+
+

स्टन्टमा होइन, काममा विश्वास छः वर्षा शिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते २०:११

अहिलेकी शालिन नायिका वर्षा शिवाकोटी सानी छँदा नक्कली थिइन् । मम्मीको लिपिस्टिक ओठमा घसेर ऐना हेर्दै नाच्थिन् । उनको पारा देख्नेले भन्थे ठुली भएपछि हिरोइन बन्छे । बर्षाको परिवारमा फिल्म लाइनसँग जोडिएका कोही पनि थिएनन् । तर, ‘ठुली भएपछि हिरोइन बन्ने’ सपना उनले पाल्न थालिन् ।

उनी विद्यालयका सांस्कृतिक कार्यक्रमहरुमा नृत्य गर्थिन् । कलेज पढ्दा पनि यो सिलसिला चल्यो । कलेजको एउटा कार्यक्रममा उनले गरेको नृत्यबाट प्रभावित भएर प्रतिभा श्रेष्ठ भन्ने साथीले उनलाई विकास आचार्यकहाँ पु¥याइन् । जतिबेला आचार्य ‘नाई नभन्नु ल २’ का लागि एउटा ‘क्युट फेस’ खोजिरहेका थिए ।

विकासले उनलाई सानो रोलमा ब्रेक दिए । त्यसपछि उनले ‘पशुपति प्रसाद’ मा सानो तर महत्वपूर्ण भूमिका पाइन् । ‘लाटी केटी’ को यो भूमिकामा उनले प्राण भर्न उनी सफल भइन् । यही भूमिकाले उनलाई चिनायो । त्यसपछि उनलाई नायिकामा अफर आउन थाले ।

पाँच वर्षको करिअरमा अवधिमा उनले सात चलचित्रमा अभिनय गरेकी छन् । अन्य समकालिन नायिकाको तुलनामा यो थोरै हो । तर, उनलाई संख्या मात्र बढाउनु छैन । वर्षाले बीबीए पास गरेकी छन् । उनलाई अझै पढ्ने चाहना छ तर, करिअरका कारणले पढाई रोकिएको छ ।

‘एमबीए गर्ने योजना अझै छ,’ उनले भनिन् । तर जति पढे पनि उनलाई कलाकारिताबाट भने बाहिर निस्किनु छैन । यसैमा रमाएकी छन् । पहिले नेपाली समाजमा कलाकारहरुलाई राम्रो दृष्टिकोणले नहेरिने भए पनि अहिले यो हेराई बदलिदै गएको उनको अनुभव छ ।

‘मलाई हिरोइन भएर गलत गरिस भनेर कसैले भनेका छैनन्,’ उनले भनिन्, ‘आज जे छु, त्यसमा गर्व गर्छु ।’ कलाकारितामा लागेर पाएको नाम र दाम दुवैप्रति उनलाई सन्तोष छ । आखिर उनलाई कलाकारिताले नै स्कुटरबाट कारमा पु¥याएको छ ।

तर, वर्षमा एउटा चलचित्र मात्र गरेर उनले कसरी आफ्नो लाइफस्टाइल मेन्टेन गरिरहेकी छन् ? ‘चलचित्रबाट मात्रै धान्न गाह्रो हुन्छ, म म्युजिक भिडियोहरुमा पनि व्यस्त भएकाले त्यताबाट सपोर्ट भएको छ,’ उनले भनिन् ।
वर्षाले अहिलेसम्म सयभन्दा बढि म्युजिक भिडियोहरुमा काम गरिसकेकी छन् । म्युजिक भिडियो आफूले छानेर मात्रै खेल्ने गरेको उनी बताउँछिन् ।

‘जस्तोपायो त्यस्तो भिडियो गर्दिनँ,’ उनले भनिन्, ‘गीत–संगीत, गायक–गायिका चित्त बुझेपछि मात्रै गर्छु ।’ वर्षाको भनाई पत्याउने हो भने उनी अहिलेसम्म प्रेममा परेकी छैनन् । परिहाल्नु पनि छैन । ‘म पूर्णरुपमा काममा फोकस छु,’ उनले भनिन्, ‘दायाँ बायाँ मेरो ध्यान छैन ।’

वर्षालाई प्रेम प्रस्तावहरु बग्रेल्ति आउँछन् । विशेषगरी सामाजिक सञ्जालमा । पहिले त कसैले प्रेम प्रस्ताव राख्दा पनि मनमा काउँकुति लागे झैं हुन्थ्यो । तर, अहिले नर्मल लाग्छ । पहिले सामाजिक सञ्जालमा कसैले ‘आई लभ यू’ लेखेर पठायो भने उनी ‘थ्यांक यू’ लेख्थिन् । आजकाल यो पनि लेख्दिनन् । लेखेर साध्ये भए पो ।

फ्यानहरुले उनको रुपको खुब प्रशंसा गर्छन् । खासगरी मुस्कानको । कतिपयले चाहिँ दुब्लाउन सुझाव दिने गर्छन् । उनी धेरै मोटी त होइनन, तर हाइट अली कम भएकाले मोटी देखिन्छिन् । वर्षा केही समयदेखि आफ्नो ज्यान घटाउन पनि लागिपरेकी छन् । ‘गोपी’ बाट हात झिकेपछि अर्को फिल्मको सुटिङ नहुँदासम्म उनलाई केही समय फुर्सद छ ।

‘यो खाली समय आफ्नो फिटनेसमा फोकस हुन्छु,’ उनले भनिन् । केही महिनादेखि जिम गर्न थालेकी वर्षाले आफ्नो तौल ५–६ केजी घटिसकेको बताइन् । उनलाई अझै ५–६ केजी घटाउनु छ । पुक्क परेका गाला स्याप्प पार्नु छ ।
साथी भएनन् कोही

सानो भए पनि नेपाली चलचित्र क्षेत्रभित्र थुप्रै गुटहरु छन् । नायिका वर्षा शिवाकोटीलाई भने यस्ता गुटहरुसित वितृष्णा छ । यतिसम्म कि उनी फिल्म इन्डष्ट्रीभित्र आफ्नो मिल्ने साथी नै कोही नभएको बताउँछिन् । ‘म कुनै गुटभित्र छैन,’ उनले भनिन्, ‘त्यसैले हरेक पटक नयाँ–नयाँ टिमसँग काम गर्न पाइरहेकी छु ।’

आफू अली रिजर्भ स्वभावको भएकाले गर्दा इन्डष्ट्रीभित्र कसैसँग पनि राम्ररी घुलमिल हुन नसकेको वर्षाको भनाई छ । यही स्वभावका कारण उनलाई कतिले घमण्डी पनि ठान्छन् । ‘तर, म घमन्डी चाहिँ पटक्कै छैन,’ उनले भनिन्, ‘चलचित्रको सुटिङ गर्दा सहकलाकार भन्दा पनि मेकअप आर्टिस्टसँग म नजिक हुन्छु ।’ फिल्म सुटिङका क्रममा कायम हुने सम्वन्ध दिगो नरहने उनी बताउँछिन् ।

निर्देशक मिलन चाम्ससँग पछिल्लो समय उनी केही निकट छिन् । यो निकटतालाई कतिपयले ‘अफेयर’ को संज्ञा पनि दिने गर्छन् । यसलाई वर्षाले यसलाई खारेज गरिसकेकी छन् । चाम्सको चलचित्र ‘वीर विक्रम २’ मा अनुवन्धित भएपछि कामकै सिलसिलामा भेट हुने गरेको उनी बताउँछिन् । यद्यपि, यो चलचित्रको सुटिङ भने सुरु भएको छैन ।

किन छोड्छिन् फिल्म ?
साइन गरिसकेको चलचित्र छोड्नमा कहलिएकी छिन् वर्षा । उनी ‘मेरो पैसा खोई’, ‘रानीमहल’, ‘गोपी’ जस्ता चलचित्रहरुबाट ब्याक भएकी थिइन् । यी चलचित्र छोडेकोमा उनलाई कुनै पछुतो छैन । साइन गरिसकेका चलचित्र छोड्नुपरेको विषयमा उनको आफ्नै तर्क छ, ‘निर्माता–निर्देशकले पहिले वान लाइनर सुनाउँदा आफ्नो भूमिका बलियो हुन्छ । त्यसैका आधारमा चलचित्र साइन गर्छु । तर, पछि स्क्रिप्टमा तोडमोड गरेर आफ्नो भूमिका केही न कामको बनाइएको पाउँदा चित्त दुख्छ । त्यसैले केही फिल्म छोड्न वाध्य भएकी हुँ ।’

आफू राम्रो ब्यानरबाट अफर आउनासाथ जस्तोसुकै भूमिका गर्न तयार नहुने उनी बताउँछिन् । राम्रो कथावस्तु र आफ्नो बलियो भूमिका भएमा ब्यानर नहेर्ने उनको भनाई छ ।
‘त्यस्तो अवस्थामा पारिश्रमिकलाई पनि प्रायोरिटीमा राख्दिनँ,’ उनले भनिन् ।

वर्षाको ड्रिम रोल के हो ?
‘ठ्याक्कै यही भन्ने छैन, तर म हरेक चलचित्रमा केही फरक गर्न चाहन्छु,’ उनले भनिन्, ‘अहिले मलाई बायोपिकमा काम गर्ने रहर छ ।’ बायोपिकमा काम गर्ने रहर भए पनि कसको बायोपिकमा भन्ने चाहिँ उनले सोचिसकेकी छैनन् ।
आफूले अभिनय गरेको फिल्ममध्ये उनलाई सबैभन्दा चित्तबुझ्दो लागेको ‘कारखाना’ हो । तर, यो चलचित्र व्यवसायिक रुपमा सफल भएन । आफूले आशा गरेको चलचित्र हेर्न दर्शकहरु हलसम्म नआउँदा उनलाई कस्तो लाग्छ ?
‘पक्कै पनि आफूले मिहिनेत गरेर काम गरेपछि दर्शकले हेरिदिनउन् भन्ने त लागिहाल्छ, तर फिल्म सफल–असफल हुनुमा एउटी नायिकाको ठूलो हात हुँदैन,’ उनी भन्छिन् ।

कारखाना हेर्न दर्शकहरु हलसम्म नआएपछि यो फिल्म यूट्यूवमा रिलिज भएपछि उनले राम्रो रेस्पोन्स पाइरहेकी छन् । नेपाली फिल्मका दर्शकहरुलाई यूट्यूवबाट झिकेर हलसम्म डो¥याउने चुनौति फिल्मकर्मीहरुमा रहेको उनी बताउँछिन् ।

स्टन्टसँग अरुची
मिडियामा वर्षाको बारेमा निके गसिपहरु बन्छन् । पहिले पहिले उनलाई यस्ता गसिपले परेशान पनि गर्थे । उनी यूट्यूवमा आएका नकारात्मक प्रतिक्रियाहरुले चिन्तित बन्थिन र जवाफ लेखेर बस्थिन् । तर, अहिले उनी बानी परिसकिन् । गसिप र ट्रोलहरुमा अल्झेर बस्दिनन् ।

यहाँ धेरै नायिकाहरु यस्ता छन् जो विवादमा आउँदा रमाउँछन् । गुमनाम हुनुभन्दा बदनाम हुन तयारहरु धेरै छन् । तर, वर्षा विवादबाट टाढा रहन रुचाउँछिन् । उनी आफ्नो व्यक्तिगत जीवनका कारण नभएर कामका कारण चर्चामा आउन चाहन्छिन् ।

‘मेरो भन्दा मेरो कामको चर्चा होस भन्ने लाग्छ,’ वर्षा भन्छिन्, ‘मलाई स्टन्ट गरेर ह्वात्तै चर्चामा आउनु छैन ।’ सामाजिक सञ्जालमा पनि वर्षा त्यति धेरै समय बिताउँदिनन् । फिल्म रिलिजको बेला प्रमोसनका लागि सामाजिक सञ्जालको प्रयोग गर्छिन् । उनी खासगरी इन्स्टाग्राम चलाउँछिन् ।

मोरङमा स्थाई घर भएकी वर्षा अहिले आफ्नो आमा, दाई भाउजुसँग सितापाइलामा बस्छिन् । उनका पिता भने बितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?