+

भुर्तेल र सम्राको आक्रामक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

२०८३ कात्तिक  २९ गते १८:४० २०८३ कात्तिक २९ गते १८:४०

एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध कीर्तिमानी २२५ रन बनाएको छ ।

कीर्तिपुरस्थित टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो । एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बनेको छ । यसअघि कर्णाली याक्सविरुद्ध पोखराले २१७ रन बनाएको थियो ।

पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट १ रनले मात्र चुके । उनले सर्वाधिक ९९ रन बनाए । ५१ बल खेलेका भुर्तेलले ८ चौका र ८ छक्का प्रहार गरे । ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्का मदतमा ८९ रन बनाए । कप्तान चमिका करुणारत्नेले ७ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित १९ रन जोडे । धनन्जय लक्षण २ रनमा अविजित रहे ।

ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि कुशल भुर्तेल क्रिजमा पुगेका थिए । त्यसपछि ओपनर सम्रा र भुर्तेलले आक्रमक ब्याटिङ गर्दै पोखराको स्कोर २०० कटाएका हुन् ।

कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलको कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । एनपीएलमा यो अहिलेसम्मको ठूलो साझेदारी हो ।

यसअघि २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

काठमान्डुका कप्तान करण केसीले १९औं ओभरमा कुशल र युवराज दुवैलाई आउट गरेका थिए । कप्तान करणले २ तथा जहानदाद खानले १ विकेट लिए ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय