News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आफूलाई कुनै रुचि नभएको स्पष्ट पारेका छन्।
- खगेन्द्रले सामाजिक सञ्जालमा फैलिएको अध्यक्ष बन्ने चर्चा र त्यससम्बन्धी भिडियो तथा पोस्टरप्रति प्रतिक्रिया दिएका छन्।
- सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गरेपछि केन्द्रीय चलचित्र जाँच समितिका ३ जना पदाधिकारी पदमुक्त भएका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डको आगामी अध्यक्ष बन्ने चर्चा चलिरहेका बेला अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले आफूलाई उक्त पदमा कुनै रुचि नभएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा आफू बोर्ड अध्यक्ष बन्न लागेको भन्दै फैलिएको चर्चाप्रति प्रतिक्रिया जनाउँदै उनले आफू कला र साहित्यकै क्षेत्रमा सक्रिय रहने बताएका हुन् ।
खगेन्द्रले फेसबुकमार्फत अपील जारी गर्दै आफ्नो मन कहिल्यै साहित्य र कला छोडेर अन्यत्र नजाने बताएका छन् । उनले आफू लेखन, रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा आएको स्मरण गर्दै यही क्षेत्रमा काम गर्दै जीवन बिताउने चाहना रहेको उल्लेख गरेका छन् ।
उनले पछिल्लो समय सामाजिक सञ्जालमा ‘चलचित्र विकास बोर्डको अबको अध्यक्ष खगेन्द्र लामिछाने’ भन्ने चर्चा चलाइएको र त्यससम्बन्धी भिडियो तथा पोस्टरसमेत बनाइएको बताए । त्यसपछि आफूलाई बधाई दिने फोन र सन्देश धेरै आएको उल्लेख गर्दै उनले यसबाट आफूले सहकर्मी र अग्रजहरूको विश्वास जितेको अनुभूति गरेको बताएका छन् ।
तर, आफूलाई चासो नभएको विषयमा अनावश्यक चर्चा चलाइएकोमा दुःख लागेको पनि उनले उल्लेख गरेका छन् । ‘मलाई मतलब नभएको कुराको चर्चा कसरी चल्यो ?’ भन्दै उनले त्यस्ता प्रचारलाई प्राथमिकता नदिन आग्रह गरेका छन् ।
खगेन्द्रले आफू कलाकार, लेखक, निर्माता र निर्देशकका रूपमा चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन् । साथै, चलचित्र क्षेत्र र निर्माताको हितका लागि विगत केही वर्षदेखि सक्रिय रूपमा काम गरिरहेको पनि बताएका छन् ।
उनले आफ्नो बुवाले आफूलाई कलेजको प्राध्यापक बनाउन चाहेको भए पनि आफू कलाकार र लेखक बनेको प्रसंगसमेत उल्लेख गरेका छन् । ‘मेरो मनले जे भन्यो, मैले त्यही गरें,’ उनले लेखेका छन् ।
सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्त खारेज गरेपछि केन्द्रीय चलचित्र जाँच समितिका ३ जना पदाधिकारी पदमुक्त भएका छन् । चलचित्र विकास बोर्डको कार्यसमिति भने यथावत नै छ । बोर्डका वर्तमान अध्यक्ष दिनेश डीसीको कार्यकाल आउँदो भदौसम्म कायमै छ ।
प्रतिक्रिया 4