Comments Add Comment

सबैभन्दा पहिले आफुले आफैलाई भनौं, ‘शुभ प्रभात !’

हामी बिहान उठ्छौं र घर-परिवारका सदस्य वा अरु छरछिमेकलाई भन्छौं, गुड मर्निङ । अर्थात ‘शुभ प्रभात ।’

किन यसो भन्छौं ? संभवत यसबारे हामी घोत्लिने गरेका छैनौ । बिहान उठेपछि कसैसँग साक्षतकार हुँदा एउटा औपचारिक निर्वाह गर्नका लागि ‘गुड मर्निङ’ वा ‘शुभ प्रभात’ भनिएको भन्ने लाग्छ । तर, यसको अर्थ हो, तपाईंको आजको दिन शुभ रहोस् । राम्रो रहोस् । यसको अर्थ हामी बिहान कसैलाई भेट्नसाथ उनिहरुको बाँकी दिन राम्रो होस् भनी कामना गरिरहेका हुन्छौ । तपाईंको आजको दिन शुभ रहोस् । सफल रहोस् । खुसी रहोस् । उज्वल रहोस् ।

तर, के हामीले आफुले आफैलाई ‘शुभ प्रभात’ भन्छौं ? आफ्ना दिन शुभ होस् भनी कुनै कामना गर्छौं ?

अरुलाई शुभप्रभात भन्दा के प्रभाव पर्छ ?

हुन त यो कुरा सामान्य लाग्छ । किनभने शुभ प्रभात भनेर शब्दमा व्यक्त गर्दैमा कसैको दिन शुभ हुने होइन । अरुलाई ‘शुभ प्रभात’ भनेको दिन हाम्रो आफ्नो दिन चाहि समस्याग्रस्त हुनसक्छ । नकारात्मक भावमा अल्झिएका हुन्छौं । यस्तोमा दोस्रो व्यक्तिलाई शुभप्रभात भन्नुको अर्थ के हुन्छ ?

यो त सामान्य नियम हो कि, अर्कालाई तपाई त्यही कुरा दिनुहुन्छ, जुन तपाईंसँग छ । जस्तो कि, तपाईंसँग पैसा छ, साथीलाई जरुरत भएमा त्यो दिनुहन्छ । तर, पैसा छैन भने साथीको अभाव कसरी टार्नुहुन्छ ?

अब सोच्नुहोस् त, जुन बेला तपाईं अर्को व्यक्तिलाई ‘शुभ प्रभात’ भनिरहनुभएको छ, त्यसबेला के तपाईं खुसी हुनुहुन्थ्यो ? तपाईं प्रशन्न हुनुहुन्थ्यो ?

शुभप्रभात भन्नु वा शुभकामना दिनु एक हिसाबले सकारात्मक उर्जा दोस्रो व्यक्तिमा संचार गराउनु हो । तर, जब तपाईं आफैसँग सकारात्मक उर्जा छैन भने, त्यो दोस्रो व्यक्तिमा कसरी संचार हुन्छ ?

हामी अर्कालाई शुभप्रभात भनिरहेको बेला आफुमा त्यस्तो उर्जाको अनुभव भने गरिरहेका हुँदैनौं । त्यही कारण यो केवल बोली वा औपचारिकतामै सीमित हुन्छ । भनौं, शुभप्रभात भन्नुले हाम्रो शारीरिक र मानसिक उर्जामा कुनै प्रभाव पार्दैन ।

आफ्नो आवाजमा शक्ति मिसाउनुपर्छ

हामी जब कुनै कुरा बोल्छौं, त्यो हाम्रो शरीरको भित्री तहबाट पैदा भएको शक्ति हो । निर्जीव व्यक्तिले आवाज निकाल्न सक्दैन । आवाज आफैमा शक्ति हो, उर्जा हो । हामी केही बोल्दा निस्कने ध्वनीले शब्दलाई सजिव बनाउँछ । यसमा एक किसिमको शक्ति हुन्छ । त्यही कारण कसैलाई यदी शुभप्रभात भन्छौं भने त्यो अन्तरमनकै आवाज हुनुपर्छ ।

वास्तवमै हामीले उसको दिन शुभ रहोस् भनेर कामना गर्नुपर्छ । हाम्रो शुभकामनामा शब्दको मिठास मात्र होइन, सत्य पनि घुलिएको हुनुपर्छ ।

अन्र्तमनबाट कसरी यस्तो ध्वनी पैदा हुन्छ, जहाँ हाम्रो सदिक्षा पनि घुलिएको होस् ? यसका लागि सबैभन्दा पहिले आफैले अभ्यास गर्नुपर्छ । जब बिहान आँखा खुल्छ, आफुले आफैप्रति आभार प्रकट गर्नुपर्छ । यसले बिहानको रुपमा एक अलौकिक सकारात्मक उर्जा प्राप्त हुन्छ । अर्थात आफुप्रति आफै आभारी हुने गर्नुपर्छ । आफुप्रति आफै सन्तुष्ट हुने अभ्यास गर्नुपर्छ ।

हरेक बिहान जब आँखा खुल्छ

हरेक रातपछि बिहान आउँछ । राती हामी विश्राम गर्छौं । जब बिहान हुन्छ, हाम्रो शरीर तंगि्रन्छन् । हाम्रा थकित शरीरमा नयाँ उर्जा पलाउँछ । एक हिसाबले भन्ने हो भने, यो नयाँ जीवन हो । रात पर्नु, फेरी बिहान हुनु । यो नियमित चत्र हो । प्राकृतिक नियम हो । बिहानीले एउटा सन्देश पनि बोकेको हुन्छ कि, अध्याँरो वा कालो रात सधै रहँदैन ।

यसकारण जब आँखा खुल्छ, हामीले आफैप्रति कृतज्ञ हुनुपर्छ । आफुले आफैलाई ‘शुभप्रभात’ भन्नुपर्छ । हामी आफै यसो भन्न सक्छौं, आजको मेरो दिन शुभ होस् । राम्रो होस् । अर्थपूर्ण होस् । फलदायी होस् । सकारात्मक उर्जाले भरिएको होस् ।

यो कामना केवल मुखले होइन, मनबाटै गर्नुपर्छ । अन्र्तमनबाट । आफुले आफैप्रति कृतज्ञ भएर आजको दिन सकारात्मक होस् भन्ने कामना गर्नुपर्छ । यसले वास्तवमै हामीमा सकारात्मक उर्जा अनुभव गर्न सक्छौं ।

बिहान उठेपछि सपथ लिनुपर्छ कि, दिनभर म यस्तो काम मात्र गर्नेछु वा म यस्तो सार्थक समय विताउनेछु, राती विश्राम गर्ने बखत दिनभरको कार्यले मन गदगद् होस् । मनमा सन्तुष्टि होस् । भय, चिन्ता, अहंकार कुनैपनि कुरा बाँकी नरहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment