कार्यालय समयमा मदिरा सेवन गर्नु अशोभनीय तथा अमर्यादित काम मात्र होइन यस्तो बानी बर्खास्तगीको कारणसम्म बन्नसक्छ । तर स्पेनको एक अदालतले चाहिँ कार्यालय समयमै बारम्बार रक्सी पिएका कारण समातिएका एकजना कामदारको पक्षमा फैसला गरेको छ । फैसलामा करिब ८० लाख नेपाली रूपैयाँ बराबर क्षतिपूर्ति समेत तोकियो।
नाम नखुलाइएका विद्युत कम्पनीका ती कामदारले कार्यस्थलमा असामान्य व्यवहार देखाउन थालेपछि उनका हाकिमहरू सशंकित भएका थिए । त्यसपछि कम्पनीले उनको निगरानी गर्नका लागि एकजना व्यक्ति नै खटायो । केही दिनको निगरानीमा ती व्यक्तिको पोल खुल्यो । उनी कार्यालय समयमै बार तथा पार्किङ स्थलमा बियर पिउँदै गरेको अवस्थामा देखिए ।
एक दिन त उनले दिउँसोको विश्राम समयमा करिब तीन लिटर बियर पिएको रिपोर्ट जासुसले पेश गरे ।
कम्पनीका लागि कामको समयमा रक्सी पिउनु गम्भीर गल्ती त थियो नै अझ ती कामदार कम्पनीको सवारी साधन चलाउने जिम्मेवारीमा थियो । यसो हुँदा त्यसरी कार्यसमयमा मादक पदार्थ सेवन गरेका कारण ठूलो दुर्घटना निम्त्याउने जोखिम थियो।
अन्ततः कार्यसमयमा मादक पदार्थ सेवन गरेको आरोपमा कम्पनीले उनलाई जागिरबाट निकाल्ने निर्णय गर्यो । उनले भने आफ्नो बर्खास्ती स्वीकार गरेनन् र आफूलाई गलत तरिकाले निकालिएको भन्दै कम्पनीविरुद्ध मुद्दा दायर गरे ।
अचम्मको त के भयो भने मर्सियाको उच्च न्यायालयले उनै कामदारको पक्षमा फैसला गर्दै कम्पनीले उनलाई दिएको सजाय अत्यधिक भएको ठहर गर्यो र बर्खास्तीलाई अनुचित घोषणा गर्यो । अदालतले कामदारको गल्ती स्वीकार गरेपनि त्यसका लागि उनलाई दिइएको सजाय धेरै कडा भएको निष्कर्ष निकाल्दै कम्पनीलाई दुई विकल्प दियो ।
त्यसमध्ये एउटा ती कामदारलाई पुनर्बहाली गर्ने र अर्को ४७ हजार युरो क्षतिपूर्ति प्रदान गर्ने ।
स्पेनको उक्त अदालतले त्यस्तो फैसला गर्दा विभिन्न आधारहरूमा टेकेको थियो । दिउँसोको लन्च ब्रेक प्राविधिक रूपमा कार्यसमय नमानिने भएकाले त्यो समयमा गरिएको मदिरा सेवनलाई औपचारिक रूपमा कामसँग सम्बन्धित अनुशासनहीनता भन्न नमिल्ने अदालतको ठहर छ । साथै, ती व्यक्तिले रक्सी पिउँदा उनको कार्यसम्पादनमा असर परेको वा उनले गाडी चलाउँदा कहिल्यै कसैको ज्यान जोखिममा पारेको भन्ने प्रमाण समेत कम्पनीले अदालतमा पेश गर्न नसकेकोले अदालतको तर्क छ ।
अदालतको निर्णयमा अर्को महत्वपूर्ण पक्ष स्पेनी कानुन पनि थियो । जसअनुसार कहिलेकाहीँ हुने मदिरा सेवनका कारण मात्रै कसैलाई जागिरबाट निकाल्न पाइँदैन । यसका लागि नियमित सेवन गर्ने अर्थात् मादक पदार्थ सेवनको लत बसेको कुरा प्रमाणित हुनुपर्छ । निजी जासुसले केही पटक रक्सी सेवन गरेको देखेको कुरालाई लत भन्न नसकिने अदालतको ठहर छ ।
एजेन्सी
प्रतिक्रिया 4