Comments Add Comment

फिल्म हलमा राष्ट्रिय गान ! सम्मान कि अपमान ?

म फिल्म हेर्न शौखिन छु । हेटौंडा बस्दा ओम हलमा धाउँथे । पत्रकारितालाई नै जीवन बनाएर हेटौंडा छोडेको १० वर्ष बितिसकेको छ ।

काम कै सिलसिलामा बर्दिबास र लालबन्दी बस्दा खासै हल गइएन । समयलाई व्यवस्थापन गर्न नसकेको हुनुपर्छ । त्यहाँका हल पनि खासै स्तरीय थिएनन् । वीरगञ्ज आएपछि मुड चलेपछि हल पुग्ने गरेको छु । तनाव बढी भयो भने फिल्म हेरेर त्यसको व्यवस्थापन गर्छु ।

चलचित्र पत्रकारितामा रुचि नभएको होइन । समाचार लेख्न सक्छु । सर्लाहीमा बस्दा चलचित्र पत्रकार संघको सदस्य पनि बनेको हो । राजधानी छिरेको भए त्यो लाइन ठीक हुन्थ्यो होला । मोफसलमा बिट पत्रकारिताको विकास हुनै बाँकी छ । आर्थिक नगरीको पहिचान बनाएको वीरगञ्जमा आएपछि खासै चलचित्र क्षेत्रका समाचार लेखिन्न । नेपाली फिल्म नहेरेको धेरै भइसक्यो ।

‘बुलबुल’ हेर्ने मन थियो । त्यो अधुरै रह्यो । कमेडी, लभ स्टोरी, एक्सन सबैखाले फिल्म हेर्छु । सबै फिल्ममा केही न केही सन्देश त मिल्छ नै । धेरै साउथ इन्डियन फिल्ममा रमाउँछु ।

हलमा पहिला राष्ट्रिय गान बजेको मलाई याद छैन । पछिल्लो समयमा बजाइन्छ । शनिबार कमेडी टोटल धमाल हेर्न वीरगञ्जको एउटा हलमा पुगे । राष्ट्रिय गान बज्दा अधिकांश दर्शक उठेनन् । मेरो मन अमिलो भयो । मेरो मनमा प्रश्न उब्जियो, यो राष्ट्रिय गानको सम्मान हो कि अपमान ?

राष्ट्रिय गानको सम्मानमा सबै दर्शक उठ्नुपर्ने हो । राष्ट्रिय गानको सम्मानमा कोही दाहिने हात देब्रे तर्फको छातीमा राख्छन्, कतिपयले छाती फुलाएर हातलाई सिधा मुठ्ठी पारेर सतर्क बसेको पनि देखिन्छ । सेनाले राष्ट्रिय गान बज्दा सलाम गर्छ ।

चलचित्र विकास बोर्डले सन् २०१५ बाट नै हलमा प्रदर्शन हुने फिल्मको सुरुवातमा राष्ट्रिय गान बजाउनुपर्ने बताएको थियो । यस नियमलाई नेपालका फिल्मी हलहरुले पछि मात्रै कार्यान्वयनमा ल्याए ।

हलमा राष्ट्रिय गान बज्दा उठेर सम्मान नगर्नु भनेको राष्ट्रिय गानको अपमान गरेको नै बोध हुन्छ ।

नेपालको राष्ट्रिय गान

पहिला नेपालमा राष्ट्रिय गान ‘श्री मान् गम्भीर नेपाली’ थियो । वि.सं. ०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट निरंकुश शाही शासन अन्त्य भएपछि सन् २००६ मे १९ मा प्रतिनिधि सभाले यसलाई खारेज गर्‍यो । सन् १९६२ देखि चलनचल्तीमा आएको त्यो “राष्ट्रिय गान“ नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो । चक्रपाणि चालिसेले सन् १९२४ मा लखेको गीतमा सन् १८९९ मा बखत बहादुर बुढापिर्थीले संगीत भरेका थिए ।

अहिले व्याकुल माइलाद्वारा रचित ‘सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली’ राष्ट्रिय गान छ । १४ सदस्यीय राष्ट्रिय गान छनौट कार्यदलले १ हजार २ सय ९२ रचनाहरू मध्येबाट यसलाई छानेको थियो । त्यसमा संगीतकार अम्बर गुरुङले संगीत भरेका थिए । २० भन्दा बढी चर्चित गायक/गायिकाहरूले स्वर दिएका छन् । ०६४ वैशाख ७ गते यो गीतलाई राष्ट्रिय गानको रूपमा अन्तरिम संसदले स्वीकृत गरेको थियो ।

सयौं थुंगा फुलका हामी …….देशभक्ति भरिपूर्ण मात्रै छैन, इतिहास, संस्कृति र जनताको संघर्षलाई बयान गरेको छ । यसको उचित सम्मान हुनुपर्ने होइन र ??

के छ सरकारी व्यवस्थामा ?

०६९ साल जेठ २२ गते राजपत्रमा प्रकाशित राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, ०६९ मा राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग कसरी गर्ने भन्ने बारेमा खुलाइएको छ । जसमा राष्ट्रिय उत्सव, विभिन्न औपचारिक कार्यक्रम, विभागीय (फौजी) सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुदको समारोह, रेडियो र टीभी आदिमा राष्ट्रिय गानको प्रयोग अनिवार्य गर्नु पर्नेछ भनिएको छ ।

त्यसैगरी औपचारिक तथा विशेष समारोह र नेपाल सरकारका कुनै पनि निकाय वा कार्यालय, गैरसरकारी संघ संस्था तथा राजदुतावासहरूले आयोजना गरेका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय गान वा धुन बज्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधान सभाका अध्यक्ष, प्रधान न्यायाधीश तथा अन्य पदाधिकारीहरू लगायत सबैले सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने उल्लेख छ ।

सुरक्षा निकायका राष्ट्रसेवकहरुले विभागीय प्रचलन अनुसार राष्ट्रिय धुन बज्दा उचित सम्मान प्रकट गर्नुपर्ने, कुनै पनि राष्ट्रिय उत्सव वा विभिन्न औपचारिक कार्यक्रम तथा फौजी प्रकृतिका सामेली, सैन्य सम्मान, खेलकुद समारोह र विद्यालय प्रार्थनामा राष्ट्रिय गान गाउनु पर्नेछ । रेडियो र टेलिभिजनमा सम्पूर्ण कार्यक्रमको सुरुमा र अन्त्यमा राष्ट्रिय गान बजाउनुपर्ने कुरा उल्लेख छ ।

राष्ट्रिय गान अवधिभर सबैलाई उभिन अनिवार्य रूपले अनुरोध गर्नुपर्ने, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनको क्रममा कार्यक्रमको प्रारम्भ तथा समापनको समयमा राष्ट्रिय गान तथा धुन बजाउनुपर्छ र त्यसको सम्मान गर्नुपर्छ भनिएको छ ।
कार्यविधिमा व्यक्तिगतरूपमा सार्वजनिक स्थलहरूमा यात्रा गर्दाको समयमा कुनै माध्यमबाट राष्ट्रिय गान तथा धुन बजाए वा गाएका अवस्थामा बाहेक अन्य समयमा त्यसको सम्मान गर्नुपर्ने कुरा उल्लेख छ ।

कार्यविधिमा भएको व्यवस्था अनुसार न हलमा कसैले उभिन अनुरोध गरे, न दर्शकले उभिएर सम्मान नै ।

हलमा राष्ट्रिय गान कति उचित ?

अब स्वतः स्फूर्तरुपमा सम्मान हुन्न भने के गर्ने त ? भारतमा राष्ट्रिय गानमा ‘जन गण मन’ बज्दा उठेर सम्मान नगरेकोमा प्रहरीले मानिसहरुलाई पक्राउसमेत गरेको छ । त्यहाँ त्यसमा दोषी पाइए ३ वर्षसम्म जेल सजायँ हुने व्यवस्था छ ।

फिल्म अगाडि बजेको राष्ट्रिय गान नउठेको भन्दै दक्षिण भारतमा भइरहेको एक अन्तराष्ट्रिय फिल्म महोत्सवबाट दुई वर्षअघि १२ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । पछिल्ला दिनमा भारतमा फिल्म हलमा राष्ट्रिय गान बजाउनुपर्ने अनिवार्य छैन ।

३० नोभेम्बर २०१६ बाट भारतका प्रत्येक सिनेमा हलमा फिल्म शुरु हुनु पहिले राष्ट्र गान बजाउनु पर्ने नियम लागू गरियो । भारतीय सर्वोच्च अदालतले ’राष्ट्रियता र राष्ट्रिय गानको सम्मान हरेक सिनेमा घरले गर्नुपर्ने’ भन्दै सो नियमसँगै राष्ट्रिय झण्डाको फोटो पनि पर्दामा देखाउन भन्यो । नियम लागू भएपछि सिनेमा हलहरुमा राष्ट्रिय गान बज्दा दर्शक उठेर गीत गाउन पनि थाले । कतै त्यसो हुन सकेन ।

पछि सर्वोच्च अदालतले ९ जनवरी २०१८ मा अर्को आदेश जारी राष्ट्रियता दर्शाउन हलमा राष्ट्रिय गान बजाउन र गाउन नपर्ने’ भन्दै नियम संशोधनको आदेश दिएको थियो ।

न्यायाधीश दीपक मिश्र र अमिताभ रोयको कार्य समितिले लागू गरेको नियम विपरित न्यायाधीस एएम खनविलकर र डिवाइ चन्द्रचुदले आदेश दिएका थिए । मनोरञ्जनका लागि हलमा पुगेका दर्शकसँग राष्ट्रप्रेमको प्रमाण खोज्न राष्ट्रिय गीत बजाउनु ठीक होइन’ भन्ने तर्क उनीहरुको थियो ।

दर्शकले आफैं राष्ट्रिय गीत गाउनु, उठ्नु ठीक भए पनि जबरजस्ती गाउन बाध्य बनाउनु गलत भन्ने तर्क पनि कतिपयले गर्दै आएका छन् । सिनेमा घरमा राष्ट्रिय गान बजाउनु राष्ट्रिय गानलाई सित्तैमा सुपर मार्केटले सामान बेचेजस्तो हुने उनीहरु बताउँछन् ।

चलचित्र विकास बोर्ड वा अन्य सरोकार वाला निकायले सिनेमा घरमा राष्ट्रिय गान बजाउन बन्द गर्ने हो वा बजाउने भए उचित सम्मान हुने वातावरण मिलाउने हो ध्यान दिनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment