँ ।
झण्डै बिर्सेको आमा ! तीजको शुभकामना र धेरैधेरै माया !

उही हजुरकी जन्मन नपाएकी छोरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment