Comments Add Comment

मुख्यमन्त्रीले नै विराटनगरबाट प्रदेश राजधानी सार्न लागेको आरोप

१६ असोज, विराटनगर । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सार्ने तयारी भइरहेको भन्दै मोरङ जिल्लाका संघीय र प्रदेश सांसदहरुले खबरदारी गरेका छन् ।

मुख्यमन्त्री शेरधन राईले अस्थायी राजधानी विराटनगरबाट सार्न भित्रभित्रै तयारी गरेको संकेत पाएको भन्दै संघीय र प्रदेश सांसदहरुले खवरदारी गरेका हुन ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा आयोजना गरिएको कार्यक्रमा स्थायी राजधानीका लागि आवश्य पूर्वाधारसमेत पर्याप्त रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउन उनीहरुले प्रदेश सरकारकालाई दवाव दिएका छन् ।

पूर्वआपूर्ति मन्त्री एव प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले संघीय फलदायी हुनुपर्ने भन्दै सुरक्षालाई बहाना बनाएर राजधानी सार्ने कुरा मान्य नहुने बताए । उनले भने, ‘राजधानीको बिषयमा दलको अल्पमत र बहुमतको गुणान भन्दा विराटनगरको अधिकारको कुरा हो ।’

प्रतिनिधिसभाका अर्का सांसद अमनलाल मोदीले राजधानी निर्णय गर्ने बेलामा फेरि चलखेल हुन सकारात्कम नभएको बताए । सांसद मोदीले भने, ‘बिभिन्न अलगअलग स्थानमा मन्त्रालय राख्नु संघीयताको मर्म होइन,’ राजधानी विराटनगरको बिकल्प छैन ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले आर्थिक, व्यापारिक, सामाजिक र सांस्कृति पृष्ठभूमि बोकेको बिराटनगर राजधानीका लागि उपयुक्त भएकै हुँदा कांग्रेस सरकारले विराटनगरलाई राजधानी घोषण गरेको बताए । उनले भने, ‘राजधानीको निर्णयमा कांग्रेस एक ढिक्का हुने छ मत विभाजन हुने छैन ।’

नेकपाका तर्फबाट प्रदेश सांसद रहेका सावित्राकुमार रेग्मी, कुलप्रसाद साम्बा र योशदा अधिकारीले विराटनगर राजधानी नबनाउने योजना बनाएमा आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका थिए ।

संघीय समाजबादी फोरमका प्रदेश सांसद जयराम यादवले पनि स्थायी राजधानी विराटनगरको बिकल्प हुनै नसक्ने बताए । उनले विराटनगरको विकल्प खोजिएको खण्डमा त्यस्तो निर्णयलाई अल्पमतमा पर्ने पक्षमा आफू क्रियाशील हुने जानकारी दिए ।

नेपाली कांग्रेसका संसदीय दल नेता केदार कार्कीले प्रदेश संरचना पूरा भएको विराटनगरको विकल्प सोच्न नहुने बताए । उनले अघि भने, ‘तर, केही मन्त्रीज्यूहरू पनि विराटनगरबाट बाहिर लैजान खोज्दै हुनुहुन्छ । स्थायी राजधानी राख्ने बिषयमा विराटगरको विकल्पमा कांग्रेस उभिने छैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला, अमृत अर्याल, नेकपाका केन्द्रीय सदस्यहरु बिनोद ढकाल, महेश रेग्मी, संघीय समाजवादी फोरमका पार्टी अध्यक्ष राजकुमार यादव, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष मोहम्मद कादिरलगायतको सहभागिता रहेको थियो ।

केन्द्रीय नेता तथा जिल्ला तहका नेताले पनि विराटनगर सामारिक र आर्थिक रुपमापनि विराटनगर छुट्टै पहिचान रहेकाले प्रदेश १ को राजधानी सबै कुराले उपयुक्त हुनेमा जोड दिए ।

उनीहरुले विराटनगरको बिकल्प खोजिएमा आफूहरु जस्तो सुकै अबरोध पार गर्नपनि तयारी रहेकोमा जोड दिएका थिए ।

प्रदेश १ को स्थायी राजधानीको बिषयलाई टुंग्याउन सोमवार नेकपाले संसदीय दलको बैठकसमेत राखेको छ । तत्काललाई नाम नटुंगिएको खण्डमा स्थायी राजधानीको बिषय भने टुंग्याएर अगाडि बढ्न नेकपाले संसदीय दलको बैठक आब्हान गरेको हो ।

यसैबीच, विराटनगरमा स्थायी राजधानी निर्माणका लागि आवश्यक भौतिक पूर्वाधार प्रर्याप्त रहेकाले अन्यत्र राजधानी सार्ने बिषय आफूहरुलाई मान्य नहुनेमा विराटनगरका नागरिक समाजका अगुवाहरुपनि एकमत देखिएका छन् ।

उनीहरुले पनि प्रदेश सरकारका लागि ठूलो धनराशी खर्च गरेर भौतिक संरचना मर्मत गरिएकाले उनीहरुले विराटनगरबाट राजधानी सार्न खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले विराटनगर ऐतिहासिक र पौराणिक महत्व बोकेको सहर भएकाले केन्ऽ सरकारले अस्थायी राजधानी तोकेको विराटनगरलाई प्रदेश सरकारले स्थायी राजधानी तोक्नु पर्नेमा जोड दिएका छन् ।

उनले विकेन्द्रिकरणका बहानामा प्रदेश सरकारले राजधानी सार्न खोजिरहेको आशंका बढेको बताए ।

हिजो प्रदेश सरकारका संरचनाहरू राख्दा राज्यकोषको ठूलो धनराशी खर्च भएको भन्दै अध्यक्ष घिमिरेले फेरि त्यसको विकल्प खोजे अझ बढी खर्च हुने बताए ।
उनले विराट राजाको दरबार क्षेत्र भएको विराटनगरको ऐतिहासिक महत्वलाई सम्बोधन गर्नकै लागि पनि राजधानी विराटनगरमा राखिनुपर्ने बताए ।

मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले विराटनगर देशको दोस्रो ठूलो सहर भएकाले राजधानी सार्दा विराटनगर र नगरबासीलाई ठूलो अन्याय हुन्ने बताए ।

उनले विराटनगरबाट राजधानी सार्ने षड्यन्त्रलाई निरूत्साहित गर्न सडक र सदन दुवैतर्फबाट आन्दोलन गुर्ने बताए ।

विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले प्रदेश राजधानीका लागि विराटनगरमा पर्याप्त भौतिक पूर्वाधार भएकाले स्थायी राजधानी विराटनगरको बिकल्प नखोज्न प्रदेश सरकारलाई आग्रह गरिन् ।

उनले राजधानीका लागि महानगरले सम्भव भएसम्म सबै प्रयास गरेको स्मरण गराउँदै भविष्यमा पनि जस्तोसुकै सहयोग गर्न महानगर तयार रहेको बताइन् । स्थायी राजधानी विराटनगरबाट सार्न खोजिए सडक संघर्षमा उत्रिने उनले चेतावनी दिइन् ।

उद्योग संगठन र मोरङ व्यपार संघको अगुवाईमा भएको छलफलमा सामाजिक क्षेत्रका अगुवाइहरुको सहभागी रहेको थियो ।

उनीहरुले पनि विराटनगरको बिकल्प नखोज्न प्रदेश सरकालाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment