News Summary
Generated by OK AI. Editorially reviewed.- इथियोपियाका १५ वर्षका कालु पटिकले प्लास्टिक र फालिएका सामग्रीबाट फेसन लुगा बनाउँदै सोसल मिडियामा लाखौँ दर्शक पाएका छन्।
न कुनै महँगा उपकरण, न कुनै ब्रान्डेड डिजाइन् । छ त उनीसँग सिर्जनाशीलता र लाखौँ दर्शक ।
हामी कुरा गर्दैछौं, इथियोपियाका कालु पटिकको । उनी अहिले मात्र १५ वर्षका छन् । तर, यो उमेरमै उनी बज सिर्जना गर्ने सोसल मिडिया इन्फ्लुएन्सर बनेका छन् ।
मुख्यत: प्लास्टिक, फालिएका सामग्रीबाट उनले फेसनका लुगा बनाउँछन् । त्यो कस्तो देखिन्छ ? पहिरिन्छन् । र, चित्ताकर्षक शैलीमा भिडियो बनाउँछन् । अहिले उनको यही कामले सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताहरूको मन तानेको देखिन्छ ।
फालिएका वा वेवास्ता गरिएका सामग्रीहरूलाई पनि आकर्षक तरिकाले देखाउनु नै उनको पहिचान बनेको छ । किनकि उनले कुनै महँगो स्टुडियो, ठूलो प्रोडक्सन वा विलासी सेटमा भिडियो खिच्दैनन् ।
काठको एउटा फलेकमा सन्तुलन मिलाएर उनले आफ्नो सिग्नेचर शैलीमा पोज दिन्छन् । वरिपरि जे भेटिन्छ, पृष्ठभूमिमा तिनै सामग्रीहरू राख्छन् । धेरै जसोमा पुराना जुत्ता, प्लास्टिक, तार, फ्वोइल पेपर र कपडाहरू प्रयोग गरेको देखिन्छ । भिडियो भरी उनी केही बोल्दैनन् । उनले भिडियोमा ट्रान्जिसन र अडियो भने दमदार राख्ने गर्छन् । यसले गर्दा धेरै जना उनको भिडियोमा अडिन पुग्छन् ।
कालु पुटिक कुनै फेसन स्कुलबाट पास आउट होइनन् । उनले यी सब आफैं सिकेका हुन् । उनको त्यो उपलब्धि अहिले फेसन जगतले बेवास्ता गर्न नसक्ने बनिसकेको छ ।
उनका भिडियोहरूमा लाखौं भ्युज आएपछि कतिपयले फेसनको खाबी लेम भनेर समेत भनिरहेको देखिन्छ । किनकि खाबी लेम पनि यसैगरी केही नबोलेर टिकटक स्टार बनेका थिए ।
त्यस्तै उनलाई अहिले ठूला ब्रान्डहरूले सम्पर्क गर्न खोजिरहेका छन् ।
त्यस्तैमा केही समयअघि इन्स्टाग्रामले कालुलाई आउँदो हप्ता आफ्नो अकाउन्टमा फिचर गर्ने भनेर कमेन्ट गरेको थियो । तर, त्यसमा कालुले कुनै प्रतिक्रिया दिँदैनन् । यसले पनि उनको चर्चामा थपेको छ । अहिलेसम्म इन्स्टाग्रामको उक्त कमेन्टमा २० लाख बढी लाइक आइसकेको छ ।
इन्टाग्रामले आफ्नो अकाउन्टमा विभिन्न क्रियटरहरूलाई फिचर गर्दै आइरहेको छ । त्यही सन्दर्भमा इन्टाग्रामले कालुलाई सम्पर्क गरेको थियो ।
यी र यस्तै घटनाहरूका कारण डीआईवाई (घरेलु विधिमार्फत सामग्रीहरू बनाइने) फेसन बनाइरहेका कालुले विश्वको ध्यान आफूतिर तान्न सफल भएका छन् ।
प्रतिक्रिया 4