Comments Add Comment

नाकाबन्दीले जन्माएका साइकलयात्री देश दौडाहामा

३० असोज, पोखरा । दशैंको आगमनसँगै देश-विदेशमा रहेका नेपालीहरु धमाधम घर फर्किन थालेका छन् । तर, एक पोखरेली युवा भने गुन्टा कसेर किन घरबाट निस्किए ?

भदौरे, कास्कीका २४ वर्षीय दिवस गुरुङ दशैं विदालाई फरक तरिकाले सदुपयोग गर्दैछन् । उनी ४० दिन लामो साइकल यात्रामा निस्किएका हुन् । सुनाखरी र जैविक विविधताले भरिएको पञ्चासे क्षेत्रमा जन्मिएर हुर्किएका उनको यात्राको उद्देश्य हो देश चिन्ने ।

यो दशैं साइकल यात्रामै मनाउने बताएर बिदा माग्दा बुबा-आमाले छोराको ईच्छाअनुसार शिरमा हात राखिदिए । ‘यात्रामा थुप्रै बाबुआमा भेट्ने छु र उहाँहरुकै हातबाट निका लगाउनेछु,’ दिवसले भने, ‘थुप्रै दिदीबहिनी भेट्नेछु र तिहारको भाइटीका लगाउनेछु ।’

पोखरा हरियोखर्कस्थित वन विज्ञान अध्ययन संस्थानमा फरेस्टी डिप्लोमा चौँथो वर्षमा अध्यनरत दिवसलाई लाग्यो, यतिबेलै गइन भने परीक्षा आइहाल्छ ।’ त्यसैले दशैं-तिहारले उनलाई रोक्न सकेन ।

हर्क गुरुङको ‘मैले देखेको देश’ र मोहन मैनालीको ‘उपल्लो थलो’, ‘देखेको देश’ लगायत किताबले उनलाई घुम्न उत्प्रेरित गरेको रहेछ । त्यसो त उनले आˆनै मिहिनेत र कमाइको पैसाले मर्दी हिमालदेखि रारासम्म, गोरखाको बारपाकदेखि जुम्लासम्म, कास्कीका अधिकांश गाउँ, गोरखा, लमजुङ, स्याङ्जा लगायका स्थान घुमिसकेका छन् ।

दिवसको परिवारको मूल पेशा कृषि हो । तर, बुबाले केही वर्ष साउदी अरबमा रोजगारी गरे । त्यसबाट केही पैसाको जोहो त गरे तर, आˆनो खुट्टा घाइते बनाएर फर्किए । दुर्घटनामा परी भाँच्चिएको दिवसका बुबाको खुट्टामा अहिले पनि स्टिल राखिएको छ ।

त्यसैले भारी काम गर्न सक्दैनन् । घरको आर्थिक अवस्थाका कारण परिवारले दिवसलाई पनि विदेश जान सल्लाह दिएका थिए । तर, उनले नेपालमै केही गर्ने अठोट सुनाए । दुःखजिलो गरेर बुवाआमाले प्लस टूसम्म पढादिएपछि उनी आफ्नै खुट्टामा उभिएका छन् ।

फरेस्ट्रीमा ब्याचलर सिध्याउन लागेका उनले परिवारसँग एक रुपैयाँ माग्नु परेको छैन । काकाको घरमा बसेर बिहान-बेलुका ट्युसन पढाउन सुरु गरेपछि दिवसले आफ्नो खर्च धान्न थालेका हुन् । अहिले पनि उनीसँग ट्युसन पढ्ने ४ समूह छन् । ट्युसन पढाएकै पैसाले साइकल किने । त्यसैबाट बचेको पैसाले अहिले उनी ४० दिने साइकल यात्रा गर्दैछन् । साइकल यात्राका लागि उनले झन्डै १ लाख जम्मा गरेका छन् ।

पूर्वबाट सुरु गरेर प्रदेश १ र २ का सबै जिल्ला हुँदै पश्चिम महाकालीसम्म पुग्ने उनको योजना छ । यसअघि उनले काठमाडौंदेखि सिन्धुलीगडीसम्म साइकलयात्रा गरिसकेका छन् भने काठमाडौंदेखि लुम्बिनीसाइकल चढेर दुई पटक पुगिसकेका छन् । साइकलबाटै चितवन, गोरखा, स्याङ्जा र कास्कीका धेरैजसो ठाउँ पनि पुगिसकेका छन् ।

नाकाबन्दीले जन्माएका साइकलयात्री

भारतले नाकाबन्दी लगाएपछि तेलको अभावले गाडी चल्न छाडे । तर, दिवसले कलेज छाड्ने कुरा भएन । त्यसपछि ट्युसन पढाएर आएको पैसाले सामान्य साइकल किने ।

विश्व साइकलयात्री पुस्कर शाहका फ्यान दिवसलाई नाकाबन्दीले साइकलप्रेमी नै बनायो भन्दा अन्यथा हुन्न । साइकल चढ्नुका फाइदै-फाइदा देखे । स्वास्थ्य, वातावरण र पर्यटनमा टेवा पुर्‍याउने बुझे । त्यसैले अत्यावश्यक कामबाहेक जुनसुकै ठाउँ पनि साइकल चलाएरै पुग्ने गर्छन् । ‘पुस्कर शाहले साइकल चलाएर विश्व फन्को मारे, म नेपाल घुमिरहेको छु । साइकलका धेरै फाइदा रहेछन्,’ दिवसले भने ।

उनले आफ्नो ४० दिने साइकल यात्रामा भिजिट नेपाल ट्वान्टी-ट्वान्टीको प्रचार गर्ने तथा साइकलको फाइदाबारे सचेतना बढाउने योजना बनाएका छन् । यसैगरी रक्तदान र अटिजमबारे बुझाउनेछन् । स्नायु र नसाको विकास नहुँदा उत्पन्न हुने अपांगतालाई अटिजम भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment