Comments Add Comment

पोखरा प्रिमियर लिगका लागि तयार भयो मैदान

२८ असोज, पोखरा । आसन्न पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटका लागि मैदान तयार भएको छ ।

आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म पीपीएल क्रिकेट प्रतियोगिताका लागि क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मतसम्भार गरेको हो । प्रबन्ध निर्देशक छुम्बी लामाले भने, मैदान ९९ प्रतिशत तयार भइसकेको छ, अब पिचको फाइनल टच र डिजाइन मात्र बाँकी छ ।’

क्रिकेट मैदान अन्र्तराष्ट्रिय स्तरको बनेको उनको दाबी छ । उनले भने, ‘मैदानको डिजाइन बिदेशका विभिन्न क्रिकेट मैदानमा काम गरेका अनुभवीहरुले गर्दैछन्, त्यसैले यहाँको डिजाइन पनि अन्र्तराष्ट्रिय लेबलकै हुन्छ ।’

यो मैदानबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमश्रृंखला प्रष्ट देखिन्छ । हिउँदको समयमा मौसम खुलेकाले मैदानबाट हिमालहरु मनमोहक देखिएको छ ।

मैदानमा ४ वटा क्रिकेट पिच बनाइएको छ । अहिले अस्थायी प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । प्याराफिटमा करीब ४ हजार ५ सय दर्शक अटाउने छन् ।

मैदानको दक्षिणतर्फ पाहुना र आयोजकका लागि भीआईपी प्याराफिट बन्नेछ । मिडिया जोन पनि बनाइनेछ भने त्योसँगै साइड स्क्रिन राखिने लामाले बताए ।

मैदानको उत्तर पश्चिमतर्फ खेलाडीका लागि वेटिङ र चेञ्जिङ रुम बनाइने भएको छ । यो पनि दशैं अघिसम्ममा बनाइसक्ने लक्ष्य रहेको उनले बताए ।

पीपीएल खेल्ने ६ वटै फ्रेन्चाइज टिमले आ–आफ्नो गृह जिल्लामा अभ्यास गरिरहेको छन् । टिम पोखरा पुगेपछि अभ्यासका लागि नगर प्रशिक्ष केन्द्रमा रहेको मैदान प्रयोग गरिनेछ ।

प्रतियोगिता हुने पोखरा रंगशालास्थित मैदानमा सामान्य विकेट कस्तो छ भनेर अभ्यास गर्न दिइने र नगर प्रशिक्षण केन्द्रको मैदानमा अभ्यास गराइने आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक लामाले बताए ।

पीपीएलमा पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगडी ब्लुज गरी ६ टिम प्रतिष्पर्धा गर्नेछन् । यसका लागि मार्की प्लेयरदेखि खेलाडी अक्सन सबै भइसकेको छ भने विदेशी खेलाडी अनुबन्ध प्रक्रिया चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment