+
+
Shares

कांग्रेस प्रदेश महामन्त्रीको एक अन्तर्वार्ताले कैलाली-५ मा तरंग

५७ जना कांग्रेस नेताले आलेको पैसा खाएको मनुको आरोप, आलेले भने- नाम सार्वजनिक गर्नुस्

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का आनन्दबहादुर चन्द निर्वाचित हुँदा कांग्रेसका शाह दोस्रो र नेकपाका आले तेस्रो भएका थिए ।

जनक विष्ट जनक विष्ट
२०८२ चैत ९ गते १६:४०

९ चैत, धनगढी । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट कैलाली-५ मा उम्मेदवार रहेका नरनारायण शाह ‘मनु’ दिएको अन्तर्वार्ताले यहाँको राजनीतिक वृत्त तरंगित बनेको छ । शाह कांग्रेसको प्रदेश महामन्त्री पनि हुन् ।

धनगढीको समर्पण मिडियासँगको अन्तर्वार्तामा शाहले आफूलाई चुनाव हराउन कैलाली कांग्रेसकै जिम्मेवार ५७ जना नेताहरूले विपक्षी नेपाली कम्यनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेसँग रकम लिएको दाबी गरेपछि यहाँको वातावरण तरंगित छ । आले पूर्व मन्त्री पनि हुन् ।

‘जो मसँग पराजित भएर तेस्रो स्थानमा आउनुुभएको थियो । उहाँले एउटा लिष्टै दिनुुभयो,’ शाहले अन्तर्वार्तामा भनेका छन्, ‘तपाईँका यी–यी व्यक्तिले मसँग आर्थिक सहयोग लिएका हुन् । मैले के देखे भने ५७ जना मान्छेहरू जो जिम्मेवार पदमा छन् ।’

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का आनन्दबहादुर चन्द निर्वाचित हुँदा कांग्रेसका शाह दोस्रो र नेकपाका आले तेस्रो भएका थिए । आलेले आफू पनि पराजित भएपछि रकम लिने कांग्रेस नेताको नाम आफूलाई दिएको शाहको दाबी छ ।

तर, त्यसो भन्दा शाहले आलेको नाम भने उल्लेख गरेका छैनन्, तेस्रो भनेकाले ती पात्र आले नै भएको अनुमान गरिएको छ ।

कांग्रेस र आले आक्रोशित

शाहको त्यो अभिव्यक्तिपछि अहिले चर्को विवाद सिर्जना भएको छ । नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिले विज्ञप्ति नै जारी त्यो विषयलाई प्रष्ट्याउन भनेको छ ।

कैलाली कांग्रेसले त्यो प्रशंगको सत्य–तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । यस्तै आवश्यक परे पार्टीले छानबिन गरेर दोषीलाई कारवाही गर्ने पनि बताएको छ ।

‘हामी सबै जिम्मेवार पदमा छौँ । ती ५७ जनाको नाम उहाँले सार्वजनिक गर्नुपर्छ,’ कांग्रेस जिल्ला सभापति नारायण भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो विषयमा उहाँले स्पष्ट पार्नै पर्छ ।’

उता आलेले भने आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले शाहले भ्रमपूर्ण र तथ्यहिन कुरा फैलाएको दाबी गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै आलेले आफूले दिएको भनिएको सूची सार्वजनिक गर्न चुनौती दिएका छन् ।

‘मैले प्रेस विज्ञप्तिमार्फत उहाँको अभिव्यक्तिको खण्डन गरिसकेको छु । डोटीबाट कैलाली आएर चुनाव लडेको हुँ । मेरो चरित्र हत्या गर्ने उद्देश्यले उहाँले मिडियामा बोलेका कुरा सच्याउनुुपर्छ,’ आलेले भने, ‘कैलालीमा कांग्रेसका ५७ होइन कुनै नेता, कार्यकर्ता चिनेको छैन । अनावश्यक आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्छु ।’

आफूले शाहलाई फोन गरेर गलत अभिव्यक्ति सच्याउन अनुरोध गरिसकेको पनि आलेले बताए ।

उता उम्मेदवार शाहले भने अहिले आफूसँग प्रमाणको अभावका कारण नाम सार्वजनिक गर्न अप्ठ्यारो भएको प्रतिक्रिया दिएका छन् । ‘तथापि ती महानुभावहरूको विषयमा विभिन्न माध्यमबाट जानकारी लिने प्रयास गर्दैछु, कत्तिको सक्छु हेरौँ,’ शाहले प्रतिक्रिया दिएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?