९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले पूर्व मन्त्री प्रेमबहादुर आलेलाई उनैले देखाएको ‘च्याट हिस्ट्री’सम्झाएका छन् ।
सोमबार फेसबुकमार्फत आलेको चुनौतीको प्रतिक्रिया दिँदै शाहले आफूबीच भएका दुई पटकका भेट स्मरण गराउँदै सो क्रममा आलेले कांग्रेस नेतासँगका ‘च्याट हिस्ट्री’ देखाएको दाबी गरेका छन् । ‘प्रिय मित्र ! प्रेम आलेजी, तपाईं यो बीचमा मकहाँ दुई पटक आउनुभयो । एकपटक बेल्स क्याफे र अर्को दिन ओटीसीको अफिसमा भेट भयो,’ शाहले लेखेका छन्, ‘यहाँको इच्छाअनुसार नै मैले पनि यहासँग भेटेको यथार्थ कुरा हो, त्यसप्रति म हर्षित नै छु ।’
भेट्नुको कारण पनि समसामयिक राजनीतिक विषयवस्तु नै थियो जस्तो आफूलाई लागेको उनले लेखेका छन् । ‘कुरैकुरामा यहाँले मलाई तपाईँका पार्टीका केही नेताहरूले मलाई सहयोग गरेका थिए, र केहीले त आर्थिक सहयोगसमेत पनि प्राप्त गरेको कुरा सुनाउनुको साथै मलाई आफ्नो मोबाइलमा रहेको च्याट हिस्ट्री समेत देखाएको यहालाई पुन: स्मरण गराउन चाहन्छु,’ शाहले लेखेका छन् ।
तर आलेले आफूलाई ‘त्यसको विवरण पठाइदिन्छु’ भन्दा आफूले ‘मलाई अहिले आवश्यक नरहेको’ भनेको मनुले दाबी गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसैकारणले मसँग त्यस्तो कुनै ठोस प्रमाण छैन पनि । तर सत्य कुरा बोल्नुपर्दा मैले यहाँनिर केही अप्रिय कुरा भन्नु परेकै हो ।’
आफूले कुनै खराब नियतले आलेको बदनामी गर्न अथवा चरित्र हत्या गर्न नखोजेको शाहको दाबी छ । ‘भ्रम छरेर समाज भाँड्ने प्रयास पनि गरेको होइन,’ उनले भनेका छन्, ‘यस किसिमका क्रियाकलाप मबाट न कहिले भएका थिए, न हुनेछन् ।’
फागुन २१ को निर्वाचनमा कैलाली–५ बाट शाह र आले दुवै जना उम्मेदवार रहेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का आनन्दबहादुर चन्दसँग पराजित भएका थिए ।
कांग्रेस उम्मेदवार रहेका शाहले पछिल्लो एक अन्तर्वार्तामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका आलेसँग कांग्रेसका ५७ जना नेताले पैसा लिएको दाबी गरेका थिए । त्यो कुरा स्वयं आफूलाई आलेले विवरण दिएको उनको दाबी थियो ।
त्यसपछि त्यहाँको वातावरण तरंगित छ । सोही क्रममा आलेले एक वक्तव्य जारी गरेर आफूलाई बद्नाम गर्न शाहले त्यसो भनेको भन्दै आक्रोश पोखेका थिए । यस्तै वक्तव्यमार्फत आलेले आफूले दिएको भनिएको सूची सार्वजनिक गर्न शाहलाई चुनौती दिएका थिए ।
प्रतिक्रिया 4