Comments Add Comment

नेकपा सांसदलाई प्रश्न : धनगढीमा प्रदेश राजधानी राख्न किन नहुने ?

१६ असोज, काठमाडौं । प्रदेश नं. ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी-२, तेघरीमा राख्ने प्रस्ताव १२ असोजमा बसेको प्रदेशसभा बैठकबाट दुई तिहाई भन्दा बढी मतले पारित भएपछि धनगढीवासीले यसको विरोध गरेका छन् ।

प्रदेशको अस्थायी मुकाम रहेको धनगढीलाई प्रदेश राजधानी बनाउनुपर्ने माग राखेर उनीहरूले विरोध गरेका हुन् ।

प्रदेशसभाले सत्तारुढ नेकपाका सांसद तारा लामा तामाङ संयोजक रहेको विशेष समितिको सुझाव अनुसार प्रदेशको नाम र राजधानी तय गरेको हो । प्रस्तुत छ, पाँच सदस्यीय टोलीको नेतृत्व गरेका तामाङसँग गरिएको संक्षिप्त कुराकानीः

अस्थायी मुकाम रहेको धनगढीको सट्टा गोदावरीलाई प्रदेश राजधानी बनाउने प्रस्ताव किन गर्नुभयो ?

समितिलाई सरोकारवालासँग छलफल गरेर सर्वसम्मत हुने नाम र स्थान सुझाउन भनिएको थियो । प्रदेशका सांसद्, स्थानीय लगायत सबैको सुझाव अनुसार प्रतिवेदन बनाएका हौं । नौ जिल्लालाई एकीकृत राख्न र वातावरणीय क्षति पनि कम हुने भएकाले हामीले खुल्ला स्थान रहेको गोदावरी रोजेका हौं ।

तपाईं वातावरणीय क्षति कम भएको स्थान रोजेको भन्नुहुन्छ । तर त्यहाँ वन फडानी हुने, बाघको बाटो अवरोध हुने र पहिरोको समेत जोखिम रहेको भनिन्छ नि ?

जहाँ भौतिक संरचना निर्माण गर्नुपर्छ, त्यहाँ बुट्यान छ । हरियो रुख कटान गर्नुपर्दैन । राजधानी बनाउने स्थान चुरे रेन्ज भन्दा धेरै तल पर्छ । बाघ र पहिरोको कुरा नियोजित रुपमा आइरहेका छन् । पहिरोको जोखिम नभएको हाम्रो पहाडी भूभाग कहाँ छ ? बाघको बाटोको कुरा गर्ने हो भने धनगढी र संघीय राजधानी रहेको काठमाडौं पनि वन्यजन्तु हिँड्ने बाटोमै पर्छ ।

प्रदेश राजधानी बनाउने भन्दैमा वातावरण विनास गर्ने कुरालाई कसरी राम्रो भन्न सक्नुहुन्छ ?

यहाँ मात्रै होइन, विकास निर्माण गर्दा जहाँसुकै वातावरण संरक्षणको कुरा आउँछ । भौतिक संरचना निर्माण गर्दा वातावरणमा केही असर पर्छ पनि । तर, गोदावरीमा कम भन्दा कम क्षतिमा राजधानीलाई चाहिने संरचना बनाउँछौं । सरोकारवाला सबै मिलेर आवश्यकता भन्दा बढी एउटा विरुवा पनि नाश गर्दैनौं ।

धनगढीमा राख्नै नहुने कारण के थियो ?

हामीले विनापूर्वाग्रह छलफल प्रारम्भ गर्‍यौं । कुनै पनि स्थानमा राख्न नहुने वा अर्को स्थानमा राख्नैपर्ने आग्रहसहित काम गरेनौं । धनगढीमा नराख्ने भन्दा पनि गोदावरी उपयुक्त हुन्छ भन्ने सुझाव दियौं ।

धनगढीलाई पूर्ववर्ती सरकारको पालामा अस्थायी मुकाम तोकिएको थियो । जुन पहिला नै विकास भइसकेको शहर हो । धनगढी सुदुरपश्चिमको प्रमुख आर्थिक शहर बनाउनुपर्छ । राजधानी राखेकै कारणले गोदावरीमा विकास हुन्छ भने तपाईं हामीले अनावश्यक टाउको किन दुखाउने ?

अर्बौको भौतिक संरचना निर्माण भइसकेको धनगढीबाट सार्दा राज्यलाई अनावश्यक आर्थिक भार त पर्ने भयो नि ?

धनगढी राजधानी घोषणा भएकै थिएन, तत्कालको प्रशासनिक काम गर्नका लागि अस्थायी मुकाम मात्रै तोकिएको थियो । अर्बौंको संरचना निर्माण भएको भन्ने कुरा अतिरञ्जना मात्रै हो । धनगढीमा एउटा पनि पूर्वाधार बनेको छैन । कतिपय पुराना कार्यालयको मर्मतसम्म भएको होला । त्यति गर्दा नै अर्बौं खर्च भयो भन्छ भने त्यो कसले पत्याउने ?

सरोकारवाला सबैसँग छलफल गरेको भन्नुभयो । तर प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीले मतदानमै भाग लिएन । यसलाई कसरी लिने ?

छलफलमा कांग्रेसका साथीहरू पनि आउनु भएको थियो । जहाँसम्म मतदानको दिनको कुरा छ, त्यसमा पनि उहाँहरूको समर्थन देखियो । किनभने कांग्रेस र राष्ट्रिय जनता पार्टीका एक जना पनि सांसद्ले गोदावरीको विपक्षमा मत दिनुभएको छैन । यसरी हेर्दा गोदावरीलाई राजधानी बनाउने कुरामा कसैको पनि विरोध देखिएन ।

त्यसो भए धनगढीमा किन विरोध भइरहेको छ त ?

कतिपय स्थानीयलाई राजधानी नहुँदा केके न गुम्छ भन्ने लागेको हुनसक्छ । १५-१६ किलोमिटर टाढा र नजिक हुनुले खासै फरक पार्छ जस्तो लाग्दैन । कतिपयलाई आन्दोलन गर्ने रहरले पनि विरोध भएको हुनसक्छ ।

आन्दोलन चर्किदै गयो भने यो विषय कसरी समाधान होला ?

हाम्रो समितिले सुझाव दियो । प्रदेशसभाले निर्णय गर्‍यो । आफ्नो प्रदेशको नाम के राख्ने र राजधानी कहाँ राख्ने भन्ने अधिकार संविधानले सार्वभौम प्रदेशसभालाई दिएको छ । कसैले संविधानै मान्दैन भन्छ भने अलग कुरा हो तर, संविधान अनुसार प्रदेशसभाले आफ्नो निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment