News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजविरुद्ध २२४ रन बनाएर एनपीएल इतिहासकै उच्च योगफलको कीर्तिमान कायम गरेको छ ।
- युवराज सिंह सम्रा र कुशल भुर्तेलले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गर्दै एनपीएलको उच्च साझेदारी कायम गरेका छन् ।
- कुशल भुर्तेल ९९ रनमा आउट भएर एनपीएलमा नेपाली खेलाडीको उच्च व्यक्तिगत स्कोर बनाएका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो इनिङ्समै चार नयाँ कीर्तिमान बनाएको छ ।
ओपनर युवराज सिंह सम्रा र मार्की प्लेअर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै काठमान्डुविरुद्ध २२४ रनको स्कोर बनाउँदा पोखरा कीर्तिमानको पनि वर्षा गरेको हो ।
पोखराका कुशल भुर्तेल एनपीएलमा शतक बनाउनबाट निकै नजिक पुगेर चुक्दा ९९ रनमा आउट भए । यस्तै सम्राले ८९ रन बनाए ।
पोखराले ठूलो स्कोर बनाउँदा एनपीएलमा नयाँ कीर्तिमानहरू कायम भएका छन् ।
१. एनपीएलकै उच्च योगफल
पोखराले काठमान्डुविरुद्ध बनाएको २२४ रन एनपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध नै २२० रन बनाएको थियो ।
एक वर्षपछि पोखराले राजधानीको टिम विरुद्ध २२४ रन बनाउँदै त्यो कीर्तिमान तोडेको हो ।
२. एनपीएलको उच्च साझेदारी
पोखराका युवराज सिंह सम्रा र कुशल भुर्तेलले काठमान्डु विरुद्ध एनपीएलको कीर्तिमानी साझेदारी पनि गरे । पोरखाको स्कोर १७ रन हादा अर्जुन कुमाल आउट भए ।
त्यसपछि क्रिजमा आएका भुर्तेल र ओपनर युवराज सम्राले आक्रमक ब्याटिङ गरे । यो जोडीले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे ।
यसअघि पनि एनपीएलमा उच्च साझेदारी पोखराकै खेलाडीको नाममा थियो ।
पोखराका आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो संस्करणमा १७६ रनको साझेदारी गरेका थिए । त्यसेबला खरेल र गौसले पहिलो विकेटका लागि त्यो साझेदारी गरेका थिए ।
एनपीएलमा तीन ठूला साझेदारी पनि पोखराकै नाममा छ । यसै सिजन सम्रा र भुर्तेलले कर्णाली याक्स विरुद्ध दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरेका थिए ।
३. एनपीएलमा तीन पटक २०० रन प्रहार गर्ने पहिलो टिम
एनपीएलमा पछिल्ला केही दिन टीयू मैदानको पिचमा रन बन्न कठिन भइरहेको थियो । तर सम्रा र भुर्तेलले काठमान्डु विरुद्ध गरेको ब्याटिङ हेर्दा निकै सजिलो देखियो । यो जोडीकै आक्रमक ब्याटिङमा पोखराले कीर्तिमानी स्कोर खडा गर्यो ।
पोखरा एनपीएलमा २०० रनको स्कोर धेरै बनाउने टिममा पर्छ । एनपीएलमा तीन पटक २०० वा त्यो भन्दा माथिको स्कोर बनाउने पनि पोखरा नै पहिलो टिम बन्यो ।
पोखराले दोस्रो संस्करणमा कर्णालीविरुद्ध २०१/२ रन बनाएको थियो । यस्तै तेस्रो संस्करणमा पनि कर्णाली विरुद्ध २१७/३ रन बनाएको पोखराले आज काठमान्डुविरुद्ध २२४/३ रन बनाएको हो ।
४.एनपीएलमा नेपाली खेलाडीको उच्च स्कोर
काठमान्डुविरुद्ध पोखराले ठूलो स्कोरको कीर्तिमान बनाउँदा कुशल भुर्तेलले पनि व्यक्तिगत उच्च स्कोर बनाउने कीर्तिमान बनाए ।
हुन त कुशल एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न निकै नजिक पुगेका थिए । तर ९९ रनमै आउट भए । उनले बनाएको उक्त स्कोर एनपीएलमा कुनै पनि नेपाली खेलाडीले बनाएको ठूलो स्कोर हो ।
यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पोखरा विरुद्ध नै ९५ रन बनाएका थिए । उनले ५९ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरेका थिए ।
५. बाउन्ड्रीबाट सर्वाधिक रन
पोखराले काठमान्डुविरुद्ध बाउन्ड्रीबाट सर्वाधिक रन जोड्ने कीर्तिमान पनि बनायो । पोखराले काठमान्डुविरुद्ध कुल १५ छक्का र १८ चौका प्रहार गरेका थिए । छक्काबाट ९० रन जोडेको पोखराले चौका बाट ७२ रन जोड्दै बाउन्ड्रीबाट कूल १६२ रन जोडेको हो ।
यसअघि यसै सिजन कर्णालीविरुद्ध २१७ रन बनाउँदा पोखराले बाउन्ड्रीबाट १४८ रन जोडेको थियो । त्यस खेलमा पोखराले १६ छक्काबाट ९६ र १३ चौका ५२ रन जोडेको थियो ।
प्रतिक्रिया 4