Comments Add Comment

त्रिविको लक्ष्य : २०३० मा विश्वको एक हजार विश्वविद्यालयभित्र पर्ने

१ असोज, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले सन् २०३० सम्ममा विश्वका एक हजार विश्वविद्यालयभित्र पर्ने लक्ष्य राखेको छ ।

विश्वका एक हजार उत्कृष्ट विश्वविद्यालयभित्र पर्न भौतिक संरचना, प्रविधिको विस्तार र प्रयोग, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा सुधार ल्याउने एजेण्डालाई प्राथमिकतामा राखिएको उपकुलपति प्रा. डा.तीर्थराज खनियाले जानकारी दिए ।

‘विद्यमान मानव संशाधन शैक्षिक एवं भौत्तिक स्तर अभिवृद्धिका लागि विकासका लागि त्रिवि भिजन-२०३० तयार गरी रणनीतिक योजना तगार गरिएको छ’, मंगलबार त्रिविसभामा उनले भने, ‘त्रिविले २०२० सम्मका लागि गर्ने कार्य र २०३० सम्ममा गर्ने कार्यलाई छुट्टाछुट्टै वर्गीकरण गरेको छ । र त्यही मार्गदर्शनका आधारमा अघि बढेको छ ।’

कार्यक्रममा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने सन् २०३० सम्ममा विश्वका एक हजार विश्वविद्यालयभित्र त्रिविको लक्ष्यलाई आवधिक लक्ष्यको संज्ञा दिए । ‘आवधिक लक्ष्य हो हो यो एक हजार विश्वविद्यालयभित्र पर्ने भन्ने कुरा’, प्रधानमन्त्री ओली भन्छन्, ‘तिव्र गतिमा हिडौं । तर होस पुर्‍याएर हिडौं ।’

प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको भूमि रहेको र नेपालमा शिक्षा दिने प्रचलन सुरु हुँदा संसारमा त्यस्ता ज्ञान दिने स्थल कहिँ नभएको जिकिर गर्दै त्रिविलाई विश्वकै नम्बर एक विश्वविद्यालय कसरी बनाउने भन्नेतिर ध्यान जानुपर्ने बताए ।

त्रिविका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ज्ञानमा आधारित समाज निमार्णका लागि परम्परागत ढङ्गका गतिविधिमा परिवर्तन आवश्यक रहेको बताए ।

कस्तो जनशक्ति आवश्यक छ त्यस्तै खालको जनशक्ति उत्पादनमा त्रिवि केन्दि्रत हुनुपर्नेमा उनले जोड दिए । ‘हामीसंग सात लाख लाइसेन्स लिएर बसेर शिक्षाशास्त्र संकायमा जनशक्ति छन् । १२ हजार शिक्षक माग्दा दुई लाख भन्दा बढीको निवेदन पर्छ’,मन्त्री पोखरेल भन्छन्, अब पनि हामीले शिक्षाशास्त्र संकायमै जोड दिएर हुँदैन । नर्सिङमा पनि आवश्यक भन्दा बढि जनशक्ति उत्पादन भइसकेका छन् ।’

मन्त्री पोखरेलले राजनीतिक परिवर्तन र स्थाइत्व सबै क्षेत्रमा देखिनुपर्ने र राजनीतिक संक्रमणमा जस्तो जथाभावी र लथालिङ्ग अवस्थामा रहन नहुने बताए । त्रिवि परिवर्तित अवस्था अनुसार अघि जान सक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यो विश्वविद्यालय स्थायीत्व र प्रगतितर्फ जान सकेको छैन । तदर्थतामा छ । हामी परिवर्तित अवस्था सबैतिर देख्न चाहन्छौं ।’

२१ अर्ब १० करोडको बजेट पारित

त्रिवि सभाले आर्थिक वर्ष २०७५/०७६ का लागि २१ अर्व १० करोड ८० लाख १३ हजारको बजेट सिलिङ पारित गरेको छ ।

मंगलबार त्रिवि स्मृति भवन कीर्तिपुरमै बसेको त्रिवि सभाको वैठकले २०७५/०७६ का नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । वजेटले पूर्वाधार निर्माण, सेमेष्टर प्रणालीको सुदृढिकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ ।

अनुसन्धान, प्रावधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनलाई समेत बजेटको मुख्य प्राथमिकतामा राखिएको रजिष्टार डिल्लीराम उप्रेतीले बताए ।

उप्रेतीले सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा सञ्चालन खर्चको हिस्सा ७९.१२ प्रतिशत छ भने, पुँजीगत खर्चको हिस्सा २०.८८ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment