Comments Add Comment

कथाः निर्मलालाई सम्झेर छोरी नाचिन  

म सानै छँदा बुवाको मृत्यु भयो । आमा पनि मलाई छाडेर अर्कैसँग बिहे गरेर जानुभयो । म मामाघरमा हुर्कें । घाँस दाउरा लिन वन र बारीहरु जान्थें । घरमा मात्र होइन, मामाघरमा पनि म गरिब परिवारकी सदस्य थिएँ । सदस्य थिएँ पनि के भन्नु ? बाध्यताले म मामाघरमा पालिएकी थिएँ । सौभाग्य नै मान्नुपर्छ, दुखसुखले दई-चार कक्षा पढ्न पाएँ । चिठ्ठीसम्म पढ्न सक्ने भएँ । त्यसपछि पढाइ त्यतिमै टुँगियो ।

सुरु त त्यसअघि नै भएको थियो क्यार ! तर, २०५४ सालतिर मैले माओवादी भन्ने पार्टीले ‘जनयुद्ध’ सुरु गरेकोबारे सुनेंको थिएँ । त्यो तीजको समय थियो । तीजताका गाउँ नाचले नाट्यशाला नै हुन्थ्यो । निकै दिनसम्म नाचहरु चलिरहन्थे । म राम्रो नाच्थें । र, तीजभर मलाई गाउँका दिदीबहिनीले उनीहरुका प्रत्येक समूहमा स्वागत मात्र गर्थेनन्, छमछम नचाउँथे पनि । म पनि नाच्न पाएपछि सबै भुल्थें । आमाबाबु बिनाका दिनहरु बिर्सन्थें । नाट्यश्वरी माताको कृपाले म नाच भनेपछि पागलै थिएँ । त्यही नाच त थियो, जसले मलाई माओवादीको आँखामा पारिदिएको थियो । त्यसरी म माओवादीसँग जोडिएकी थिएँ ।

बडो होशियारीपूर्वक चिठ्ठी ल्याउने पुर्याउने मात्र नभएर नाच्न पनि उत्तिकै सिपालु भएकीले पार्टीको अझ खासगरी हेडक्वाटरको आँखामा परेकी थिएँ । म सानी नानी थिएँ । मलाई सुरुमा साँस्कृतिक समुहमा समावेश गराइयो । केही दिन भिन्न भिन्न गाउँमा गएर जनवादी गीतमा नाचें । नचाएँ ।

‘गाउँ-गाउँबाट उठ ।

बस्ती-बस्तीबाट उठ ।

यो देशको मुले नाचिनहार फेर्नलाई उठ ।’

यी र यस्तै गीतमा नाच्दै केही दिन बिते । जब गाउँ घर फर्कें, म सुरक्षित थिइनँ । सेना र सुराकीले मलाई जति बेला पनि खत्तम गरिदिन सक्थे । गाउँलेहरु मसँग बोल्न डराए । उनीहरुका आँखामा मप्रतिका आशंका थिए । मलाई सबैले अर्कै दृष्टिले हेरे ।

त्यसपछि म त्यो आन्दोलनसँग जोडिएँ मात्र होइन, एकाकार नै भएँ । पाटीले पुर्णकालीन कार्यकर्ता संकलन गर्ने योजना बनाइरहेको थियो । मैले आन्दोलनमा पूर्णकालीन कार्यकर्ताका रुपमा आफ्नो करिअर सुरु गरें । त्यति बेला म १४ बर्षकी किशोरी थिएँ । सुरुका दिनहरु म माओवादी हेड क्वार्टरबाट गाउँगाउँसम्म र गाउँगाउँबाट हेडक्वार्टरसम्म चिठ्ठीहरु पुर्‍याउँथे ।

तिनै चिठ्ठीहरुद्धारा मैले माओवादी विचारधारा बुझे । किनभने, कति यस्ता नेता थिए, जो चिठ्ठीसमेत पढ्न सक्दैन थिए । उनीहरुका लागि म चिठ्ठी पढिदिने साथी भएकी थिएँ । पढ्दापढ्दै म त माओवादी प्रवचक जस्तै भइसकेको मैले थाहै पाइनँ ।

अशोक सिलवाल

दुई बर्षपछि म साँस्कतिक समुहको जिल्ला सदस्य भएँ । त्यसपछि म साँस्कृतिक फाँटको क्षेत्रीय नेतृत्वमा पुगें । त्यो मैले छोटै अवधिमा मैले पाएको मेरो राजनीतिक उचाई थियो । तर, मैले नाच्न छाडिनँ । नाच्दानाच्दै संगठनको एउटा क्रान्तिकारी साथीसँग मेरो जनवादी बिहे भयो । म गर्भवती भएँ । गर्भवती भएको ७ महिनासम्म पनि म नाचिरहेकी थिएँ । पेट निकै ठूलो भएपछि बल्ल नाच्न छाडें ।

मेरो बच्चा भयो । छोरी रहिछ । त्यसपछि तकालका लागि म राजनीतिमा अगाडि जान सकिन । किनकी मेरो कर्तव्य छोरीप्रति थियो । नाबालक छोरी हुर्कांइरहँदा मैले आन्दोलनमा नर्तकी भएर पाएको खुशीलाई मिस गरिनँ । मेरो लागि आन्दोलनभन्दा छोरीको अबोध अनुहार कता हो कता महान थियो । त्यही बीचमा दाहोरो भिडन्तमा परेर बच्चाको बाबुले शहादत प्राप्त गर्‍यो । तर, मैले आफुलाई विधुवा ठानिनँ । किनभने, शहिदहरु कहिल्यै मर्दैनन् । मैले मेरो छोरीलाई पनि टुहुरी ठानिनँ । किनभने, शहिदका बच्चा कहिल्यै टुहुरा हुँदैनन् ।

छोरी अलि ठूली भएपछि म फेरि आन्दोलनमा लागें । मेरो लागि आन्दोलन भनेको नृत्य थियो । विशेषतः हाम्रो नृत्यमा अभिनय हुन्थ्यो । अभिनयमा ट्रेजेडीको कथा । मेरो दाम्पत्य जीवन त्यति लामो समय रहेन तर जति रह्यो प्रेमले भरिएको थियो । अरु नर्तकीलाई गाह्रो थियो किनभने उनीहरुले बनावटी आँशु झार्नुपर्थ्यो । तर, अभिनयवाला नृत्य गर्दाका मेरा आँशु अभिनित थिएनन् । ती साँच्चैका आँशु थिए ।

म त्यस्ता नाटकहरु खेल्थें, जहाँ देशका लागि जीवन बलिदान दिइएका कथा हुन्थे । बिस्तारै मैले बुढी आइमाइको रोल गर्न थालें । महिला मुक्तिका लागि प्रेरणा दिनेखालका रोल गरें । मेरो अभिनयले दर्शकका आँखा रसाउँथे । त्यो किन हुन्थ्यो भने, त्यो वास्तवमा मेरो अभिनय हुन्थेन । त्यो मेरो जीवनको ट्रेजेडी पोख्ने माध्यम थियो ।

हामी कमेडी पनि गर्थ्यौं । हामी काँग्रेस, एमालेलगायतका सत्तासीनलाई व्यंग्य पनि गर्थ्यौं। हामी राजदरबारलाई पनि छाड्थेनौं । हामी निरंकुश राजाका विरुद्ध पनि अभिनय गर्थ्यौं । हामीले भष्ट्राचार र भष्ट्राचारीविरुद्ध पनि अभिनय गर्थ्यौं। हामी आन्दोलन र देशका लागि हाम्रा शाहदत र बलिदानीका कथा भन्ने गर्थ्यौं। हामी के कुरामा विश्वास गर्थ्यौं भने, कलाको अभिव्यक्ति राजनीतिक भाषणभन्दा निकै शक्तिशाली हुन्छ । हामी हाम्रा नृत्य र अभिनयबाट कम्युनिस्ट विचारधाराको गीत गाउँथ्यौं ।

अनेक प्रकारका मानिस जो आर्थिक र राजनीतिक रुपले लीड गर्थे । गाउँका ठूलाबडा हाम्रो तारा थिए । उनीहरु हाम्रो महान अभियानका बाधक थिए । हामी युवालाई आकर्षित गर्ने खालका नृत्य र अभिनय गर्थ्यौं । त्यतिबेला युद्धका लागि हामीलाइै युवा चाहिएको थियो । र, अर्को कुरा हामी हाम्रो कम्युनिस्ट विचारधाराप्रति ती युवालाई आकर्षित गर्न चाहन्थ्यौं । सांस्कृतिक समूह र हतियारसहितका लडाकु आन्दोलनका दुईटा बलिया शक्ति थिए ।

हाम्रा प्रस्तुति हेरेर ठूला भनिएका र शोसक सामन्ती भनिएका बदलिए । त्यसैले त हामीले लोकतन्त्र पायौं । हो, हामीकहाँ अझै भष्टाचार छ । तर, हाम्रो जनयुद्धकालको क्लाइमेक्सताका जनयुद्धकै कारण भष्टाचार घटेको थियो । तर, अहिले त्यो बेलाजस्तो छैन । आर्थिक संकट नै भष्टाचारको प्रमुख कारण हो । त्यसलाई घटाउन सरकारले भूमिका खेल्नुपर्छ । द्वन्द्वको समयमा हामीभित्र भष्ट्राचार गर्ने वातावरण थिएन, जब शान्ति प्रकया सुरु भयो, त्यसपछि केही मान्छे भष्ट्राचारी भएको भनियो ।

युद्धका बेला केही मानिस भ्रस्ट थिए । तर, त्यसबेला तत्काल कारबाही हुन्थ्यो । उनीहरु फेरि अहिले पनि भष्टाचार गरिरहेका छन् । सरकारमा गएपछि नेता, कम्युनिस्ट लिडरहरु स-साना कुरामा पनि विवाद गरिरहेका छन् । त्यसले गर्दा पनि भष्टाचारको लागि ठाउँ बनिरहेको छ । रोचक के भने, जो नेतृत्व गरिरहेका छन् र जो शिक्षित छन्, उनीहरुमध्येबाटै भष्टाचार भइरहेको छ । शिक्षा नभएकाहरु सामान्यतया भष्ट्राचारमा मुछिएका छैनन् ।

आन्दोलन सकियो । एउटा ठूलो एकीकृत कम्युनिस्ट पार्टी बन्यो । उसैको नेतृत्वमा बलियो सरकार छ । मलाई लाग्छ, यो मेरो सरकार हो । तर, मसँग कुनै राजनीतिक जिम्मेवारी छैन । मेरो उमेर पनि ढल्यो । मैले कतै नृत्य गर्नु पनि छैन । मेरी छोरी हुर्की । र, ऊ मजस्तै नाच्न भनेपछि हुरुक्कै हुन्छे । तीजमा गाउँभरि उसको माग भयो । तर, ऊ कतै गइन ।

निर्मला काण्डसँगै निर्मलाकै उमेरकी मेरी छोरी एक तमासकी भएकी छ । उसलाई घरबाट बाहिर जान डर लाग्न थालेको छ रे । यसपालि तीजमा ऊ घरबाट निक्लिन । कतै गएर नाचिन । उसले ननाचेको मलाई निकै ननिको लागेको छ । र, म अतीततिर फर्केर मेरो शहिद पतिलाई सम्झिरहेकी छु ।

छोरीलाई मानिससँग डर लाग्छ रे । पुरुषहरुसँग डर लाग्छ रे । त्यसभन्दा पनि बढी उसलाई पुलिस र सरकारसँग डर लाग्छ रे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment