
News Summary
Generated by OK AI. Editorially reviewed.- विदुर नगरपालिकाको बट्टारमा सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ हल शुक्रबारदेखि सञ्चालनमा आएको छ।
- हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरे र यसलाई स्थानीय उद्यमीहरूले संयुक्त लगानीमा सञ्चालन गरेका छन्।
- हलमा अत्याधुनिक प्रविधि र अनलाइन बुकिङ सुविधा उपलब्ध छन् र नेपाली फिल्मको प्रवर्धनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
नुवाकोट । यहाँको विदुर नगरपालिका ४ स्थित बट्टारमा सुविधासम्पन्न फिल्म हल शुक्रबारदेखि संचालनमा आएको छ । २४६ सिट क्षमताको ‘शिवालय सिनेप्लेक्स’को उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरे ।
विभिन्न कारणले बन्द भएका हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन बोर्डले सुरू गरेको कार्यक्रमअन्तर्गत यो हलको उद्घाटन गरिएको जनाइएको छ ।
यो हललाई स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी (विदुर १२, चारघरे) र पासाङ लामा गोपाल (विदुर ४, बट्टार)को संयुक्त लगानी र पहलमा सञ्चालनमा ल्याइएको हो ।
समारोहमा विशेष अतिथिको रूपमा विदुर नगरपालिकाका पूर्वनगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष बुद्धिबहादुर प्रधान, उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थ लगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्चस्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिट तथा अनलाइन बुकिङ सुविधा उपलब्ध छन् । शनिबार ४ शो र अन्य दिनहरूमा ३ शो प्रदर्शन गरिने जानकारी संचालकले दिएका छन् ।
हलले नेपाली फिल्मको प्रवर्धनलाई प्राथमिकता दिने र मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार, मुलुकभर फिल्म हलको संख्या १६८ पुगेको छ । यी सबै हलमा बक्सअफिस जडान भएको र आउँदो साता रियल टाइम बक्सअफिस संचालनमा आउने बोर्डले जनाएको छ ।
साथै, १६८ हललाई मात्र फिल्म उपलब्ध गराउन बोर्ड भनिसकेको छ ।
प्रतिक्रिया 4