Comments Add Comment

गोरखा दरबारमा पनि राखियो जमरा, पुनर्निर्माणमा ढिलाइ हुँदा समस्या

२४ असोज, गोरखा । आज बडा दशैंको पहिलो दिन गोरखा दरबारमा पनि वैदिक विधिपूर्वक घटस्थापना राखिएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखा दरवारमा बुधबार बिहान ७ः१५ को साइतमा घटस्थापना गरिएको हो ।

जमराका लागि कालिका मन्दिरको जमरा कोठामा चार पाथी र गुरु गोरखनाथको गुफामा एक पाथी जौ को बीज छरेर जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले जानकारी दिए ।

आजको दिन मूल दरबारको कैलाश कोठा हुँदै कालिका मन्दिरको गर्भगृहमा भगवती सवारी गर्ने प्रचलन छ । ‘मूल दरवार पुनर्निर्माणका लागि भत्काइएको हुँदा भगवतीलाई कालिका मन्दिरकै कैलाश कोठामा राखेका थियौं,’ उनले भने, ‘आज विहान त्यहीँबाट गर्भगृहमा सवारी गरायौं ।’

भगवती सवारीको निश्चित साइत नहुने उनले बताए । ‘यसमा साइत हुँदैन, विहान नाडीका सबै रौं देखिने उज्यालो भएपछि सवारी गराउने प्रचलन छ,’ कट्टेलले भने ।

भगवती सवारीसँगै विहानको उत्तम साइतमा घटस्थापना गरेर पानी घडा थाप्ने काम भएको उनले जानकारी दिए । ‘यो काम पनि मूल दरवारमै गरिन्थ्यो तर अहिले दरवार भत्काइएकाले कालिका मन्दिरमै सबै काम गरियो,’ उनले भने ।

दरबार पुनर्निर्माणमा ढिलाइ


भूकम्पले क्षति पुगेको गोरखा दरबार पुनर्निर्माणमा ढिलाइ हुँदा समस्या भएको छ । दशैं अवधिभर अधिकांश काम दरबारबाट हुने भएपनि पुनर्निर्माण नहुँदा ठाउँको अभाव भएको कट्टेलले बताए । ‘घटस्थापना गर्ने, घडि थाप्ने र सबै सामान राख्ने काम दरबारमै हुन्थ्यो, तर अहिले भवन छैन मुस्किलले मिलाएका छौं,’ उनले भने ।

त्यस्तै बढाइ गर्नका लागि पनि ठाउँ अभाव भएको उनले गुनासो गरे । घटस्थापनाको भगवती सवारीका बेला, फूलपाती, अष्टमी र दशमीको दिन बढाइ गर्ने चलन छ । आजबाट सप्तमीसम्म कन्या खुवाउने प्रचलन पनि छ । ‘आजबाट सप्तमी दिनसम्म दैनिक एक कन्या, नवमीमा २७ कन्या र दुई कुमारर्लाइ मिष्ठान्न भोजन खुवाइन्छ, दरवारमै खुवाउने गरिन्थ्यो तर मुल दरवार भत्काइएको छ, कालिका मन्दिरको रंगमहलको कोठामा कन्या खुवाउने व्यवस्था गरेका छौं,’ उनले भने ।

बलिको संख्या घट्यो

आजबाट दरवारमा नियमित बलि पनि शुरु भएको छ । आज कालिका र भैरवमा गरी दुई वटा बलि दिइएको छ । भोलिबाट कालिकालाई दिनको एउटा कालो बोका बलि दिने परम्परा छ । दशैं अवधि भर ३२ बोका, १२ भेंडा, १५ वटा राँगा, ५ वटा सुंगुर, ९ कुुखुरा र एक सतारको बली दिइने कट्टेलले बताए । बलिका लागि आवश्यक पशुचौपाया पोखराबाट ल्याइएको छ । ‘पोहोर धेरै बलि भएको थियो, तर अहिले रकम पनि कम निकासा भयो बलिको संख्या पनि घटेको छ,’ उनले भने ।

रकम निकासा भएपनि आइनपुगेको उनले बताए । यो वर्ष पूजाका लागि १२ लाख निकासा भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment