Comments Add Comment

मकवानपुरमा दशैं सुरक्षा योजना : रात्रीबसमा प्रहरी खटाइने

२३ असोज, हेटौंडा । दशैं तिहारलगायत चाडपर्व लक्षित सुरक्षा योजना प्रहरीले बनाएको छ । चाडपर्वको समयमा आपराधिक गतिविधि हुनसक्ने र राजमार्गमा लुटपाटसमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा योजना वनाएको हो ।

जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ५२ जनाको ‘क्वीक रेस्पोन्स’ टोली बनाएको छ । घटना भएको थाहा पाउने बित्तिक्कै मोटसाइकल वा गाडीमा तत्काल घटनास्थल पुगिहाल्ने गरी योजना बनाएको प्रहरी उपरीक्षक वुद्धिराज गुरुङले बताए ।

टोली २४ सै घन्टा तयारीमा रहने जानकारी दिए । मोटरसाइकल र पैदल गस्ती १९ वटा परिचालन हुने जनाएको छ । प्रहरी कार्यालयका अनुसार प्रहरीको पिकेट जिल्ला भरी गरी ३२ वटा रहने जनाएको छ । राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको छ ।

चितवनबाट आएको रात्री बसहरुमा लोथरबाट हतियारसहित प्रहरीहरु वसेर चुरियामाई मन्दिरसम्म पुग्ने योजना वनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हेटांैडाले रात्रीवसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको ८ वटा टिम वनाएको छ ।

मकवानपुर क्षेत्रमा पर्ने राजमार्गको विभिन्न भागमा लुटेराहरु बसेर बस रोकेर लुटपाट गर्ने गरेको छ । बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने पनि प्रहरीले जनाएको छ ।

राजमार्ग र शाखा सडकहरुमा ट्राफिक चेकजाँचलाई प्रभावकारी वनाउने प्रहरीको योजना छ । चाडवाडलाई लक्षित गरेर ६ सय ८२ जना प्रहरीहरु परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment