Comments Add Comment

स्पेनिस फुटबलको नयाँ युगमा एनरिक र निग्वेजको उडान

२९ भदौ, काठमाडौं । विश्वकपको अपत्यारिलो हारपछि स्पेन राष्ट्रिय टिममा नयाँ युगको प्रभावकारी सुरुवात भएको छ । त्यसमा प्रशिक्षक लुइस एनरिकसँगै उचाइ लिने उडानमा छन्, मिडफिल्डर साउल निग्वेज ।

रुसमा प्रिक्वार्टरफाइनलबाट आउट भएको स्पेनले नेसन्स कपमा ईंग्ल्यान्डलाई वेम्बलीमा हरायो भने विश्वकपको उपविजेता क्रोयसियालाई ६-० को पराकिलो हार चखाउँदै लज्जित तुल्यायो । बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकको प्रशिक्षणमा खेलेका पहिलो दुई खेलमै टिमले सफलता पाएको छ ।

जसमा प्रशिक्षक एनरिकसँगै नयाँ उचाइमा देखिँदैछन् मिडफिल्डर निग्वेज । स्पेनिस फुटबलका विज्ञ गुइलेम बालागुले बीबीसीसँग कुरा गर्दै स्पेनले युरोपकै उत्कृष्ट मिडफिल्डर हुन सक्ने खेलाडीलाई बल्ल राम्रो सदुपयोग गरेको बताएका छन् । पहिले स्पेनिस टिममा आन्द्रेस इनिस्टाले जसरी खेल मिलाउने भूमिका निभाएका थिए, अहिले निग्वेज त्यही शैलीमा छन् ।

एथ्लेटिको मड्रिडका मिडफिल्डर निग्वेजले नेसन्स कपको दुवै खेलका गोल हानेका थिए । आन्द्रेस इनिस्टा र डेभिड सिल्भाले सन्यास लिएका कारण उनलाई मिडिफिल्डमा उत्रिने मौका मिलेको थियो । २३ वर्षका यी खेलाडी विश्वकपको टिममा भए पनि मैदानमा उत्रिने मौका पाएका थिएनन् ।

बालागुले निग्वेजसित एउटा मिडफिल्डरमा हुनुपर्ने सबै कुरा भएको र उनले सिमोनको एग्रेसिभ प्रेसिङ स्टाइलमा खेल्न सक्ने प्रतिक्रिया दिए । ‘हामीसँग यो स्तरको मिडफिल्डर यसअघि थिएनन्,’ बालागुले भने, ‘बल्ल मानिसहरुले निग्वेजभित्रको प्रतिभालाई चिन्न थालेका छन् ।’

‘१८ वर्षको उमेरमा उनी एभर्टन जान खोजेका थिए, तर हुँदैन भनियो । १० वर्षको उमरमा म्यानचेस्टर युनाइटेड जान खोज्दा पनि मौका पाएनन् । मलाई लाग्छ अबको दुई वर्षपछि विश्व फुटबल जगतले उनको खेल कौशलको चर्चा गरिरहेको हुनेछ ।’

विपक्षीलाई तुरुन्तै दवावमा पारेर खेल्न सक्ने खुबी भएकाले उनी विशेष रहेको बालागु बताउँछन् । ‘आफ्नो नियन्त्रणमा बल नभएको बेला पनि उनको भूमिका राम्रो देखिन्छ । उनी बल हुँदा बार्सिलोनाको स्टाइलमा पनि खेल्न सक्छन् । छिटो छिटो पास खेल्न सक्छन् ।’

एनरिकले के चमत्कार गरे ?

एनरिकले टिम सम्हालेपछि पूर्ण स्वतन्त्र पनि होइन, पूर्ण बन्धन पनि होइन भन्ने स्थितिमा टिम देखिएको छ । स्पेन फुटबलको शैली फर्काएर फेरि उचाइमा पुर्‍याउन एनरिकले आफ्नो शैलीसँगै खेलाडीको अवस्था विचार गरिरहेका छन् ।

६ खेलाडी- डेभिड डे गा, नाचो, सर्जिओ रामोस, सर्जिओ बुस्केट्स, इस्को र एसेन्सिओले रसिया विश्वकप र एनरिकको पहिलो खेल दुवैमा खेलेका थिए ।

प्रशिक्षकमा एनरिकको नियुक्तिले स्पेन सन् २०१० मा विश्वकप जिताउने तथा २००८ र २०१२ मा यूरो कप जिताउने पासिङ शैलीलाई छोड्न चाहेको भनेर विश्लेषण गरिएको थियो ।

तर बालागुले प्रारम्भिक दुई खेलमा एनरिकले पुरानै पासिङ शैलीलाई निरन्तरता दिएको बताए । ‘उनीहरु यसपाली बढी सटिक देखिए, तर पासको संख्या रसिया विश्वकपको जस्तै थियो,’ उनले भने ।

उनले क्रोयसियाविरुद्धको अन्तिम आधा घन्टा मैदानमा बार्सिलोनाका कुनै खेलाडीहरु नरहनु रोचक भएको टिप्पणी गरे । ‘दशकमै पहिलोचोटि होला, स्पेनिस टिममा बार्सिलोनाको अहम् भूमिका देखिएन,’ उनले भने, ‘हरेक कुरा बार्सिलोनाकै पेरिफेरिमा घुमेको थियो । अहिले स्वभावमा बार्सिलोना नै भए पनि एउटा क्लबमात्रै होइन धेरै क्लबको मिश्रण खेलमा पनि देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment