Comments Add Comment

फेसबुकमा भ्रमण तालिका नराख्नुस्, बसको छतमा नचढ्नुस्

हामीले दशैंलाई लक्षित अहिले देशभर ३१ हजार ३ सय ७९ जना प्रहरी खटाएका छौं । यो संख्या प्रहरी कार्यालयमा बसेका अधिकारीहरु बाहेक हो । जो सडक भनौं या फिल्डमा खटिन्छन् । सामान्य अवस्थामा भन्दा थप २७ सय १६ जना ट्राफिक प्रहरी मात्रै खटाएका छौं ।

देशभरका १ सय ५४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौं ।

दशैं सुरक्षा योजना

हामीसँग प्रहरी प्रधान कार्यालयमा अपरेशन विभाग नै हुन्छ । जसले दशैं सुरु हुनुभन्दा अगावै मातहतका विभिन्न निकायहरुलाई दशैंको सुरक्षा योजना बनाएर पठाउन लगाउँछ ।

उनीहरुले स्थानीय स्तरमा सुरक्षा योजना बनाएर यहाँ पठाउँछन् । त्यसलाई अपरेशन डिपार्टमेन्टले रिभ्यू गर्छ । र, सच्चाउनु पर्ने भए सुधार गरेर पठाउन सुझाउँछ ।

त्यसपछि कार्यन्वयनका लागि पठाउँछ । यो अनुसार जिल्लै पिच्छे वेग्लावेग्लै सुरक्षा योजना हुन्छ । जस्तोः काठमाडौं परिसरको वेग्लै होला । ललितपुर परिसरको वेग्लै होला ।

जसमा समेटिएका कतिपय कुराहरु उनीहरुले सञ्चारमाध्यममार्फत यसअघि सार्वजनिक गरेका पनि छन् ।

कतिपयलाई नेपाल प्रवेश गरिसकेपछि बेहोस बनाउने औषधि दिएर लुटिने गरिएको छ

चुनौति

दशैंको समयमा विशेषतः ट्राफिक म्यानेजमेन्टमा हामी बढी ध्यान दिन्छौं । किनभने, अधिकांश दशैं बनाउन विभिन्न जिल्लास्थित घरमा जानु हुन्छ ।

कतिपय भित्रिनु पनि हुन्छ । सामान्य अवस्थामा भन्दा ठूलो संख्यामा आवतजावत हुन्छ । त्यसकारण व्यवस्थापनको ठूलो चुनौति हामीसामु हुन्छ । त्यसकै निम्ति हामीले यात्रु सहायता कक्षलाई व्यवस्थित गरेको हौं ।

विगतको तथ्याङ्क हेर्दा मादक पदार्थ सेवन गरेर हुने शान्ति सुरक्षामा खलबल मुख्य चुनौति देखिन्छ । त्यसपछि जुवाजन्य अपराध देखिन्छ । त्यस्तै, आर्थिक कुरा जोडिएका अपराध पनि बढी हुने गरेका छन् । जस्तोः बैंकबाट पैसा निकालेर जाँदै गरेको मान्छेको साथबाट त्यो थुतेर हिँडेको छ ।

महिला गहना लगाएर हिँडेका छन्, त्यो पनि थुतेर हिँडेका छन् ।

अर्को चाहिँ कतिपय अवस्थामा ग्याङ फाइट पनि हुने गरेको देखिन्छ । तर, विशेषतः यो चाहिँ तिहारमा बढी हुन्छ ।

पिङ खेल्न गएका वेलामा कहिले दुई वटा टोलका मान्छेहरु कुस्ती खेल्छन् । विशेषतः दशैंमा हुने अपराध यी हुन् । जसलाई मध्यनजर गरेर हामीले सुरक्षा योजना बनाएका थियौं र सोही अनुसार अहिले हामी काम गरिरहेका छौं ।

किन बढ्छ चेकिङ ?

आजकल ट्राफिक चेकिङहरु धेरै हुन्छन् । केही नकारात्मक सोच भएका मानिसहरु दशैंमा पैसा उठाउन जताततै बसेको छ भनेर आरोप पनि लगाउँछन् । तर, वास्तविकता त्यस्तो होइन ।

हाम्रो सुरक्षा योजनामै व्यापक चेकिङहरु राखिएका छन् । ठूलो संख्यामा यात्रु सहायता कक्ष स्थापना गरेका गर्छौं, जसका कारण सामान्य अवस्थामा भन्दा बढी चेकिङ हुने गरेको हो ।

दशैंको तिहारको छेको पारेर सीमावर्ती क्षेत्रमा पटका भित्रिने सम्भावना हुन्छ । त्यसैले सीमा क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा बनाउँछौं ।

भारतबाट पैसा कमाएर नेपाल आउँदै गरेका दाजुभाइहरु सीमा क्षेत्रमा लुटिने गरेको खबरहरु आउँछन् । त्यसलाई पनि हामीले ध्यानमा राखेका छौं ।

कतिपय अवस्थामा होस आएपछि मात्रै आफू पीडित भएको थाहा भएको घटना पनि छन्

कतिपय सीमापारि नै लुटिन्छन् । कतिपयलाई भने नेपाल प्रवेश गरिसकेपछि बेहोस बनाउने औषधि दिएर लुटिने गरिएको छ । यसलाई मध्यनजर गरेर हामीले विशेष सतर्कता अपनाएका छौं ।

राजधानीमा तत्कालन रेस्पोन्सका लागि ५२ वटा मोटरसाइकलसहितको प्रहरी खटिएको छ । हामी प्राविधिक भाषामा यसलाई ‘शो अफ’ पनि भन्छौं । चोकचोकमा पुलिस देख्दा मात्रै पनि सर्वसाधारणलाई हामी ‘सक्यूर्ड’ छौं भन्ने महसुस हुन्छ ।

के गर्ने ? के नगर्ने ?

दशैंको वेलामा अधिकांश आफ्नो घर कोठा छोडेर पहाड घर, तराई घर जाँदै जानुहुन्छ । त्यही वेलामा त्यहाँ चोरी हुने गरेको विगतको रेकर्डहरु देखाउँछ ।

त्यही भएर घर छाडेर जाँदा कि घरवेटीलाई भन्नु पर्‍यो । अथवा, छिमेकलाई रेखदेख गर्न भन्नु पर्‍यो । त्यो पनि नभए स्थानीय प्रहरीलाई जानकारी गराउनुस् ।

चाडवाडमा हामीले प्रदर्शन गर्न मन पराउँछौं । बैंकिङ कारोबार पनि खुला रुपमा गरिरहेका हुन्छ । सकिन्छ भने सतर्कतापूर्वक गरौं ।

किशोरकिशोरीको हकमा कुनै कार्यक्रम वा जमघटमा जानु भएको छ भने आफूलाई नै थेग्नै नसक्ने गरी मादक पदार्थ सेवन नगर्नुस् ।

कतिपय अवस्थामा होस आएपछि मात्रै आफू पीडित भएको थाहा भएको घटना पनि छन् । विदेशबाट आउँदै हुनुहुन्छ वा कतौबाट आउँदै हुनुहुन्छ भने नचिनेको मान्छेले दिएको चिजहरु नखानुस् ।

समाजिक सञ्जालमा हामीले हरेक कुराको डिटेल राखेका हुन्छौं । त्यसो नगरौं । बाइबाइ काठमाडौं भनेर हालिन्छ, आउँदैछौं भनेर पनि हालिन्छ । त्यो भएपछि चोरलाई पनि सजिलो हुन्छ । सकिन्छ भने त्यस्ता भ्रमण कार्यक्रमहरुलाई कम सार्वजनिक गर्नु उचित हुन्छ ।

कतिपय कुरामा प्रहरीको सतर्कताले मात्रै पनि हुँदैन । जस्तैः हतार छ भनेर यात्रु आफैं छतमा चढ्दिँदा पनि दुर्घटना हुने गरेको छ । यस्तो कुरामा सर्वसाधारण आफैंले पनि विशेष सतर्कता अपनाउनु पर्छ ।

समग्रमा नेपाल प्रहरी आम नागरिकलाई सुरक्षित वातावरणमा दशैं मनाउन सक्ने स्थितिको सिर्जना गर्न प्रतिबद्ध छ । त्यसका लागि हामी २४ घण्टै खटिएका छौं । कुनै समस्या परे तत्कालन प्रहरीलाई सम्पर्क गर्नु हुन अनुरोध छ ।

ट्राफिक सम्बन्धी समस्या भए १०३ र सुरक्षा सम्बन्धी भए १०० मा सम्पर्क गर्नुहोला । प्रहरीले राम्रो सेवा नदिएको, समयमा नआएको वा पैसा मागेको जस्तो लागे १११३ मा तत्कालन खबर गर्नु होला ।

(क्षेत्रीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment