Comments Add Comment

‘३३ प्रतिशत सम्पत्ति बाबुआमाले राख्नुपर्छ’

१५ असोज, काठमाडौं । ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ । कतिपय सन्तानले आमाबुबालाई गर्ने हेलालाई प्रतिबिम्बित गर्ने यो उखान पछिल्लो समय धेरै घर-परिवारभित्र चरितार्थ भइरहेको छ ।

विराटनगरकी एक वृद्धाको दृष्टान्तः तीन वर्षअगाडि श्रीमानको मृत्युपछि चार छोराहरूले अंशबन्डा गरे । आमालाई कुन छोराकहाँ बस्ने भन्ने अन्यौल भयो । एक वर्षसम्म छोराहरू कहाँ पालैपालो गरेर बसिन् ।

त्यसपछि भने छोराबुहारीको व्यवहार बदलिन थाल्यो । उनीहरुले आमालाई ‘घाँडो’ मान्न थाले । अवहेलना सहन नसकेर वृद्धाले विराटनगरमै रहेको विराट आश्रममा शरण माग्न पुगिन् ।

तर, छोराछोरी भएकालाई आश्रममा नराख्ने भनेर उनलाई घरमै फर्काइयो । त्यसपछि त छोराबुहारीको अत्याचारले सीमा नाघ्यो । अन्ततः पानीसमेत तताएर खान नसक्ने वृद्धा आमालाई एक्लै छाडेर छोराहरू काठमाडौं सरे । वृद्धा महेन्द्रचोकको सडकमा बसेर भिख माग्न वाध्य भइन् ।

जसले सारा जीवन सन्तानका लागि समर्पित गरिन्, उनी आज बेसहारा भएर भिख मागिरहेकी छन् । सबै सम्पत्ति छोराहरूले लिखित गरेर लिइसकेका रहेछन् । नपढेको मान्छे जहाँजहाँ भन्यो, त्यहाँ औठा छाप लगाइदिएकी थिइन् ।

०००

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । ज्येष्ठ नागरिकको सम्मान, उनीहरूप्रति मैत्री वातावरण र अधिकारका विषयमा जागरण बढाउन सन् १९९१ देखि १ अगस्टलाई दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालको कानूनले ६० वर्ष उमेर पुगेका वृद्ध-वृद्धालाई ‘ज्येष्ठ नागरिक’ मान्छ । पछिल्लो जनगणनाअनुसार नेपालमा कुल जनसंख्याको ८.१४ प्रतिशत अर्थात् २१ लाख ५४ हजार ४ सय १० ज्येष्ठ नागरिक छन् ।

२०५१ सालदेखि ७० वर्ष उमेर पुगेका नागरिकलाई सरकारले मासिक भत्ताको व्यवस्था गर्‍यो । यो मासिक भत्ता क्रमशः बढेर अहिले दुई हजार पुगेको छ भने उमेरको सीमा पनि घटाइएको छ । तै पनि धेरै ज्येष्ठ नागरिकको जीवन अझै पनि पीडादायी छ । विशेषतः घर परिवारकै सदस्यबाट हुने अवहेलनाको शिकार उनीहरु बन्दै आएका छन् ।

ज्येष्ठ नागरिकहरू ‘म नाति-नातिनालाई भेट्न फलानो देश गएर आएँ’ भन्दै सुनाउँछन् । तर, वास्तवमा उनीहरू त्यहाँ बच्चा हेर्नका लागि लगिएका हुन्छन् । बच्चा हुर्केपछि बाबुआमा उनीहरूलाई बोझ बन्छन् र नेपाल फर्काइदिन्छन् ।

ज्येष्ठ नागरिकको हकहितमा क्रियाशील ७६ वर्षीय अम्बिका केसी राज्य र घर परिवारले ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न नसकेको बताउँछिन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघकी उपाध्यक्ष र ज्येष्ठ नागरिक सहारा केन्द्रकी अध्यक्ष केसीको भनाइमा यातायात, स्वास्थ्य उपचार, स्याहार-सुसार लगायतका क्षेत्रमा ज्येष्ठ नागरिकलाई विशेष सुविधा आवश्यक छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा एक दर्जनभन्दा बढी जिल्लामा काम गरेकी उनी अवकाशलगत्तै ज्येष्ठ नागरिकको लागि लड्न थालेकी हुन् । यही क्रममा २१ साउन २०७४ मा झापा जाँदै गर्दा बर्दिवासमा दुघर्टनामा परेपछि लामो समय थलिइन् ।

दुघर्टनाका कारण टाउकोमा रगत जमेको थियो भने दाहिने हात अहिले पनि उठाउन मिल्दैन । सुगर र ब्लड प्रेसरको परवाह नगरी उनी सरकारी कार्यालय धाउने र चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकी हुन्छिन् । काठमाडौंकी रैनाथे केसीले ज्येष्ठ नागरिकले भोग्दै आएका समस्याहरुमा केन्द्रित रहेर व्यक्त गरेका विचार :

०००

मेरो माइती काठमाडौंकै वत्तीसपुतली हो । त्यहाँको राम मन्दिर वरिपरी खेलेर हुर्किएँ ।

म सानै हुँदा आमा बित्नुभएछ । बुवाले नै आमाको समेत माया दिएर स्याहार्नुभयो ।

बुबा ललितचन्द्र सिंजापति इतिहासकार हुनुहन्थ्यो । नेपाली भाषा प्रकाशीनी समितिमा उहाँले काम गर्नुभएको थियो । उहाँ प्रगतिशील सोचको हुनुहुन्थ्यो । हामी दुई छोरी र तीन छोरालाई शिक्षादीक्षा मात्रै होइन, सम्पत्तिमा पनि भेदभाव गर्नु भएन । सबै छोराछोरीका लागि एकै ठाउँमा घडेरी किनिदिनुभएको थियो ।

हामीलाई भारतको कालिङपोङसम्म लगेर पढाउनुभयो । पछि जागिर छाडेर राजनीतिमा लाग्नुभयो । जेल पर्नुभयो । देश निकालासमेत हुनुभयो । देशनिकाला भएपछि वनारस गएर बस्नुभयो । अनि हामीलाई पनि कालिङपोङबाट बनारसमै ल्याएर पढाउनुभयो ।

आमाको मृत्युपछि आफन्तहरूले दोस्रो विहे गर्न कर गर्दा पनि छोराछोरीले दुःख पाउँछन् भनेर उहाँले मान्नुभएन ।

मैले २०३० सालदेखि नै स्काउटमा बसेर काम गरेँ । गल्र्स स्काउटमा इन्टरनेसनल कमिसनर भएँ । सेवा नै धर्म हो भन्ने मैले स्काउटबाटै सिकेको थिएँ ।

अवकाशलगत्तै पूर्णरुपमा समाज सेवामा लागे । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको उपाध्यक्षको रुपमा काम गर्दा मैले ज्येष्ठ नागरिकको धेरै समस्यालाई प्रत्यक्ष रुपमा देखे/भोगेकी छु ।

प्रविधिले बिगार्‍यो

हामीले मातृदेवो भवः, पितृदेवो भवः, अतिथि देवो भवः भन्ने पढेर हुर्किएका हौं । पूर्वीय सभ्यताले ज्येष्ठ नागरिकलाई सम्मान गर्न सिकाएको छ ।

२०२८ सालदेखि लागु भएको नयाँ शिक्षा प्रणालीले समाजमा ठूलो उथलपुथल ल्यायो । त्यसले आधुनिकताको नाममा पश्चिमीकरण भित्र्यायो ।

नैतिक शिक्षालाई महत्व दिन छाडियो । सरकारले फेरि विद्यालयमा नैतिक शिक्षा राख्दैछ रे भन्ने सुनेकी छु । त्यसो गरे राम्रै हुन्थ्यो । मानिसको मस्तिष्कमा कुनै पनि कुराले जरो गाड्ने बाल्यावस्थामै हो भनेको ।

अहिले प्रविधिको विकासले गर्दा सँगै भएको परिवार पनि झन् झन् एक्लिदै छ । बाजेबज्यैसँग कथा सुन्ने, खेल्ने उमेरका नानीहरू इन्टरनेट, टिभीमा हराईरहेका हुन्छन् । सँगै भएर पनि बाजेबज्यै र नाति-नातिनीहरु टाढिएका छन् ।

बच्चा स्याहार्न मात्र बोलाउँछन्

ज्येष्ठ नागरिकहरू ‘म नाति-नातिनालाई भेट्न फलानो देश गएर आएँ’ भन्दै सुनाउँछन् । छोराबुहारीले तीन-महिना चार महिना राखे पनि भन्छन् । त्यसैमा खुशी हुन्छन् । तर, वास्तवमा उनीहरू त्यहाँ बच्चा हेर्नका लागि लगिएका हुन्छन् । बच्चा हुर्केपछि बाबुआमा उनीहरूलाई बोझ बन्छन् र नेपाल फर्काइदिन्छन् ।

सबैले यस्तो गरिरहेका छन् भन्न खोजेको होइन । तर आफ्नै बाबाआमालाई यस्तो व्यवहार गर्नेको संख्या सानो छैैन ।

केही हप्ता पहिला बबरमहलस्थित घरमा मृत फेला परेका पूर्व राजदूत केशव झा मेरै छिमेकी हुन् । थापाथली जनकल्याण परिषदमा म उपाध्यक्ष छु भने उहाँ सल्लाहकार हुुनुहुन्थ्यो । उहाँको छोरा डाक्टर छन् । उनी आयरल्याण्ड बस्छन् । छोरा आएर केही दिन बसेर शनिबार उतै उड्नु भयो ।

प्रहरीले हत्या हो कि आत्महत्या हो पत्ता लगाउन सकेको छैन । संयुक्त परिवार भएको भए यस्तो घटना हुँदैनथ्यो कि जस्तो लाग्छ । आत्महत्या भएको हो भने त पक्कै डिप्रेसनले होला ।

अंशबन्डा हुँदा ३३ प्रतिशत नदिएसम्म नामसारी नै नहुने प्रावधान राख्नुपर्छ । यसैगरी छोराछोरीको तलबको कम्तीमा १० प्रतिशत आमाबाबुलाई दिनुपर्ने व्यवस्था आवश्यक छ ।

भारतमा ज्येष्ठ नागरिक एक्लै बस्दा हत्या भएका घटना प्रशस्त छन् । त्यसैले सुरक्षाको हिसाबले पनि ज्येष्ठ नागरिक मात्रै बस्नु उचित हुँदैन । दुई जना बुढाबुढी मात्रै बस्दा असुरक्षित हुने संभावना बढी हुन्छ ।

६०-७० को अन्योल

कानूनअनुसार ६० वर्षदेखि ज्येष्ठ नागरिक भइन्छ । तर, सरकारले ७० वर्षदेखि भत्ता दिन्छ । ६०-७० बीचका मान्छेलाई किन नदिइएको हो प्रष्ट छैन । कि सरकारले ७० वर्ष पुगेकालाई मात्रै ज्येष्ठ नागरिक मान्ने व्यवस्था गर्नुपर्‍यो । यस्तै अन्यौलले गर्दा ज्येष्ठ नागरिकका लागि बनेका कानून पनि कार्यान्वयन हुन सकेका छैनन् । जस्तो यातायात क्षेत्रमा दिने भनिएको ५० प्रतिशत छुटको प्रावधान कार्यान्वयनमा गएको छैन ।

३०-३५ वटा औषधि निःशुल्क भनेको छ । यो पनि सबैतिर छैन । ज्येष्ठ नागरिक हेर्ने डक्टर नै नभएपछि औषधि मात्रै दिएर पनि भएन । ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल भएको सबैभन्दा राम्रो हो । त्यो गर्न नसके कम्तीमा जिल्लामा एउटा वार्ड राख्नुपर्दछ ।

सम्पत्तिमा पहुँच

संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनिएको छ । संविधानको मौलिक हकअन्तर्गत यस्तो व्यवस्था गराउन हामीले धेरै कसरत गर्नुपर्‍यो ।

संविधानको मस्यौदा बन्दा यो व्यवस्था थिएन । हामीले प्रत्येक सांसदकहाँ लिखित रुपमा यो माग पुर्‍यायौं । हामीले धेरै दबाव दिएपछि यो वाक्य समावेश गर्न बाध्य भए । मौलिक हकमै राखेकाले यो व्यवस्था कार्यन्वयन हुने आशा छ ।

अशक्त र असहाय ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ, तर जसको छोराछोरी छन्, उनीहरूलाई त्यत्तिकै फाल्न पाइँदैन । छोराछोरीले कुनै पनि हालतमा हेर्नै पर्ने व्यवस्था गर्नुपर्छ ।

अंशबन्डा हुँदा ३३ प्रतिशत सम्पत्ति आमाबाबुसँगै राख्पर्ने हाम्रो माग छ । ३३ प्रतिशत नदिएसम्म नामसारी नै नहुने प्रावधान राख्नुपर्छ । यसैगरी छोराछोरीको तलबको कम्तीमा १० प्रतिशत आमाबाबुलाई दिनुपर्ने व्यवस्था आवश्यक छ ।

छोराछोरीले जति नै लोलोपोतो गरे पनि बाबुआमाले बाँचुन्जेल आफ्नो नामको सम्पत्ति नामसारी गरिहाल्नु हुँदैन । आखिर आफ्नो शेखपछि त्यो सम्पत्ति उनीहरूकै हुने हो । छोराछोरीले सम्पत्ति आफ्नो नाममा गरेपछि आमाबाबुलाई सडकमा छाडेका थुप्रै घटना छन् । भविष्यमा आफैं अलपत्र पर्ने गरी किन नामसारी गर्ने ?

ज्येष्ठ नागरिक वार्ड

ज्येष्ठ नागरिकलाई धेरैजसो घुँडा, छाती, निमोनिया, अल्जाईमर जस्ता समस्याले सताउँछन् । उनीहरुको उपचार गर्न विशेष व्यवस्था हुनुपर्छ । संविधानको मौलिक हकले भन्न खोजेको पनि त्यही हो ।

तर हामीकहाँ ज्येष्ठ नागरिकलाई उपचार गर्ने डाक्टर जम्मा दुई जना छन् रे । तत्काललाई प्रत्येक प्रदेशमा एक-एक जना डाक्टर हुनुपर्दछ भन्ने हाम्रो माग हो ।

अन्य उमेरका र ज्येष्ठ नागरिकलाई गरिने स्याहार-सुसारमा फरक हुन्छ । उनीहरूलाई छुट्टै तरिकाले हेरविचार गर्नुपर्छ । उनीहरूको मनोविज्ञान बुझेर ज्येष्ठ नागरिकसँग व्यवहार गर्न जरुरी छ । यो विषयमा हामीले नर्सहरूलाई चेतना जगाउने काम पनि गरेका छौं ।

हुन त कुनै पनि रोग लागेपछि समस्या परिहाल्छ । अल्जाइमर रोक लाग्यो भने सबैभन्दा विजोग हुन्छ । यस्तो रोग लागेपछि बहुला भयो है भनेर हेयको दृष्टिले हेरिन्छ । बहुला भएको हो कि अल्जाइमर लागेको हो भन्ने त जाँचेर पत्ता लगाउनु पर्‍यो नि । उपचारको व्यवस्था राज्यले गर्नुपर्‍यो ।
अपाङ्गता भएकाको जस्तै ज्येष्ठ नागरिकका पनि विभिन्न समस्या हुन्छन् । घुँडा दुख्ने हुँदा आम शौचालयमा उनीहरू बस्न सक्दैनन् । भर्‍याङमा समात्ने व्यवस्था, ह्वील चेयर गुडाउने बाटो लगायतका भौतिक पूर्वाधार बनाउनुपर्दछ ।

जीवनभरी छोराछोरीको हेरचाह गर्ने, देशको सेवा गर्ने ज्येष्ठ नागरिकलाई जीवनको उत्तरार्द्धमा ढुक्कसँगै बाँच्ने अधिकार पनि छैन ? ज्येष्ठ नागरिकको विषयमा हामीले जति संघर्ष गरिरहेका छौं त्यो हाम्रो लागि भन्दा पनि नयाँ पुस्ताका लागि हो । हामी त डाँडामाथिको घाम भइसक्यौं । किनकी भोलिका ज्येष्ठ नागरिक त तपाईँहरू हो नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment