Comments Add Comment

सेती अञ्चल अस्पतालमा औषधि अभाव

२६ असोज, कैलाली । कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधि अभाव भएको छ । फार्मेसीले उपलब्ध गराउँदै आएको ४ सय ८५ औषधिमध्ये २ सय ८५ प्रकारका औषधिको अभाव भएको हो ।

फार्मेसीमा औषधि अभाव हुँदा बिरामीहरु निजी मेडीकलबाट महँगोमा औषधि खरिद गर्न बाध्य भएका छन् ।

सेती अञ्चल अस्पतालका फार्मेसी इञ्चार्ज भरत कुँवरले चालु आर्थिक वर्ष शुरु भएदेखि औषधि खरिद हुन नसक्दा अभाव भएको बताए । उनले फार्मेसीमा भएको २ सय प्रकारको औषधि पनि पर्याप्त नभएको बताउँदै औषधि किन्न आउने दैनिक २ सय ग्राहकलाई फर्काउनु परेको बताए ।

औषधि अभावले फार्मेसी सुनसान हुँदा अञ्चल अस्पताल परिसर बाहिर रहेका मेडिकहरुमा भने औषधी किन्नेको भीड लाग्ने गरेको छ ।

निमोनियाले ग्रस्त आफ्ना छोराको उपचार गराइरहेका कञ्चनपुर पुनर्वासका महेशचन्द्र अधिकारीले सामान्य सिरिन्ज पनि फार्मेसीमा नपाएको बताए । उनले डाक्टरले लेखेको कुनै पनि औषधी फार्मेसीमा नपाइएको गुनासो गरे ।

त्यस्तै टाउको र पेटमा समस्या भएपछि अञ्चल अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका–१, शिवनगरका नन्दराज जोशीले पनि डाक्टरले लेखेको कुनै पनि औषधि आफूले अञ्चल अस्पतालको फार्मेसीबाट नपाएको गुनासो गरे ।

दुई दिनयता डाक्टरले ३ पटक लेखेको ५ प्रकारको औषधिमध्ये फार्मेसीबाट एउटा पनि औषधि नपाएको बताउँदै जोशीले फार्मेसीमा सस्तोमा औषधि पाइन्छ भन्ने सुनेको तर नपाउँदा निजीमा महँगोमा औषधि किन्न बाध्य भएको बताए ।

अस्पताल प्रसासनले औषधि खरीदका लागि टेन्डर समयमा नगर्दा फार्मेसीमा औषधि अभाव भएको हो । औषधि अभावका कारण हजारौं मान्छे प्रभावित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment