Comments Add Comment

प्रदेश ५ को यथार्थ : २७ सय कर्मचारीको दरबन्दी, साढे ४ सय हाजिर

१९ असोज, बुटवल । संघीय सरकारले स्वीकृत दरबन्दीअनुसार कर्मचारी नपठाउँदा प्रदेश ५ सरकारको काम-कारवाही प्रभावित भएको छ ।

संघीय सरकारले यो प्रदेशका लागि २७ सय २५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको भएपनि असोज दोस्रो सातासम्म करिब ४५० जना कर्मचारी मात्र हाजिर भएका छन् ।

भौतिक पुर्वाधार तथा विकास मन्त्रालयमा ६ सय ४३ स्वीकृत दरबन्दी भएको छ । तर, अहिलेसम्म ९२ जना मात्र हाजिर भएको र ५५१ जना अझै आइनपुगेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

सबैभन्दा धेरै १२ सय ३८ जना कर्मचारी दरबन्दी भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा ५० जना मात्र कर्मचारी आएका छन् ।

यस्तै प्रशासनमा १८, जलस्रोत उर्जा तथा सिंचाईमा ६६, आवास भवन तथा शहरी विकासमा २, पुर्वाधार, यातायातमा २ र खानेपानीमा ४ जना कर्मचारी मात्र आएका छन् । प्रशासनमा २९१, उर्जामा ७३, शहरी विकासमा ३२, पुर्वाधार विकासमा ९६ र खानेपानीमा ५९ जना दरबन्दी खाली छ ।

मन्त्रालय तहका कर्मचारी ४६ प्रतिशत र मातहतका कार्यालयमा ७ प्रतिशत मात्र कर्मचारी आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बसन्त अधिकारीले बताए ।

विभिन्न मन्त्रालय अन्तर्गतका ७ वटा निर्देशनालय स्थापना गर्नुपर्नेमा कर्मचारी अभावका कारण हालसम्म २ वटा निर्देशनालय मात्र स्थापना भएका छन् । यस्तै डिभिजन कार्यालयहरु पनि अधिकांश स्थापना हुन सकेका छैनन् ।

बजेट कार्यान्वयनमा समस्या

निर्देशनालय र डिभिजन कार्यालयहरु स्थापना हुन नसक्दा वजेट कार्यान्वयनमै समस्या आएको छ । वजेट आएको २ महिना पुरा हुँदा पनि २ प्रतिशत पनि खर्च हुन सकेको छैन ।

निर्माण आयोजनाहरुको टेण्डर असोजसम्ममा गर्ने, मंसिरबाट काम शुरु गरी शतप्रतिशत वजेट खर्च गर्ने प्रदेश सरकारले घोषणा गरेको थियो । तर कर्मचारी नपाउंदा वजेट कार्यान्वयनको लक्ष्य पूरा नहुने संकेत देखिएको सरकारका प्रवक्ता चौधरीले बताए ।

‘कम्तीमा ५० प्रतिशत कर्मचारी त पठाउनुपर्ने हो तर, यही अवस्था रहने हो भने कार्ययोजना अनुसार काम गर्न र वजेट कार्यान्वयन गर्न सकिँदैन’ प्रवक्ता चौधरीले भने ।

कम्तीमा कार्यालय व्यवस्थापन र कार्यालय प्रमुख तहका कर्मचारी पठाउन उनले आग्रह गरे । संघले स्वीकृत गरेको दरबन्दी २७ सय २५ अपुग भएको भन्दै प्रदेश सरकारले ४ सय ४५ थप गरी ३१ सय ७० जनाको दरबन्दी माग गरेको थियो ।

त्यसको सुनुवाई गर्नुको साटो केन्द्र सरकारले स्वीकृत दरबन्दीअनुसारकै कर्मचारी नपठाएको मन्त्री चौधरीले गुनासो छ । प्रदेश सरकारलाई सफल बनाउने हो भने मागेको कर्मचारी दिनुपर्छ र कर्मचारी समायोजन छिटो गर्नुपर्छ’ उनले भने ।

कर्मचारीले तलब खान पाएनन्

विगतमा संघीय सरकार मातहत रहेका जिल्लास्तरका कतिपय कार्यालय अहिले प्रदेश मातहत आएका छन् । तर, कर्मचारी संरचना केन्द्र सरकार अन्तर्गत नै रहेकाले त्यस्ता कार्यालयका कर्मचारीले साउनदेखि तलब खान पाएका छैनन् ।

संघले आफ्ना कर्मचारी प्रदेश मातहत आएको लिखित जानकारी नदिँदा कर्मचारीहरुले प्रदेश सरकारबाट तलब खान नपाएका हुन् ।

विशेषगरी यातायात व्यवस्था, डिभिजन वन, घरेलु तथा साना उद्योग लगायतका कार्यालयहरुका कर्मचारीले तलब खान पाएका छैनन् ।

कर्मचारी परिचालन गर्ने र आर्थिक जिम्मेवारी सम्हाल्ने विभागीय प्रमुख पनि प्रदेश मातहत नआउँदा पैसा भएर पनि अख्तियारी दिन नमिलेको सरकारका प्रवक्ता चौधरीले बताए । ‘तीन महिनासम्म तलब खान नपाउँदा कर्मचारीलाई नजिकिएको चाडपर्व मनाउन पनि समस्या भएको छ’ उनी भन्छन्, ‘कम्तिमा आर्थिक कारोबार सम्हाल्ने कर्मचारी संघले दिएको भए यस्तो समस्या आउने थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment