Comments Add Comment

चितवनसम्म पेट्रोलियम पाइपलाइन ल्याउन भारत सकारात्मक

१२ असोज, काठमाडौं । नेपालको चितवनसम्मै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माण गर्न भारत सकारात्मक देखिएको छ ।  बुधबारबाट सुरु भएको नेपाल भारत पेट्रोलियम संयुक्त कार्य समूहको बैठकमा नेपालले चितवनसम्मै पेट्रोलियम ग्यास र तेलको पाइपलाइन निर्माणका लागि प्रस्ताव गरेको थियो ।

सोही बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको निमन्त्रणमा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धमेन्द्र प्रधान शुक्रबार काठमाडौं आएका थिए ।  दुई मन्त्रीस्तरीय भेटमा चितवनसम्मै ग्यास र तेलको पाइपलाइन निर्माणका लागि भारत सकारात्मक देखिएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनलाइनखबरलाई जानकारी दिए ।

‘चितवनसम्मै ग्यास र तेलको पाइपलाइन निर्माण गर्न प्रस्ताव गरेका थियौं, त्यसमा उहाँहरु सकारात्मक देखिनुभएको छ । थप छलफल गरेर निष्कर्षमा पुग्छौं,’ उनले भने ।  मोतिहारी–अमेलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तारका साथै मोतिहारी–अमलेखगञ्ज एलपी ग्यास पाइपलाइन निर्माण एवं गोरखपुर देखि सुनौली भैरहवासम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तार तथा सर्लाही, चितवन र धनुषा लगायतका स्थानहरुमा पेट्रोलियम भण्डारण क्षमता बढाउन, रिफ्युलर खरिद तथा भोकेश्नल ट्रेनिङ सेन्टर स्थापना लगायतका विषयमा दुई देशका मन्त्रीबीच छलफल भएको प्रवक्ता ढकालले जानकारी दिए ।

अहिले रक्सौलबाट अमलेखगञ्जसम्म तेलको पाइपलाइन बिछ्याउने काम हुँदैछ । अमलेखगञ्जसम्म पाइपलाइन बनेपछि त्यसलाई चितवनको लोथरसम्म विस्तार गर्न नेपालको प्रस्ताव छ ।  अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रुट सर्वे सकि सकेको छ । अध्ययनले भारतबाट आउने तेलको पाइपलाइन चितवनसम्मै ल्याउन सकिने देखाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)ले यससम्बन्धि अध्ययन गरेका थिए ।

प्रस्ताव अनुसार काम अगाडि बढे अमलेखगञ्जबाट चितवनसम्म ५९ किलोमिटर पाइपलाइन थपिनेछ । हाल भारत मोतीहारीदेखि अमलेखगञ्जसम्म ३७ किलोमिटर पाइप बिछ्याँदैछ । पेट्रोलियम ग्यास पाइपलाइनलाई पनि नेपालसम्म ल्याउन सके ग्यासको ढुवानीमा सहज हुने सरकारको विश्वास छ । भारतले अहिले मुजफ्फरपुरसम्म पेट्रोलियम ग्यासको पाइपलाइन निर्माण गरिरहेको छ ।

त्यहाँ ग्यासको ठूलो भण्डारण केन्द्र पनि बनाइँदैछ । अब यही पाइपलाइनलाई नेपालसम्म ल्याउनेबारे प्रस्ताव गरिएको हो । अब भारतले मुजफ्फरपुरसम्मको पाइपलाइनको काम सकेर नयाँ ग्यास डिपो सञ्चालनमा ल्याउन तयारी गरिरहेको छ ।

यो डिपो सञ्चालनमा आएपछि नेपाल आयल निगमलाई मुजफ्फरपुरबाट चाहिएजति ग्यास दिने गरी भारतसँग नयाँ इन्धन आपूर्ति सम्झौता भइसकेको छ । नेपालले अहिले बिहारको बरौनी, पश्चिम बंगालको हल्दिया, उत्तर प्रदेशको मथुरा, हरियाणाको कर्नाल, उडिसाको पाराधीबाट ग्यासको लोडिङ पाउँछ ।

त्यहाँबाट ग्यास पाइपलाइनले नेपाललाई जोड्न सके ढुवानी खर्च पनि निकै घट्नेछ । र, दीर्घकालीन रुपमा नेपालमा ग्यास आपूर्तिमा सरलता आउनेछ । अहिले भारतबाट ग्यास ओसार्ने बुलेटहरु लोडिङका लागि १ हजार ५ सय किलोमिटर टाढासम्म जानुपर्ने अवस्था छ । यदि मुजफ्फरपुरबाट अमलेखगञ्जसम्म पाइपलाइन बने करिब १६० किलोमिटर लामो हुनेछ ।

अहिले नेपालमा मासिक झण्डै ३० हजार मेट्रिक टन ग्यासको माग छ । झण्डै ५ सय भारतीय बुलेटहरु नेपालका लागि ग्यास बोक्छन् । आजै दुई मन्त्री स्तरीय भेटमा ५३ वटा नेपाली नम्बर प्लेटका बुलेटलाई ग्यास ढुवानीका लागि अनुमति दिन भारत तयार भएको छ ।

बैठकपछि मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment