Comments Add Comment

ठूला ठेकेदारको एकाधिकार तोड्छौं: प्रचण्ड

३० भदौ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला ठेकेदारहरुको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्न पाउने वातावरण बनाउने बताएका छन् । उनले कर्मचारीतन्त्र र निर्माण व्यवसायीबीचको अन्तरविरोध समाधानको पहल गर्ने आश्वासन समेत दिए ।

नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टीको तर्फबाट र सरकारका तर्फबाट पनि कर्मचारी तन्त्रका समस्या, ऐन कानुनका समस्या समाधान गर्नका लागि सकारात्मक ढंगले पहल हुनेछ ।’

यद्यपि यस काममा केही चुनौतिहरु भने रहेको उनले बताए । ऐन कानुनमा गर्नुपर्ने सुधार, कर्मचारीतन्त्र, निर्माण व्यवसायीहरुबीचका अन्तरविरोध तथा दुवैमा पारदर्शिता, स्वच्छता र सुशासन कायम गर्ने कुरा यति बेलाको मुख्य चुनौति बनेको प्रचण्डको भनाइ छ ।

सरकारको समृद्धिको यात्रामा निर्माण व्यवसायीहरुको भूमिका स्वभावैले गुणात्मक ढंगले बढ्न गएको बताउँदै उनले भने, ‘यस क्षेत्रमा विगतको विरासतका रुपमा रहेका थुप्रै समस्याहरु छन् र यो समस्या समाधान गर्न हामीले मिलेर काम गर्नुको कुनै विकल्प छैन ।’

उनले निर्माण व्यवसायीहरुभित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई सुधार्न सुझाव दिए । उनले समयमै गुणस्तरीय काम गर्न नेपाल निर्माण व्यवसायी संगठनलाई निर्देशन पनि दिए ।

‘तपाईंहरुले पनि आफूभित्र रहेका कमजोरी के छन् भनेर गम्भीर आत्मसमिक्षा गर्ने र यो एउटा प्रगतिशीलहरुको, कम्युनिष्ट पार्टीलाई समर्थन गर्ने निर्माण व्यवसायीको मोर्चा हुनुको नाताले निर्माण व्यवसायीमा रहेका विसंगती हटाउने, समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन अग्रणी भूमिका खेल्नुपर्छ,’ प्रचण्डले भने ।

देशभित्रका निर्माण व्यवसायीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण सिर्जना नगरेसम्म विदेशी लगानी पनि भित्राउन नसकिने बताउँदै प्रचण्डले सबैभन्दा पहिले सुरक्षामै ध्यान दिइने बताए ।

‘एउटा कुरा के साँचो हो भने जबसम्म देशभित्र निर्माण व्यवसायीलाई सुरक्षित र स्वच्छ वातावरण दिन सकिँदैन काम गर्नको निम्ति, विदेशी लगानी भित्राउन पनि सकिँदैन र निर्माणको ऐतिहासिक आवश्यकता पूरा गर्न कठिन हुन्छ,’ प्रचण्डले भने ।

ठूला कम्पनीहरुको मात्रै एकाधिकार नरहने व्यवस्था गर्ने बताउँदै उनले ‘सबैभन्दा पहिला देशभित्रकै हाम्रै व्यवसायीलाई सुरक्षित गर्ने र केही ठूला ठेकेदार कम्पनीहरुको मोनोपोली -एकाधिकार) लाई तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्ने’ वातावरण सिर्जना गर्ने आश्वासन दिए ।

उनले भने, ‘खासगरी पुनर्निर्माण प्राधिकरणसँग सम्बन्धित कामको निम्ति निर्माण व्यवसायीले जो अवधि खोज्नु भएको छ, तपाईंहरुका जायज समस्याहरु जे छन् त्यसका बारेमा पक्कै पनि पार्टीले र सरकारले सकारात्मक ढंगले हेर्ने छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment