Comments Add Comment

पहिलो सहभागितामै ठूला टिमलाई तर्साउँदै च्यासल

२१ असोज, काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिगमा सहभागी डेब्यू टिम हो, च्यासल युथ क्लब । ०७३ सालमा भएको बी डिभिजन लिगको च्याम्पियन बन्दै पहिलोपटक यो क्लब ए डिभिजनमा उक्लिएको थियो ।

ए डिभिजन खेल्ने सपना पूरा हुँदा क्लबका खेलाडी र पदाधिकारी औधि उत्साहित बनेका थिए । तर, बिडम्बना, त्यस वर्ष ए डिभिजन लिग नै भएन । त्यसपछि क्लब क्रमशः फुटबलबाटै टाढिएजस्तो भयो, च्याम्पियनको उत्साह सेलाउँदै गयो ।

करिब २ वर्षपछि च्यासलले आफ्नो भोक मेट्ने अवसर पाएको छ । पहिलो सहभागितामै ठूला टिमहरुलाई चुनौती दिन निकै कडा मिहिनेत गरिरहेका छन् खेलाडीहरुले ।

लिगको मिति नजिकिँदै गर्दा च्यासल प्रशिक्षकको खोजीमा थियो । राम्रो प्रशिक्षकको सहारामा मात्रै दमदार प्रदर्शन गर्न सकिन्छ भन्ने क्लबका पदाधिकारीले राम्रोसँग बुझेका थिए । अन्ततः राष्ट्रिय फुटबल टिम तथा उमेर समूहको टिम सम्हालिसकेका अनुभवी प्रशिक्षक राजुकाजी शाक्यलाई प्रशिक्षक नियुक्त गरेको छ ।

करिब १ महिनादेखि क्लब सम्हालेका शाक्य तयारी राम्रो भइरहेको बताउँछन् । यद्यपि, अरुलाई जस्तै मैदानको समस्याले उनलाई पनि पिरोलेको छ । ‘राम्रो अभ्यासका लागि राम्रो मैदान हुनुपर्छ । क्लबले बिग्रेको मैदानलाई खर्च गरेर अभ्यास गर्न लायक बनाएको छ । तयारी राम्रै भइरहेको छ’ उनले भने ।

लिगकै तयारीका लागि भनेर यो क्लबले खेलाडीहरुलाई भारतमा समेत अभ्यास गर्न लग्यो । केही दिनको अभ्यास टिमका लागि फलदायी भएको प्रशिक्षक शाक्यको दाबी छ ।

‘लिग सुरु हुनुभन्दा अघि आसाममा प्रतियोगिता खेल्न गएका थियौं । त्यसले पनि हामीलाई राम्रो गरेको छ । त्यहाँ हुँदा अभ्यास निकै राम्रो भएको थियो’ उनले भने ।

च्यासलका खेलाडीहरु पनि अभ्यास राम्रो भइरहेको र नतिजा पनि त्यही अनुसारको ल्याउने दाबी गर्छन् ।

एट्याकिङ मिडफिल्डर अमिर श्रेष्ठ भन्छन्, ‘हाम्रो लक्ष्य भनेको उपाधि नै हो । त्यही अनुसारको तयारी भइरहेको छ । कोचदेखि लिएर व्यवस्थापन पक्ष पनि राम्रो छ ।’

उनले प्रशिक्षक शाक्यले आफूहरुको खेल शैलीलाई निखार्न सहयोग गरिरहेको बताए ।

प्रशिक्षक शाक्यले पनि च्याम्पियन बन्नका लागि खेल्ने बताए । ‘टिम राम्रो छ । हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्ने हो । खेलमा जे पनि सम्भव छ’ उनले भने ।

३८ वर्षपछि ए डिभिजनमा

च्यासल युथ क्लबको स्थापना भएर फुटबल गतिविधिमा भाग लिन थालेको पनि लामो समय भइसेको छ । तर, यो क्लब अन्य क्लबको तुलनामा सुस्त गतिमा हिँडिरहेको छ ।

२०३७ सालमा ललितपुर, च्यासलका स्थानीय युवा मिलेर रामकृष्ण ब्यञ्जनकारको अध्यक्षतामा क्लब स्थापना गरेका थिए । तर, क्लबले चाँडै फड्को मार्न सकेन ।

लामो समय डी डिभिजन लिग खेलेपछि २०६४ सालमा सी डिभिजनमा बढुवा भयो । त्यसको २ वर्षपछि २०६६ मा बी डिभिजनमा उक्लियो । त्यसको सात वर्षपछि ए डिभिजनमा उक्लिएको हो ।

बी डिभिजन च्याम्पियन हुँदा क्लबले १३ खेलमध्ये ९ खेलमा जित, १ खेलमा बराबरी र ३ मा हार व्यहोर्दै २८ अंक जोडेको थियो । उपविजेता बनेको न्युरोड टिम (एनआरटी) ले पनि समान १३ खेलबाट ८ खेलमा जित, ४ खेलमा बराबरी र १ खेलमा पराजित हुँदै २८ अंक नै बनाएको थियो । तर गोल अन्तरमा एनआरटीलाई पछि पार्दै च्यासलले इतिहास रचेको हो ।

विमल, हेमन्त र देवन्द्रमा भर

च्यासल युथ क्लबले अहिले राष्ट्रिय टिममा रहेका ३ जना युवा खेलाडी आफ्नो टिममा अनुबन्धित गर्दै राम्रो टिम सेट बनाएको छ । विमल घर्तीमगर, हेमन्त थापामगर र देवेन्द्र तामाङ च्यासल क्लबका मुख्य हातियार हुन् ।

विमल स्ट्राइकर हुन् भने हेमन्त मिडफिल्डर हुन् । त्यस्तै देवेन्द्र डिफेन्डर हुन् । च्यासलले निकै प्रयास गरेर अन्तिम समयमा विमललाई भित्र्याउन सफल भएको थियो । राष्ट्रिय टिमबाट अहिलेसम्म सात गोल गरिसकेका विमलबाट क्लबले ठूलो आशा राखेको छ । उनी एक ‘म्याच विनर’ हुन् । च्यासलले विमललाई भित्र्याएपछि अन्य ठूला टिमहरु पनि झस्किएका छन् ।

मिड्फिल्डर हेमन्त थापामगर उतिकै प्रतिभाशाली खेलाडी हुन् । उनले उमेर समूहदेखि नै राम्रो प्रदर्शन गर्दै सिनियर टिममा स्थान बनाएका थिए । देवेन्द्र सानो कदका भएपनि छरिता खेलाडी हुन् । उनले टिमको कप्तानी पनि सम्हाल्नेछन् ।

च्यासलका प्रशिक्षक शाक्य विमललाई भित्र्याएसँगै टिममा उत्साह बढेको बताउँछन् । ‘एउटा राम्रो खेलाडी भित्र्याएकोमा म पनि खुशी छु । उनको सहयोगमा हामी राम्रो नतिजा ल्याउन सक्छौ भन्ने लागेको छ’ उनले भनेका छन् ।

त्यसो त टिम सबै पक्षमा बलियो रहेको उनी बताउँछन् । ‘टिम गेम भएकाले सबै खेलाडीको उत्तिकै भूमिका हुन्छ । यद्यपि, विमल, हेमन्त र देवेन्द्रबाट टिमलाई बढि आशा छ’ राष्ट्रिय टिमका पूर्व प्रशिक्षक समेत रहेका शाक्यले भने ।

यस्तो छ टिम

गोलकिपरः

दिनेश थापामगर, दिपेश यादव, सन्तोष महत, राजीब लामा

डिफेन्डरः

देवेन्द्र तामाङ, छिरिङ गुरुङ, गौरव बुढाथोकी, विक्रम लिम्बु, निशान खड्का, चेतन थारु, नरेन्द्र चौधरी, प्रिन्स ब्यञ्जनकार,

मिड्फिल्डरः

हेमन्त थापामगर, अमिर श्रेष्ठ, विश्व अधिकारी, योगेश गुरुङ, सन्जोक राई, सजिन थापामगर, रविन ब्यञ्जनकार, सुन्नी ब्यञ्जनकार, लक्ष्मण खान

फरवार्डः

विमल घर्तीमगर, सुनिल खड्का, सान्ताबहादुर गुरुङ, कृष ब्यञ्जनकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment