Comments Add Comment

प्रदेश १ सरकारको चेतावनीः कालो दिवस मनाए कारबाही

१ भदौ, विराटनगर । संविधान दिवस (असोज ३) लाई कालो दिवस मनाउनेलाई प्रदेश १ सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

केही दलले संबिधान दिवसलाई कालो दिनका रुपमा मनाउने अभिव्यक्ति दिएका बेला प्रदेश १ सरकारले त्यस्ता दल र व्यक्तिविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएको हो ।

प्रदेश स्तरीय संविधान दिवस मनाउने विषयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले संविधान दिवसका विरुद्ध गरिने कार्यक्रम प्रदेश सरकारका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

‘संविधानको विरोध गर्ने कुनै पक्षलाई छुट संविधानले दिदैन त्यसैले उनीहरुमाथि आवश्य कार्वाही हुनेछ,’ मन्त्री कार्कीले भने, ‘चाहे सिके राउत होस या अन्य ।’

दिवसका लागि मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ जनाको समिति

प्रदेश सरकारले संविधान दिवशको अवसरका तीन दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । त्यसका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

सोही कार्यक्रमका लागि प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समितिसमेत गठन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

असोज २,३ र ४ गते तीन दिन प्रदेश स्तरीय विभिन्न कार्यक्रमको कार्याजना गरी संविधान दिवस मनाउने तयारी प्रदेश सरकारले गरेको हो ।

जसमा अस्थायी राजधानीसमेत रहेको विराटनगर भित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आ-आफनौ कार्यालय र क्षेत्रका विभिन्न स्थानहरुमा राष्ट्रिय झण्डा एव व्यानरसहित नगरको शृंगार र सरसफाइ गर्नेदेखि साँझ दिपावली गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी संविधानका विषयमा केन्दि्रत रहेर विषेश परिसंवाद, संवादलगायतका जनचेतनामूलक कार्यक्रमको मिडियामार्फत प्रचारप्रसार गर्ने, प्रदेश सरकारका प्रमुख, सरकारका मन्त्री, सभामुख, प्रदेश प्रमुख, सरकारका उच्च पदाधिकारीसहितको सहभागीतामा विभिन्न कार्यक्रमको आयोजना गरिने प्रमुख सचिव केदार न्यौपानेले जानकारी दिए ।

उनले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट तथा विद्यार्थीहरुको मार्चपासदेखि विभिन्न जात जातिको भेषभुषा र संस्कृति झल्कने झाँकी प्रर्दशन, सुरक्षा निकायद्वारा रोचक कार्यक्रमहरुको प्रस्तुति, विभिन्न विद्यालयहरुले संविधानको सन्दर्भलाई पारेर हाजिरीजवाफ, बक्तृत्वकला प्रतियोगिता गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

प्रदेश सरकारले पहिलो पल्ट औपचारिक रुपमा आयोजना गर्ने लागेको कार्यक्रममा सहभागी हुन सबै प्रदेशवासीलाई आश्वासनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment