News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले सोमबारदेखि एआई फिल्ममेकिङ र ड्रोन तालिम कार्यक्रम गरी दुई तालिम एकैसाथ सुरु गरेको छ।
- एआई तालिममा १५१ जना सहभागी छन् र कथा लेखनदेखि डिजिटल फिल्म निर्माणसम्म प्रशिक्षण दिइनेछ।
- ड्रोन तालिममा २५ जना सहभागी छन् र भारतका प्रशिक्षक तथा नेपाली विशेषज्ञहरूले प्रशिक्षण दिनेछन्।
काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ । दुई दिने एआई फिल्ममेकिङ तालिम र १० दिने ड्रोन तालिम कार्यक्रम सोमबारदेखि सुरु भएका हुन् । यी दुवै कार्यक्रममा गरी कुल १७६ जना सहभागी छन् ।
नेपाल एआई फिल्म अलायन्सको सहकार्यमा सञ्चालन भइरहेको एआई तालिममा १५१ जना सहभागी छन् । ‘सिनेम्याटिक एआई : फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टिलिजेन्स’ शीर्षकमा सञ्चालन भइरहेको तालिममा सहभागीलाई कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत कथा लेखन, स्टोरीबोर्ड निर्माण, भिडियो उत्पादन तथा डिजिटल फिल्म निर्माणका आधुनिक प्रविधिबारे प्रशिक्षण दिइने जनाइएको छ ।
यस तालिममा करुण थापा, मौसम पुरी लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । ‘एआईमार्फत महाभारत’ को ट्रेलर बनाए पुरी यसअघि चर्चामा आएका थिए ।
रजत वर्षको अवसरमा सञ्चालन गरिएको १० दिने ड्रोन तालिम कार्यक्रममा २५ जना सहभागी चयन छन् । चलचित्र छायांकनमा ड्रोन प्रविधिको प्रभावकारी प्रयोगलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तालिममा भारतको वायुरगाथा ड्रोन कम्पनीका प्रशिक्षक मथिशर्मा जी, मणिभारथ वी र पार्थसारथी बी ले प्रशिक्षण दिनेछन् ।

नेपालका अनुभवी प्रशिक्षक प्रविन भट्टराई (ड्रोन हव नेपालका सञ्चालक तथा लुम्बिनी विश्वविद्यालयका ड्रोन विभाग प्रमुख), प्रभु एयरका पाइलट क्या पाल्देन शेर्पा, इन्स्पेक्टर रमेश शाह, आदर्श राज भुसाल र शाश्वत रिजालले पनि प्रशिक्षण दिनेछन् ।
मानवरहित विमान संघ (उडान) को सहकार्यमा आयोजना गरिएको ड्रोन तालिम कार्यक्रमको उद्घाटन समारोहमा उडानका अध्यक्ष राजभाई सुवाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतको उपस्थिति थियो ।
बोर्डका अनुसार यी कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको छ । बोर्डले पछिल्लो समय एआई, ड्रोन, साउन्ड र डिजिटल प्रविधिमा आधारित यस्ता तालिम सञ्चालन गर्दै फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4