Comments Add Comment

बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीमा

२४ असोज, काठमाडौं । धनुषाकी १२ वर्षकी बलात्कृत बालिकाको शारीरिक जाँचका क्रममा बलात्कार नभएको प्रतिवेदन दिने दुई जना चिकित्सक कारबाहीमा परेका छन् ।

भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिने जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. विजयकुमार सिंह र डा. रम्भा गोइत कारबाहीमा परेका हुन् ।

नेपाल मेडिकल काउन्सिलले उनीहरुले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।

दुई डाक्टरले भदौ ९ गते पीडित बालिकाको नमुना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए । त्यसपछि सोही बालिकाको भदौ २५ गते सिरहा अस्पतालमा डा. राकेशकुमार सिंहले नमुना परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन आएको थियो ।

यस विषयमा अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।

समितिले वयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment