Comments Add Comment

उड्कलको चिउरा टिष्टुङ महोत्सवको आकर्षण

२७ असोज, हेटौंडा । लोप हुँदै गरेको उड्कलमा कुटिएको चिउरा पालुङ महोत्सबको आकर्षण बनेको छ । आधुनिक समयमा मेसिनबाट कुटेको चिउरा प्रयोग गरेकाहरु उड्कलमा चिउरा कुट्ने परम्परागत विधि चाख मानेर अवलोकन गरेका छन् ।

उत्तरी मकवानपुर थाहानगर-६, टिष्टुङ महोत्सवमा गोपाली महिलाको समूहले महोत्सवमा आउने धेरैको ध्यान तानेको छ । २४ गतेबाट सुरु भएको महोत्सवमा धैरै प्रकारका प्रविधि प्रदर्शनी भए पनि गोपाली महिला समूहले परम्परागत घरेलु चिउरा कुट्ने प्रविधि हेर्न र उड्कलमा कुटेर तयार पारेको चिउरा किन्नेको भीड देखिन्थ्यो ।

आजभोलि काठको उड्कल, लुसी लोप भइसकेको छ । उड्कल र लुसी बनाउने जनशक्ति पनि छैन । उड्कलमा कुटेको चिउरा रुचाउने संख्या बढेको पालुङ महिला होमस्टे समूहको सचिव जानकी श्रेष्ठले बताइन् । अहिले ३ सय रुपियाँ किलोमा समूहले चिउरा बिक्री गर्दै आएको छ ।

नेवारी पोशाकमा सजिएका उनीहरु आफ्ना परम्परागत प्रविधि प्रचारप्रसार गर्न र चिउराको स्वाद चखाउन महोत्सवसम्म आएका हुन् ।

एक घान चिउरा भुट्न र कुट्नका लागि कम्तिमा २५ मिनेट लाग्छ । ताइचिन धानबाट बनाइएको चिउरा अन्य चिउरा भन्दा निकै स्वादिष्ट हुने मानिसहरुको बुझाइ छ । नयाँ पुस्ता चिउरा किन्नमात्र हैन, कुटेको हेर्नेको पनि उत्तिकै भिड लाग्ने गर्दछ ।

समूहमा १६ सदस्य रहेको र चिउरा बेचेर कमाएको पैसा सदस्यमा ऋण लगानी गर्ने गरेका छन् । आफ्नो संस्कृति जोगाउन तथा मेलामा चिउरा बेचेर केही आयआर्जन गर्न महोत्सवमा आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment