Comments Add Comment

च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड र डर्टमण्ड विजयी

३ असोज, काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । च्याम्पियन्स लिगको समूह ए मा रहेको एट्लेटिको मड्रिडले फ्रान्सको मोनाको क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

मंगबार राति भएको खेलमा मोनाको कै घरेलु मैदानमा एट्लेटिको मड्रिडले रोमाञ्चक जित हात पारेको हो । मोनाकोले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा पाहुना टोली एट्लेटिको मड्रिडसँग पराजित हुन पुग्यो ।

खेलको १८औं मिनेटमा नै मोनाकोका सामुएल ग्रान्डसिरले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३१औं मिनेटमा डिएगो कोष्टाले गोल गर्दै एट्लेटिको मड्रिडलाई बराबरीमा पुर्‍याएका थिए । पहिलो हाफको अन्तिम समयमा एथ्लेटिको मड्रिडका गिमिनेजले गोल गर्दै २-१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २-१ गोललेअघि रहेको एट्लेटिको मड्रिडले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

त्यस्तै, समूह ए अन्तर्गत नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले पनि विजयी सुरुवात गरेको छ । डर्टमण्डले बेल्जियमको क्लब ब्रुग केभीलाई १-० गोलले पराजित गरेको हो । डर्टमण्डको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरेका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह ‘डी’ मा गालातासारेले लोकमोतिभ मस्कोलाई ३-० ले पराजित गर्दा यही समूहको अर्को खेलमा शाल्के र पोर्टोले १-१ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment