Comments Add Comment

क्लोप फेरि महाशक्तिलाई हराउन तयार छन् ?

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप क्लबमा आफ्नो तेस्रो वर्ष बिताउँदैछन् । टोटनहृयामसँग गोलरहित बराबरी खेल्दै लिभरपुलमा आफ्नो यात्रा सुरु गरेका उनी पछिल्लो म्याचमा टोटनहृयामसँगै २-१ को जित निकाल्न सफल भए ।

शनिबार जर्जिनियो विज्नालडमले ३९ औं मिनेटमा गोल गरेर अग्रता लिएको लिभरपुलका लागि रोबर्टो फर्मिनोले ५४ औं मिनेटमा देस्रो गोल गरे । टोटनहृयामका लागि इन्जुरी समयमा इरिक लामेलाले एक गोल फर्काए ।

यो सिजनको पहिलो खेलमा लिभरपुलले वेस्टहृयामलाई ४-० ले हराएको थियो । त्यसपछि क्रिष्टल प्यालेसलाई २-०, ब्राइटनलाई १-० र लिसेस्टर सिटीलाई २-१ ले हराएको थियो ।

लगातार पाँच खेल जितेको लिभरपुलको पि्रमियर लिगमा ऐतिहासिक सुरुवात भयो । लिभरपुलले १९९० पछि पहिलो पाँच खेलमा जित निकाल्न सकेको थिएन । लिभरपुलले १९९० पछि प्रिमियर लिग पनि जित्न सकेको छैन । क्लोपको स्वणिर्म यूगमा लिभरपुलले नयाँ इतिहास बनाउला त ?

२०१४ मा पि्रमियर लिग तालिकाको दोस्रोमा रहेको लिभरपुलको पछिल्लो सम्झनलायक प्रदर्शन त्यही नै थियो । क्लोप आएपछि यसपटक सुरुवातकै पाँच खेलमा राम्रो गरेर लिभरपुलले उपाधि आश देखाएको छ ।

१७ अक्टोबर २०१५ मा क्लोपको लिभरपुलले टोटनहृयामको सामना गर्दा लिभरपुलमा अहिले सुरुवाती लाइनमा रहेका जेम्स मिलनर मात्रै थिए । टोटनहृयाममा भने त्यही समयमा अहिलेका ६ खेलाडी टोबी एल्डरवाइरेल्ड, जान भेरटोनगेन, ड्यानी रोज, मोसा डेम्बेले, क्रिष्टियन इरिकसन र हृयारी केन रहेका थिए ।

लिभरपुलमा अहिले सुरुवाती ११ मात्रै होइन, बेञ्च लाइन पनि बलियो देखिन्छ । जोर्डन हेन्डरसन, ड्यानियल स्टुरिड्ज, फाबियानो, जेरदान साकिरी, अल्बर्टो मोरेनो, जोयल माटिप जस्ता खेलाडी क्लोपले मिलाएर प्रयोग गर्न पाइरहेका छन् । यसैले पनि सुरुवाती ११ ले मात्रै होइन बेञ्च लाइन बलियो हुनाले पनि उपाधि दौडमा लिभरपुलले राम्रो दावेदारी प्रस्तुत गरेको हो ।

लिभरपुलमा आएकै बेला क्लोपले ‘अविश्वासलाई विश्वासमा बदल्नु पर्ने’ अभिव्यक्ति दिएका थिए । लाखौं समर्थकलाई उनको यो सन्देशले मात्र शान्त गर्न सक्ने अवस्था थिएन । राम्रो इतिहास भएर पनि पछाडि परिरहेका लिभरपुलका लागि उपाधि जिताएर मात्रै खुसी दिन सकिन्थ्यो ।

त्यो पर्खाइ गएको सिजनको प्रदर्शन र यो सिजनको सुरुवातलाई हेर्दा यसपटक पूरा हुने देखिन्छ । गएको सिजन च्याम्पियन्स लिगमा गरेको प्रदर्शनले पनि लिभरपुलले धेरै पछि आफ्नो साख फर्काएको हो ।

जर्मन क्लब बोरुसिया डर्ममुन्डमा क्लोपले जस्तो सफलता पाएका थिए, लिभरपुलमा पनि त्यही दोहोर्‍याउने चाहनामा छन् । त्यसका लागि कुनै एक खेलाडीभन्दा पूरा एकजुट टिम चाहिने क्लोपको बुझाइ छ । उनले अहिले त्यस्तै टिम पनि पाएका छन् । यसैले नै उनले डिफेन्डर भर्जिल भ्यान जिक र गोलकिपर एलिसनलाई क्लब ल्याएका हुन् । मिडफिल्डमा नेबी केइटाले पनि राम्रो गरिरहेका छन् ।

यो सबैमा क्लोपले क्लबको धेरै रकम खर्च गरेका पनि छैनन् । गएको वर्ष फिलिप कोटिन्होलाई बार्सिलोनामा बेचेपछि आएको १४२ मिलियन पाउण्डले नै लिभरपुलका लागि धेरै कुरामा सहज भइरहेको छ ।

अट्याकमा गत सिजन जस्तै नै रोबर्टो फर्मिनो, सडियो माने र मोहम्मद सलाहले उनले खोजेको जस्तै खेल दिइरहेका छन् । गएको सिजन सलाह आएपछि उनीहरुले १६५ खेलमा ९९ गोल गर्न सफल भए । फर्मिनोले ५९ खेलमा २९ गोल, मानेले ४९ खेलमा २४ गोल र सलाहले ५७ खेलमा ४६ गोल गरेका छन् ।

गएको सिजन विजेता म्यानचेस्टर सिटीलाई दबाव दिएर कमजोर पार्न सक्ने लिभरपुललाई यो सिजन नयाँ ट्रान्सफरले झनै बलियो पारेको छ । प्रिमियर लिग उपाधि जित्नु सहभागी सबै क्लबको सपना भए पनि म्यानचेस्टर सिटी र चेल्सीले जस्तै लिभरपुलले त्यसमा राम्ररी काम गरिरहेको छ ।

पाँच खेल सकिँदा गोल अन्तरका आधारमा चेल्सी पहिलो स्थानमा छ भने लिभरपुल दोस्रो स्थान । एक खेल बराबरी खेलेका कारण म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ ।

‘यसपटक लिभरपुल प्रमुख दाबेदारको रुपमा देखिएको छ । त्यसका लागि क्लबले काम पनि गरिरहेको देखिन्छ’ बीबीसी रेडियो फाइभका कमेन्टेटर क्रिस वाड्लेले भनेका छन्, ‘अहिलेको सुरुवात हेर्दा लिभरपुलको सिजन राम्रो हुने देखिन्छ । उनीहरु च्याम्पियन्स लिगमा पनि बलियो हुने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment