Comments Add Comment

शाहिन अफ्रिदीको तेजिलो उदय

२१ भदौ, काठमाडौं । एकदिवसीयमा डेब्यू नगरे पनि पाकिस्तान क्रिकेटलाई नजिकबाट हेर्नेहरु शाहिन शाह अफ्रिदीलाई चिनिसकेका छन् ।

युएईमा हुने एसिया कपका लागि पाकिस्तानको १६ जनाको टोलीमा परेपछि शाहिनबारे फेरि खोजी हुन थालेको छ ।

न्यू जिल्याण्डमा यसै वर्ष भएको आईसीसी यू-१९ विश्वकपमा पाँच खेलमा १२ विकेट लिएपछि १८ वर्षका शाहिन विशेष चम्कन थालेका थिए ।

६ फिट ५ इन्च अग्ला शाहिनलाई तीव्र गतिको बलिङका लागि उचाइले पनि साथ दिएको छ ।

शाहिनका दाइ रियाजले पनि २००४ मा आईसीसी यू-१९ विश्वकप खेलेका थिए । पछि उनले पाकिस्तानबाट एक टेस्ट क्रिकेट पनि खेले । त्यही नै राष्ट्रिय टिमबाट उनको अन्तिम खेल बन्यो ।

‘रियाज टेस्ट क्रिकेटर हुन् । मैले उनलाई नै हेरेर फास्ट बलिङ सिकेको हो’ शाहिनले आईसीसीसँग भनेका छन्, ‘उहाँले जहिले टिमले तिम्रा लागि बनाएको योजनामा काम गर भनेर सिकाउनु हुन्छ । मनमा नकरात्मक कुरा आउन नदेउ, सकरात्मक सोच राखेर अगाडि बढ भन्नुहुन्छ । दाइ नै मेरो पहिलो कोच हो ।’

शाहिनको जन्म पाकिस्तान र अफगानिस्तानको सीमा नजिकैको खबेर भन्ने ठाउँमा भएको हो । फस्ट क्लास क्रिकेटमा उनले गत सेप्टेम्बरमा डेब्यू गरेका थिए । त्यसबेला क्वायद ए आजाम ट्रफीको खेलमा उनले ३९ रन दिएर लिएको ८ विकेट पाकिस्तानको फस्ट क्लास क्रिकेटको बलिङ कीर्तिमान नै हो ।

शाहिनले यही वर्ष तीन टी-ट्वान्टी अन्तर्राष्ट्रिय पनि खेले । पाकिस्तान सुपर लिगमा लाहोर क्वाल्नडर्सबाट शाहिद अफ्रिदीसँग खेलेका उनले त्यसबेला नै आफ्नो खेल अझै सुधारे । ‘शाहिद अफ्रिदीको नाम पाकिस्तानमा मात्रै नभएर विश्वभर प्रतिष्ठित छ । पहिलो ६ बलमा उनले रन बनाए पनि मैले त्यसपछि आउट पारेको थिएँ । त्यसले खुसी मिल्यो । पाकिस्तान सुपर लिगपछि मेरा लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल कठिन हुन्छ जस्तो लाग्दैन’ शाहिनले भने ।

मानिसहरुले उनलाई भेटेपछि सोध्ने पहिलो प्रश्न नै साहिद अफ्रिदी तिम्रो को पर्छ भन्ने नै हुन्छ । पारिवारिक रुपमा कुनै सम्बन्ध नभएपनि यसले उनलाई अफ्रिदीसँग विशेेष नजिक बनाएको छ ।

नयाँ बलसँग उनले गर्ने इनस्विङले पनि एसिया कपमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । साथै फास्ट बलरमा हुनुपर्ने फिटनेस र उचाइ पनि छ ।

उनलाई यू-१६ टिममा ल्याएका मुस्ताक अहमद पनि उनी बलिङ स्तर राम्रो भएको बताउँछन् । साथै ब्याटिङमा भएको ज्ञान र लामो सट हान्न सक्ने क्षमताले पनि उनको महत्व बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment