२९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो दुई महिनामा मोटरसाइकल चोरी बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउन र भदौ महिनामा मात्रै २५६ वटा मोटरसाइकल हराएका छन् ।
जसमध्येे ६० वटा मोटरसाइकल भेटिएको महाशाखाले जानकारी दिएको छ । भेटिएका मध्ये ३६ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तकुमार पन्तले जानकारी दिए ।
महाशाखाले शुक्रबार मात्रै १४ वटा चोरीका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारी धनीलाई बुझाएको हो ।
यता हराएका मोटरसाइकल पाएकोमा खुसी व्यक्त गर्दै सवारी धनीहरुले पनि ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन ।
कीर्तिपुरबाट ३ महिनाअघि मोटरसाइकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाइकल भेटाइ दिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिए । उनको मोटरसाइकल ३ महिनाअघि कीर्तिपुरबाट हराएको थियो ।
ललितपुर ग्वार्कोका दीपक खड्काले पनि चोरी भएको २ महिनापछि मोटरसाइकल आफूले पाएकोमा खुसी व्यक्त गरे । उनले खोजी गरेर मोटरसाइकल बुझाएकोमा ट्राफिक प्रहरीको प्रशंशा गरे ।
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी धनीलाई आग्रह गरेको छ ।
सवारी साधनको चोरीको घटना हुन नदिन सवारी धनीहरुलाई महाशाखाका प्रमुख पन्तले आग्रह गरे । उनले चोरसँग ट्रापि|mक प्रहरीले मिलेमतो गरेको पाइए कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।
महाशाखाले चोरीको सवारीसाधन खोजविनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ ।
प्रतिक्रिया 4