Comments Add Comment

ढाकामा चम्किएका किरणलाई उपाधिको तिर्खा

२६ भदौ, ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीमध्ये एक हुन् गोलकिपर किरण चेम्जोङ । नेपाललाई सेमिफाइनलमा पुर्‍याउन उनको भूमिका अहम् देखिएको छ ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले समूह चरणमा खेलेको तीनै खेलमा उनले केही उत्कृष्ट बचाउ गरे । पछिल्ला दुई खेलमा उनले कुनै गोल खाएका छैनन् । दोस्रो खेलमा भुटानविरुद्ध विराज महर्जनलाई बेन्चमा राखिँदा किरणले पहिलोपटक नेपालको कप्तानीसमेत सम्हाल्ने मौका पाए ।

नेपालले ४-० को जित निकालेको उक्त खेलपछि किरणले भने ‘राष्ट्रिय टिमको नेतृत्व गर्दै जित हात पार्दा एकदमै खुशी लाग्यो ।’

त्यसो त, पाकिस्तानसँग पराजित भएपछि नेपालले धेरै कुरा सुधार गरेको र उपाधि रक्षा गर्न अझै धेरै गर्नुपर्ने किरणको तर्क छ ।

गोलकिपर किरणको पनि ठूलो सपना छ, साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने । नेपाल उपाधिबाट केबल दुई कदम मात्र पछि छ । तर, यी दुई म्याच फलामका च्यूराभन्दा कम छैनन् ।

‘ब्याड लक नै भन्नुपर्छ पाकिस्तानसँग हाम्रो सानो गल्तीको कारण हार्न पुग्यौ । दोस्रो र तेस्रो खेलमा लगातार जित हात पार्दै यहाँसम्म आइपुगेका छौं । हामीले सुधार गर्नुपर्ने पक्ष धेरै छ ।’

उपाधिको सपना

लामो समयदेखि नेपालका फर्स्ट च्वाइस गोलकिपरका रुपमा रहेका छन् किरण । अन्तर्राष्ट्रिय खेलमा लगातार तीन वटा पेनाल्टी रोक्ने पहिलो नेपाली गोलकिपरको रेकर्ड उनको नाममा छ ।

युवा टिमले भरिएको नेपाली फुटबल टिममा किरण अनुभवी खेलाडी हुन् । विकेश कुथु र एलन न्यौपानेलाई कुनै अवसर नदिई टिममा निरन्तर परिरहेका २८ वर्षीय किरणको प्रदर्शन निरन्तर निखारिदो छ ।

नेपाली फुटबल विशेष गरी दक्षिण एसियामै केन्द्रित छ । नेपालको लागि साफ च्याम्पियनसिप फुटबल विश्वकपभन्दा कम छैन । अहिलेसम्म एकपटक पनि फाइनल यात्रा पार गर्न नसकेको नेपाल यो पटक भने इतिहास रच्ने दाउमा छ ।

गोलकिपर किरणको पनि ठूलो सपना छ, साफ च्याम्पियनसिप फुटबलको उपाधि उचाल्ने । नेपाल उपाधिबाट केबल दुई कदम मात्र पछि छ । तर, यी दुई म्याच फलामका च्यूराभन्दा कम छैनन् ।

किरण भन्छन् ‘यो पटक हाम्रो टिमको लय एकदमै राम्रो छ । राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं ।’

अथक प्रयास

विश्वमै सफल धेरै खेलाडीको आर्थिक पृष्ठभूमि नाजुक रहेको पाइन्छ । नेपाली खेलाडी पनि प्रायः निम्नवर्गीय परिबारबाटै आएका छन् ।

पूर्वी नेपालको धनकुटा जिल्लामा पर्ने ‘राजारानी’ मा जन्मेका किरण पनि सामान्य परिवारका हुन् । गाउँको दुःख कष्टलाई झेल्दै हुर्किएका हुन् ।
उनी बाल्यकाललाई सम्झिँदै भन्छन्, ‘सानो छँदा निकै दुःख थियो । जेनतेन फुटबल खेलियो । देशको जर्सी लगाएर राष्ट्रलाई चिनाउँछु भन्ने मेरो सानैदेखिको सपना थियो ।’

स्कुलमा पढ्दा जुत्ता हुँदैनथ्यो उनको । कति समय त खाली खुट्टा नै खेल्ने गर्थे । यद्यपि, उनलाई आमाले आमाले निकै सपोर्ट गरिन् । ‘कहिले पनि पढाई बिग्रिन्छ, नखेल भन्नुभएन’, किरण सम्झिन्छन् ।

‘एक दिन राष्ट्रिय टिमबाट नम्बर वान खेलाडी भएर खेल्छु भन्ने लक्ष्य थियो । मैले कहिले पनि हार मानिनँ । निरन्तर मेनहत गरिरहेँ ।’

सन् २००८ एएफसी च्यालेन्ज कप छनोटमा नेपालको सिनियर राष्ट्रिय टिमबाट उनले डेब्यू गरे । तर, पहिलो गाँसमै ढुंगा पर्‍यो । खेलका दौरान गम्भिर चोट लाग्यो र उनी रेस्टमा बस्न बाध्य भए । त्यतिबेला कमैले सोचेका थिए की किरण नेपाली टिममा फेरी फर्किने छन् । तर लामो समयपछि टिममा फर्किदै उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

त्यो क्षण सम्झिदै किरण भन्छन्, ‘एक दिन राष्ट्रिय टिमबाट नम्बर वान खेलाडी भएर खेल्छु भन्ने लक्ष्य थियो । मैले कहिले पनि हार मानिनँ । निरन्तर मेनहत गरिरहेँ ।’

सिनियर टिममा डेब्यु गर्दा उनले विकास मल्ल, रितेश थापा जस्ता अनुभवी गोलकिपरसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । १९ वर्षमै नेपालको गोलपोष्ट सम्हालेका किरणले नेपालको सबै उमेर समूहबाट फुटबल खेलेका छन् ।

विदेशमा पनि सफल

नेपालका नम्बर वान गोलकिपर किरणले विदेशी क्लबबाट खेल्दै आफूलाई थप निखारिरहेका छन् । सँगसँगै आफ्नो देशलाई पनि चिनाउने काम गरेका छन् ।

किरणले गत वर्ष माल्दिभ्सको चर्चित टिसी स्पोर्टस् क्लबबाट व्यवसायिक फुटबल खेले । किरण आबद्ध भएपछि यो क्लबले ऐतिहासिक उपाधि उचालेको छ । गत वर्ष बंगलादेशमा सम्पन्न दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको उपाधि यसले उचालेको थियो ।

त्यसो त किरणले भारतको चर्चित घरेलु लिग पनि खेल्ने अवसर पाइसकेका छन् । भारतको आई-लिगमा उनले मिनर्वा पञ्जाबबाट व्यवसायिक फुटबल खेलेका हुन् । किरण अनुबन्धित हुदै खेलेकै वर्ष मिनर्वा पञ्जाबले आई-लिग को उपाधि उचालेको थियो ।

नेपालमा किरणले मच्छिन्द्र फुटबल क्लबबाट व्यवसायिक फुटबल करिअर सुरु गरेका थिए । मच्छिन्द्रपछि निकै लामो समय उनले थ्रीस्टारमा बिताए ।

२००९ देखि २०१६ सम्म करिब ७ वर्ष थ्रीस्टारबाट फुटबल खेलेका किरणले सन् २०१६ देखि मनाङ मर्स्याङ्दीमा अनुबन्धित भएर खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment