Comments Add Comment

सरकारको ध्यान प्राविधिक शिक्षा तर्फ : मन्त्री पोखरेल

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्राविधिक शिक्षालाई विशेष महत्व दिएको बताएका छन् ।

खामतेल विकास मञ्चको दोस्रो अधिवेशनमा सोमबार काठमाडौंमा मन्त्री पोखरेलले खामतेल विकास मञ्चलाई पनि प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् ।  खोटाङको खामतेलसँग आफ्नो विशेष सम्बन्ध रहेको भन्दै त्यस ठाउँको नामबाट सामाजिक संस्था स्थापना गरी समाजसेवा गरीरहेको सुन्न पाउँदा खुसी लागेको बताए ।

खामतेल विकास मञ्च खोटाङ जिल्लाको खाम्तेल भन्ने गाउँमा जन्मेर काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको संस्था हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विशाल भट्टराई शिक्षा, स्वास्थ्य लगायतका सुविधाहरुबाट बञ्चित भएका कारण गाउँबाट बसाइ सरेर शहरतिर जानुपर्ने बाध्यता रहे पनि अब भने त्यस्तो हुन नहुने बताए ।

‘हिजो शिक्षा र स्वास्थ्य जस्ता अतिआवश्यक सुविधा नपाएर बसाइ जानैपर्ने बाध्यता थियो’ सांसद भट्टराईले भने, ‘यस्ता सुविधा अब गाउँगाउँमा पुग्दैछन्, सामान्य सुविधाकै कारण बसाइ सर्ने वातावरणको अन्त्य गरिनुपर्छ ।’

प्रदेश सांसदसहित चार सम्मानित

मञ्चले प्रदेश एकका प्रदेशसभा सदस्य एकराज कार्की, मुख्य न्यायाधीवक्ता चुणामणि आचार्य, नेपाल राष्ट्र बैंकका डा. भागवत आचार्य र खेलाडी दिनेश सुनारलाई सम्मान गरेको छ ।

सांसद कार्की र मुख्य न्यायाधीवक्ता आचार्य खाम्तेलमा जन्मेर मुलुककै उच्च ओहदामा पुगेको भन्दै सम्मान गरिएको हो भने डा. आचार्यलाई खाम्तेलकै पहिलो विद्यावारिधि गर्ने व्यक्ति भएका कारण मञ्चले सम्मान गरेको हो ।

डा. आचार्यले नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । यसैगरी खेलाडी सुनारले खेलकै माध्यमबाट गिनिज बुक वल्र्ड रेकर्डमा नाम लेखाएका कारण सम्मान गरिएको हो ।

नयाँ कार्यसमिति चयन
मञ्चको अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ । अधिवेशनले डा. भागवत आचार्यको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति उपाध्यक्षमा सिता भट्टराई, सचिवमा इन्द्रबहादुर कार्की, कोषाध्यक्षमा खड्गबहादुर कार्की र सदस्यहरुमा हेमराज कार्की, उद्धव कार्की, अनिश कार्की र लक्ष्मीप्रसाद रेग्मी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

मञ्चले थप ३ सदस्य भने मनोनित गर्ने भएको छ । मञ्चले कार्यक्षेत्र बढाउँदै अष्ट्रेलिया बस्ने दिपक कार्कीलाई वैदेशिक विभाग संयोजकको रुपमा चयन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment